१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

ट्यांकर दुर्घटनापछि आगो लाग्ने डरले गाउँले त्रसित

उदयपुर – सातादिनयता जताततै डढेलोको चपेटामा पर्दै आएको उदयपुरमा बुधबार बिहान सिद्धिचरण लोकमार्गको कटारी–हर्देनी सडक खण्डमा ट्यांकर दुर्घटनाबाट भएभरको तेल पोखिएपछि साविक हर्देनी गाविस क्षेत्रमा आगलागीको जोखिम बढेको छ।

गर्मी र हावाहुरी चल्ने गरेका कारण सानो झिल्कोलेनै पूरा जंगलभर डढेलो फैलिदै गरेका बेला अत्याधिक प्रज्वलनसिल डिजल जंगलभरी पोखिएपछि आगलागी भएमा पूरै गाउँमा आगो फैलने डरले आसपासका बस्तीबासीमा त्रास छाएको छ।

मिर्चया–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अन्र्तगत कटारी–घुर्मी सडकखण्डमा पर्ने कटारी नगरपालिका ११ गहुँबारीमा बिहान अन्दाजी २ः०० बजे पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेको थियो। ट्यांकरमा रहेको सबै तेल जंगलभरी पोखिनुका साथै चालक र सहचालकको घट्नास्थलमै मृत्यु भएको छ। गहुँबारीस्थित उकालो घुम्तीमा अनियन्त्रित भएको ट्यांकर सडकबाट लगभग १ हजार मिटर तल खस्दा सबै डिजल जंगलभरी पोखिएकाले स्थानीयमा आगलागीको जोखिम बढेको हो।

अम्लेखगञ्जबाट १२ हजार लिटर डिजल बोकेर घुर्मी र ओखलढुंगाका पेट्रोलपम्पलाई ढुवानी गर्दै आइरहेको ना ६ ख ३२३१ नम्बरको ट्यांकर दुर्घट्नामा पर्दा बारा अम्लेखगञ्ज ४ का २३ वर्षीय पूर्णप्रसाद खनाल र सहचालक मकवानपुर नामाटारका ३१ वर्षीय सरोज मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक चन्द्र राजवंशीले बताएका छन्। उनका अनुसार स्थानीयको खबर पाएर बिहान ३ः०० बजे टोलीसहित घट्नास्थल पुग्दा मृतक चालक र सहचालकको शव कुच्चिएको ट्यांकरबाट स्थानीयले निकालिसकेका थिए।

सडकदेखि हजार मिटर तल खसेर खोल्सामा क्षत विक्षत भएको ट्यांकर पूर्णरुपमा ध्वस्त भएको छ। कटारीदेखि २६ किलोमिटर पश्चिमोत्तरमा पर्ने घट्नामा परी गम्भीर घाईते ३ मध्ये अविशेक श्रेष्ठको पनि उपचारको क्रममा मध्यान्ह मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी हेलिकोप्टरमार्फत बिहान साढे ९ः३० बजे उपचारार्थ राजधानी लाने क्रममा बारा निजगढका १७ वर्षीय श्रेष्ठको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै राजवंशीले बताएका छन्।

उनीसँगै गम्भीर घाईते भक्तपुरका २४ वर्षीय सुबास तामाङ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोलेको राजधानीको बल्खुस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। साँघुरो र खाल्डाखुल्डीको सडक, घुम्ती र उकालो बाटो भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। स्थानीयले घाईतेलाई उद्धृत गर्दै जनाए अनुसार रातिको अनिन्द्राका कारण पनि दुर्घटना भएको हुनसक्छ।

उदयपुरमा चैत लागेयता दिनरात डढेलो लागिरहेको छ। हालसम्म हजारौं हेक्टर वन डढेलोले भष्म भइसकेको र नियन्त्रण गर्न चाहेर पनि नसकिएको वन कार्यालय र सामुदायिक वन समूहहरुले जनाएका छन्। १० दिनयता सदरमुकाम गाईघाट, कटारी, चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिकालगायत सबैतिरको जंगल सामुदायिक, राष्ट्रिय वन, चुरे वन र नीजि वनमासमेत अनियन्त्रित डढेलो लागेर हजारौं हेक्टर जंगल र करोडौंका काठपात नष्ट भइसकेको छ। गर्मी र हावाहुरीका कारण जताततै लाग्ने डढेलो नियन्त्रण गर्न प्रयास गर्दा पनि नसकेको जिल्ला वन कार्यालयले जनाएको छ।

वन कार्यालय र मातहतका सेक्टर तथा इलाका वनका प्राविधिक कर्मचारी, स्थानीय सामुदायिक वन समूहहरू, नगरपालिकाका दमकल र स्थानीय जनसमुदाय जुटाएर नियन्त्रण गर्दा पनि डढेलो काबुबाहिर पुगेको जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले बताएका छन्। ट्यांकर दुर्घटनाबाट पोखिएको डिजल डढेलोका लागि खतरायुक्त भएकाले त्यस क्षेत्रमा कुनै पनि बेला आगलागी हुन सक्ने भन्दै वन प्रशासन, कटारी नगरपालिका र प्रहरीले स्थानीयलाई जंगल छेउछाउ नजान सतर्क गराएको जनाइएको छ।

‘आगलागी र डढेलोको मौसममा तेल बोकेको ट्यांकर दुर्घटनाले थप सशंकित बनाएको छ’ जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले भने ‘त्यसबाट बच्न सतर्कता अपनाउनुबाहेक अर्को उपाय नभएकाले स्थानीयलाई सचेत रहन हामीले आग्रह गरेका छौं।’ कटारी नगरपालिकाले नगरक्षेत्रका बिभिन्न जंगलमा डढेलो लाग्दै आए पनि सेक्टर वन कार्यालयले निभाउने काम नगरेको भन्दै सडक पुगेको ठाउँमा नगरपालिकाको दमकल प्रयोग गरेर डढेलो निभाउने गरेको जनाएको छ। नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले नगरक्षेत्रका दर्जन बढी ठाउँमा पटक पटक डढेलो लागे पनि सेक्टर वनबाट निभाउने काम नभएपछि नगरपालिका आफैले दमकल र स्थानीय जुटाएर डढेलो निभाउने गरेको बताए।  

प्रकाशित: १४ चैत्र २०७४ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App