१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

गहवामाईको दोस्रो रथयात्रा असार २३ गते निकालिने

पर्साको प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा असार २३ गत निकालिने भएको छ।

वीरगञ्ज महानगरको ऐतिहासीक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते वृहत्त रथ यात्रा निकिलिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा निकालिने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए।

रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको बनाउने र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गर्ने काम भइरहेको उनले बताए।

एक महिना अघिदेखि नै रथको मण्डपलाई काठमाडौंको विशेष कारिगरसँग चाँदीको पत्र जडान गर्ने काम सुरु भइसकेको समितिले जनाएको छ।

रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो बराबरको चाँदी खपत हुने समितिले जनाएको छ। जसमा अहिलेसम्म स्थानीय दाताहरूले सहयोग गरिरहेको रथ समितिका उपाध्यक्ष देवानन्द कलवारले बताए।

गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका महा–सचिव पप्पु गुप्ताले बताए। यस वर्षको खर्च रथ यात्रा निकालिएपछि मात्र बताउन सकिने उनले बताए।

गत वर्ष रथ यात्राका लागि वीरगञ्ज महानगरपालिकाले ३ लाख रुपैयाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे ३ लाख र बाँकी रकम स्थानीय दाताहरूले दान स्वरुप सहयोग गरेको उनले बताए।

गत वर्ष रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको थियो। जसमा वन विभागबाट सरकारी मूल्यमा काठ उपलब्ध गराइएको थियो।

सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको थियो।

प्रकाशित: ९ असार २०८१ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App