७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

असारे विकास: १५ दिन नबित्दै उप्कियो कालोपत्रे

मन्थली–खिम्ति सडक अन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ।

विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो। यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो।

असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठ बताउँछन्। “चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो। मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?”, उनले प्रश्न गरे।

सडकका अन्य ठाउँमा पनि कालोपत्र उप्किएको छ। स्थानीय लालप्रसाद पोखरेलले लिखुतामाकोशी गाउँपालिका–६ को खिम्ती (तल्लो) बजारमा गरिएको कालोपत्रमा पनि उप्किन लागेको जानकारी दिए। यहाँ १० मिटरभन्दा बढी सडकको कालोपत्र उप्किसकेको उनकाे भनाइ थियाे।

वडाका वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक मापदण्ड पूरा नगरी हिलो माटोमाथि नै कालोपत्र गरिएकाले चाँडै नै भत्किएको बताए।

निर्माण कम्पनीलाई भत्किएका ठाउँमा फेरि कालोपत्र गर्न लगाइएको छ। अध्यक्ष न्यौपानेले भने, “निर्माण व्यवसायीले सडक मर्मतमा गुणस्तरीय काम गर्न गरेन, हिलो माटोमाथि नै कालोपत्र गरिएपछि यस्तो समस्या भयो। काम गरिरहेकै बेला हामीले ध्यानाकर्षण गराएकै थियौँ, अटेर गरेपछि अहिले त्यसको परिणाम देखियो। १५ दिनमै कालोपत्रे उप्किनुले चरम लापरवाही प्रष्ट भएको छ।”

सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले समस्या भएको र आवश्यक परीक्षण गरी चाँडै मर्मतको काम गर्न लगाइने बताए।

“कालोपत्रको काम गुणस्तरीय र मापदण्डअनुसार नभएकाले यस्तो समस्या आयो, अब चाँडै नै आवश्यक कारबाही अगाडि बढाउँछौँ। व्यवसायीलाई पुनः आवश्यक मापदण्डसहित कालोपत्र गर्न लगाउने तयारी भइरहेको छ”, इन्जिनियर ढुङ्गेलले भने।

प्रकाशित: १९ असार २०८१ १९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App