१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनको तयारीका लागि अनुगमन

मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ। मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो।

 विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भञ्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

पदमार्गमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको तयारीका लागि अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार लामिछानेले जानकारी दिए।

 उनका अनुसार खाङ्सार, याकखर्क, लेदर, हाइक्याम, बेसक्यामलगायतका पर्यटक बढी बसोबास गर्ने क्षेत्रका पर्यटन व्यवसायीलाई सचेत गराइएको छ।

अनुगमनका क्रममा मुस्ताङ खण्डमा सचेतना तथा सूचना पार्टी राख्ने विषयमा  सुरक्षा निकायसँग छलफल भएको छ। उद्धारका लागि जिल्लाभरका लागि उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको उनले बताए।

आवश्यक उपकरण राख्न र कर्मचारीलाई कार्य प्रतिकारका लागि तयार रहन र बाहिर जिल्ला जाँदा विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन आग्रह गरिएको जनाइएको छ। पालिकास्तरमा विपद् सहायता कक्ष स्थापना, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयार पारिएको छ।

तालिम प्राप्त कोर टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रजिअ लामिछानेले बताए। मनसुनको सुरुआत भएसँगै विपद् व्यवस्थापन समितिले जीर्ण भएका साइनिङ पोलको जडान तथा बाटो देखाउन राखिएका चिन्हको अवस्थाको तथ्याङ्क सङ्कलन गरिएको उहाँले जानकारी दिए।

उनले भने, ‘साइनिङ पोल र चिन्ह सङ्कलन भइरहेको छ, एक्यापलाई चिन्ह र पोल राख्नुपर्ने स्थानबारे जानकारी गराएका छौँ।’

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जिल्ला विपद् व्यवस्थापन समितिले सुझाव दिएअनुरुप नै तयारी गरिएको बताए। पालिका तथा वडास्तरकै विपद् सहायता कक्ष खडा गरिएको उनको भनाइ छ। जिल्लाको बढी जोखिमयुक्त चामे र नासों गाउँपालिकामा सहायता कक्ष स्थापना र विपद् सचेतनाका कार्यक्रम भइरहेको बताइएको छ। -रासस

प्रकाशित: १ असार २०८१ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App