२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्चीलाई धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी

वर्षायामको ९ दिन मेलम्ची खानेपानी विकास समितिलाई एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाले धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी दिने भएको छ।

बुधबार मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० तथा बागमती सुधार आयोजनाबिच ४ बुँदे सहमति भएको छ। सो सहमतिमा मेलम्चीका सिनिएर डिभिजन इन्जिनियर वीरेन्द्र कँडेल, बागमती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहरा तथा केयुकेलबाट प्रमुख कार्यकारी अशोक पौडेलले हस्ताक्षर गरेका छन्। जस अनुसार, धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखा मार्फत केयुकेएललाई प्रवाह गर्ने, उक्त प्रवाह गरिएको पानी सुख्खा याममा सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्ना स्वरूप बागमती नदीमा प्रवाह गर्ने सहमति भएको छ।

३० नम्बर गेटबाट पानी शोधभर्ना हुन नसकेमा सुन्दरीजल जलविद्युत केन्द्रबाट आउने पानी बागमती नदीमा पानी प्रवाह गरी शोधभर्ना गर्ने सहमति भएको बागमती सुधार आयोजनाका प्रमुख बोहाराले जानकारी गराए। उनका अनुसार यसअघि पनि मेलम्ची र बागमतीबिच पानी साटफेर हुने गरेको छ। वर्षा याममा बढी वर्षा भएको समयमा समयमा मेलम्चीको ढोका बन्द हुने भएकोले उपत्यकामा पानीको अभाव हुन्छ।

यही बेला बागमती नदीको उद्गम स्थल धाप ड्याममा ड्यामको क्षमता अनुसार नै पानी संकलन हुन्छ। ‘खासगरी सुख्खा यामको ९ महिना बागमती नदीमा पानी चाहिएको हुन्छ। तर वर्षा यामको ३ महिना हामीलाई चाहिने भन्दा बढी पानी जम्मा हुन्छ’बोहराले भने, ‘त्यसैले बागमती र मेलम्चीबिच पानी साटफेर गर्ने गरेका छौ।’

मेलम्चीले गत जेठ १८ गते बागमतीलाई चिठी लेखेर आगामी जेठ २६ गते देखि बर्षादको सम्भावना भएको कारण मेलम्चीको पानी बन्द हुने भएकोले धाप ड्यामको पानी हाल बत्तिस करोड लिटर पानी ९अधिकतम ४सय लिटर प्रति सेकेण्डका दरले० सुन्दरीजल पानी प्रशोधन शाखामा प्रवाह गर्न प्रस्ताव गरेको थियो। वर्षाले मेलम्ची टनेल बन्द भएपछि धाप ड्यामको पानी उपलब्ध गराउन मेलम्चीले प्रस्ताव गरेको छ।

बागमती सुधार आयोजनाका सिचाइ युनिट प्रमुख निश्चल छतकुलीका अनुसार धाप ड्याममा हाल करिब १ अर्ब लिटर पानी छ। यसको अधिकतम क्षमता १ अर्ब ४६ करोड हो। बागमतीले मेलम्चीलाई ३२ करोड पानी दिने दिने हो भने प्रति सेकेन्ड ४ सय लिटरको दरले पठाउँदा ९ दिन ४ घण्टा लाग्छ। धाप ड्याममा न्युनतत ७० करोड लिटर हुन आवश्यक छ। ‘त्यसैले हामीले मेलम्चीलाई बढीमा ९ दिन ४ घण्टा पानी दिन सक्छौ’ उनले भने। धाप ड्याम बागमती नदिको सहायक नदी बागमतीको उद्गम स्थल हो। यहीबाट बागमती सुरु हुन्छ।

धापड्याम भन्दा १० गुना ठूलो ड्याम बन्दै

धाप ड्याम भन्दा करिब १ किमी वरै बागमती नदिमै धाप ड्याम भन्दा दश गुणा ठूलो अर्को ड्याम बन्ने भएको छ। यसको निर्माण काम आर्थिक वर्ष २०८१/८२ भित्र निर्माणको सुरु हुने भएको छ। बागमती ड्याम बनाउन वातावरणीय प्रभाव मूल्याकंन तथा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) समेत तयार भइसकेको छ। सात वर्ष भित्र तयार हुने यो ड्याम बनाउन २५ अर्ब रुपैयाँ लाग्ने भएको छ। निकै महत्त्वाकाङ्क्षी परियोजना मानिएको यो ड्याम निर्माण पूरा भएमा सुख्खा यामको ९ महिनामै बागमती नदीमा वर्षा याम सरह पानी बहाव हुने छ।

वर्षाको पानी ड्याममा संकलन गरी सुख्खा याममा पानी पठाइने भएको छ। यसै गरी वर्षा यामको ३ महिना मेलम्चीलाई पानी उपलब्ध गराइने तथा २ मेगावाटको हाइड्रो पावर समेत निर्माण गर्ने यसको लक्ष्य रहेको छ। बागमती सुधार आयोजनका अनुसार बागमती ड्याम निर्माण काम पूरा भयो भने ड्याम वरिपरिको क्षेत्र र काठमाडौं।उपत्यकाको तापक्रम २ देखि ४ डिग्रीले घट्ने भएको छ। बागमती सुधार आयोजनाका अनुसार बागमती ड्याम बन्यो भने उपत्यकामा भूमिगत जलस्रोत पुनर्भरण हुनेछ। यसबाट उपत्यकामा हाल भूमिगत जल भण्डारण घट्दै गएको समस्या धेरै हदसम्म कम हुने आयोजना प्रमुख बोहराले बताए।

यसै गरी ड्याम निर्माण भए पछि पर्यटन प्रवर्द्धनमा यसले निकै ठूलो टेवा दिने भएको छ। बागमती ड्याम निर्माण गर्न सिचाइ तथा जलस्रोत मन्त्रालयले जावलाखेलमा एउटा छुट्टै कार्यालय खोलेको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App