१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘निद्राको कमीले स्मरणशक्तिमा ह्रास’

फाइल तस्वीर

मुसामा गरिएको एक अध्ययनले अनिद्राका कारण स्मरणशक्तिमा ह्रास हुने देखाएको छ। निद्राको कमीले स्मरणशक्ति निर्माणसँग जोडिएका प्रमुख मस्तिष्क संकेत टुट्ने र त्यसबाट दीर्घकालीन रूपमा स्मरणशक्तिमा ह्रास हुने समस्या निम्तिने निष्कर्ष अध्ययनले निकालेको हो।

खराब निद्रापछिको अर्काे दिनको सामान्य निद्राले ती टुटेका मस्तिष्क संकेतलाई पूर्ववत् हिसाबले ठिक गर्न पर्याप्त नहुने निष्कर्ष पनि अध्ययनको छ। प्रख्यात वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित अध्ययन प्रतिवेदनअनुसार स्मरणशक्ति प्रशोधन (मेमोरी प्रोसेसिङ) का लागि अत्यन्त छोटो समय (विन्डो) का लागि रहने गर्छ र एकपटक गुमेको संस्मरण सदाका लागि हराउन सक्ने देखिएको छ।

अध्ययनका सहलेखक एवं मिचिगन विश्वविद्यालयअन्तर्गतको मेडिकल स्कुलका न्युरो वैज्ञानिक कामरान दिबा स्मरणशक्ति बढाउन समयमै लक्षित उपचार हुनुपर्ने बताउँछन्।

 मस्तिष्कमा रहेका सञ्जाल अर्थात् न्युरोन्सहरूले विरलै रूपमा एक्लै काम गर्छन्। आपसमा अत्यधिक अन्तरसम्बन्धित यिनीहरूले प्रायः लयबद्ध रूपमा अथवा दोहोरिने ढाँचामा काम गर्छन्। लयबद्ध तवरमा न्युरोन्सको ठुलो समूहले जुन ढाँचामा काम गर्न थाल्छ, सोही हिसाबमा अर्काे ठुलो समूहले त्यसैलाई पछ्याउँछ।

स्मरणशक्ति निर्माण हुने दिमागको हिप्पोक्याम्पस क्षेत्रमा यसप्रकारको तरंग सिर्जना हुन्छन्। दीर्घकालीन संस्मरण भण्डारण हुने दिमागको न्युरोकर्टेक्समा यिनै तरंगले संवाद स्थापना गर्छन्।

विगतका घटनाहरू पुनः दोहोरिँदा समान प्रकारका तरंग सिर्जना हुन्छन्। उदाहरणका लागि जब कुनै मुसा आफ्नो पिँजडाको खास स्थानमा जान्छ, उक्त मुसाको दिमागको हिप्पोक्याम्पसमा रहेका न्युरोन्स उद्वेलित हुन्छन् र सो स्थानको संस्मरण रेकर्ड हुन्छ। पुनः सो स्थानमा जाँदा त्यो अनुभवका तरंगहरू पुनः प्रवाहित भई विगत अनुभवको ‘रिप्ले’ हुन्छ। तर यी तरंगहरूमा विचलन आउँदा मुसामा रहेको स्मरणशक्ति खल्बलिने यसअघिका अध्ययनले समेत देखाएका छन्। तर जब यी तरंगहरू धेरै अवधिसम्म जारी रहँदा स्मरणशक्तिमा सुधार हुृने न्युयोर्क विश्वविद्यालयअन्तर्गतको लान्गोन हेल्थ न्युरो वैज्ञानिक गोर्जी वुचास्की ठान्छन्। उनले यी तरंगलाई ‘संज्ञानात्मक बायोमार्कर’ भनेका छन्।

अनुसन्धानकर्ताका अनुसार यस प्रकारका तरंगहरू गहिरो निद्रामा रहँदा र बिउँझिरहेको अवधिमा समेत देखा पर्ने गर्छन्। तर छोटो अवधिको ज्ञान र संस्मरणलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न निद्राको अवधिमा सिर्जना हुने यस प्रकारका तिखो तरंगका लहरहरूको भूमिका अत्यधिक हुन्छ। न्युरो वैज्ञानिक दिबाका अनुसार यस प्रकारका तरंग, निद्रा र स्मरणशक्तिका अन्तरसम्बन्धका विषयमा केही अध्ययन भए पनि निद्राले दिमागमा हुने न्युरोन्सका तरंगलाई पार्ने प्रभावबारे भने यथेष्ट अध्ययन भएको छैन।

अनुसन्धानमा संलग्न वैज्ञानिकले कमजोर निद्राले स्मरणशक्तिलाई कसरी असर गर्छ भन्ने बुझ्न सातवटा मुसाहरूका हिप्पोक्याम्पस गतिविधिको रेकर्ड गरेका थिए। केही मुसालाई निर्वाध सुत्न दिइएको थियो भने अन्यको निद्रामा बाधा पुर्‍याइएको थियो।

अनुसन्धानकर्ताले निद्रामा बाधा खेपेका मुसाको दिमागमा सिर्जित तरंग कमजोर र कम व्यवस्थित रहेको पाएका थिए। धेरै दिन निद्राबाट वञ्चित यी मुसालाई पछि सामान्य निद्रा दिँदा त्यसअघिको स्नायु ढाँचाको पुनर्निर्माण भए पनि अनुसन्धानका क्रममा सामान्य निद्रामा रहेका मुसाको स्तरमा यो कहिल्यै नपुगेको अनुसन्धानको निष्कर्ष छ। अनुभवपछि सम्झनाहरू प्रशोधन हुने र त्यसपछिको प्रशोधन झन् महत्वपूर्ण रहने अध्ययनले देखाएको छ।

प्रकाशित: ४ असार २०८१ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App