१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तरकारीबाटै करोडौं रूपैयाँ भित्र्याउँछन् रिनी र घोडेसीनका महिलाहरू

तरकारी डुलाउदै महिलाहरू। तस्बिरः गोल्डेन बुढा, नागरिक।

जुम्लाको पातारासी-७ रिनी गाउँकी सीता खड्का एकाबिहानै तरकारी डोकोको सहायताले पिठ्यूँमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन्। उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ। खड्काको हरेक दिनचर्या बिहान ३ बजेदेखि सुरु हुन्छ। सबेरै उठेर खलंगा तरकारी बेच्न लैजानु उनको पहिलो काम हो। घरबाट बजार पुग्न झन्डै दुई घन्टा हिंड्नुपर्छ। उनले ९ रोपेनी जग्गामा तरकारी खेती गरेकी छन्।

दिनहुँ बजारमा तरकारी बेच्न आउनु उनको दिनचर्या नै हो। हरेक साँझ तरकारी टिपेर राख्ने सीता बिहान ३ बजे नै भारीसहित बजार निस्किन्छिन्। उत्पादित तरकारी दुई घण्टा पैदल हिंडेर बेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्छिन्।

उनी एक उदाहरण मात्र हुन्। उनीसँगै गाउँका दर्जनौं महिला बजारमा तरकारी बेच्न आउँछन्। ‘बिहान ३ बजे घरबाट बजारका लागि हिंड्छौं’, अर्की जुना खड्काले भनिन्, ‘८/९ बजे तरकारी बेचेर घर फर्किहाल्छौं। घाम, पानी, चिसो, गर्मी केही नभनेर तरकारी बेच्न आउने गरेका छौं।’

अहिले उनीहरूले ल्याएको तरकारीहरू बजारका चोकचोक, तरकारी पसल र होटेलहोटेलमा किनबेच हुन्छ। तरकारी खेती गरेर पातारासी-७ रिनीका एक परिवारले न्यूनतम ८० हजारदेखि २/ ३ लाखसम्म वार्षिक आम्दानी गर्ने गर्छन्। तरकारी खेती गरेरै यहाँका महिला जीवनयापन गर्दछन्। यहाँको वर्षभरिको घरखर्च टार्ने खेती भनेको तरकारी हो, तर घरमा उत्पादन गरेको तरकारी बजारमा नल्याई सुख छैन।

यता साेही वडा घोडेसिन गाउँकी छायाँ कठायतले भनिन्, ‘तरकारी डोकोभरि बोकेर बजार ल्याउने गरेका छौं।’ बजार अभावले तरकारी बेच्ने ठाउँ नभएको र दुई घन्टा डुलेपछि मात्र सबै तरकारी बिक्ने उनले बताइन्।

तरकारी बेच्न नहिंडे घरमै सडेर जाने भएकाले बजारका गल्लीगल्ली, होटल र रेस्टुरेन्टमा हिंड्नुपरेको उनको भनाइ छ। उनी नजिकैको सरस्वती माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छिन्। विहान तरकारी बेचेर दिउँसो विद्यालयमा पढ्न जान्छिन्।

कठायतले भनिन्, ‘पढ्ने, स्कुल पोशाक, कापीकलम सबै तरकारीबाट चलिरहेको छ। आज मात्रै दुई हजार रूपैयाँ बराबरको तरकारी बेचें। उनले भनिन्,  ‘बन्दा काउली, फुलकाउली, आलु, गाजर, टमाटर, प्याज, मुला, फर्सी (कदु) खुर्सानी लगायतका तरकारी फलाउछौं। आलु ५० रूपैयाँ प्रतिकेजी बन्दाकाउली, फुल काउली, प्रतिकेजी ६० रुपैयाँ, मुला प्रतिकेजी ५५ टमाटर र प्याज प्रतिकेजी ८० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ, त्यो पनि धौधौ पर्छ नत्र कुहिएर जान्छ। तरकारी बेचेको पैसाले घरखर्च चलाउन सहज छ। घरमा चुलो बलेको छ। राहतका लागि कसैसँग मुख ताक्नुपरेको छैन।’

’छोराछोरीको पढ्ने खर्च, लत्ताकपडा र नुनतेल खानुपर्छ। तरकारी बेच्न जुम्ला बजार आउनुको विकल्प नरहेको महिलाहरू बताउँछन्, ‘गाउँमा बजार छैन। तरकारी नबेचे घरव्यवहार चलाउन मुस्किल हुन्छ। घरनजिकै बाटो पुगे पनि पिठ्यूँमा भारी बोकेर बेच्न बजार आउनैपर्छ। अहिले तरकारी नबेच्ने हो भने बारीमै कुहिन्छ।’

यता जुम्लाको पातारासी गाउँपालिका-५ तल्लो लोर्पा गाउँकी सपना बोहोराले बिहान ३ बजे पिठ्यूँमा आलुका भारी बोकेर बजार आइपुग्ने र आलु बेचेको पैसाले घर खर्च सञ्चालन गर्दै आइरहेका बताइन्। उनले भनिन्, ‘छोराछोरीका लागि कापी र कलम किन्न र बिहानबेलुकाकाे छाक टार्न नुन, तेल र चामल किन्ने गरेको छु।’

उनी भन्छिन्, ‘बजारमा तरकारी बोकेर घुम्दै बेच्ने र चाँडै बिक्री भए समयमै घर जाने गरेका छौं।’

सीता, जुना, छायाँ र सपना तरकारी बेच्न सदरमुकाम धाउँछन्। आफ्नो खेतबारीमा उत्पादित तरकारी बिक्री गरेर कमाएको पैसाले जीवन चलाउने गरेको उनीहरूको भनाइ छ।

चन्दनानाथ नगरपालिका-५ की टीका नगरकोटीले घरमै अर्गानिक तरकारी किन्न पाउँदा धेरै खुसी लागेको बताए। ‘घरमै छानेर ताजा तरकारी पाउँदा धेरै सजिलो भएको छ। महिलाहरू घरघरमै आएर तरकारी नबेच्ने हो भने आलु पाउन मुस्किल हुने देखिन्छ।’

यता पातारासी गाउँपालिका-७ का वडा अध्यक्ष बिरबहादुर बुढाले रिनी गाउँ आलु खेतीका लागि प्रसिद्ध गाउँ भएको बताए। उक्त २ सय घरधुरी छ। उनले वार्षिक करोडौं रुपैयाँ भित्र्याउने गरेको छ।

‘यस्तै उक्त वडाको घोडेसिन गाउँ तरकारी गाउँ भनेरै चिनिन्छ। घोडासिन २ सय ३० घरधुरी छन्। उक्त गाउँमा पनि त्यहाँका महिलाले तरकारीबाट करोडौं रुपैयाँ आम्दानी गर्छन्। किसान उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन गर्न नसकेको स्विकारे तर, निरन्तर पहलकदमी गरिरहेको छु,उनले भने।

यता पातारासी गाउँपालिकाले घोडेसिन गाउँलाई तरकारी पकेट क्षेत्र तोकेको छ। रिनी गाउँलाई आलुको पकेट क्षेत्र तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताए। ‘यता कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०८९ मा २७ हजार ७ सय मेट्रिकटन आलु उत्पादन भएको छ भने तरकारी ७ हजार ९ सय मेट्रिकटन उत्पादन भएको तथ्यांक छ।

प्रकाशित: १७ असार २०८१ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App