११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

हुम्लामा सडक पुग्यो, गाडी गुड्न अझै वर्ष दिन लाग्ने

देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ।

नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यकाबाट भएको पाइन्छ। लामो दुरीको पहिलो सडकको रुपमा कठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं­भैँसे सडक (त्रिभुवन राजपथ) भारतीय सहयोगमा २००९ सालमा निर्माण भएको सरकारी रेकर्डमा देखिन्छ।

नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ। सडकको उचित स्तरोन्नति भएपछि मात्र सवारी साधन नियमित चल्ने उत्तर दक्षिण सडक निर्देशनालयका निर्देशक प्रेम प्रकाश खत्री बताउँछन्।

सिमकोटमा नेपाली भूमि हुँदै ट्रयाकमात्र पुगेको हो। अझै नियमित गाडी चल्ने सम्भावना भने छैन। कर्णाली कोरिडोर अन्तर्गत सुर्खेतबाट कालिकोट, बाजुरा हुँदै हुम्लासम्म सडक पुगेको हो। निर्देशक खत्री भन्छन्, पहिला कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत हुँदै जुम्ला जाने गर्दथ्र्यो। अहिले कर्णाली कोरिडोर अन्तर्गत सुर्खेतबाट कालिकोट, बाजुरा हुँदै हुम्लासम्म सडक पुगेको हो।

‘सिमकोटसम्ममा अहिले कच्ची सडकको ट्याक मात्र खुलेको हो। सवारी चल्न सक्ने अवस्था भने छैन। सुख्खा मौसममा गाडी चल्छ। तर बर्खा लागेपछि पानी परेसँगै खोला बढ्ने हुँदा बर्खामा गाडी चल्न सक्दैन,’ खत्रीले भने।

सिमकोटमा बाह्रै महिना गाडी चल्न भने अझै एकदेखि डेढसम्म कुर्नुपर्ने अवस्था छ। सडकमा पर्ने खोलामा पुल बन्न बाँकी हुँदा बर्खामा गाडी चल्न नसक्ने खत्री बताउँछन्। विशेष गरी हुम्लाको खार्पुनाथमा रहेको चुवा खोलामा पुल अहिले बन्दै गरेको र त्यो पुल निर्माण भइसकेपछि मात्र गाडी सहज रुपमा सिमकोट पुग्ने उनको भनाइ छ।

खत्रीले भने, ‘सिमकोटसम्ममा बाह्रै महिना गाडी चल्न अझै एकदेखि डेढ वर्षसम्म कुर्नुपर्ने हुन्छ। ठाउँ ठाउँका खोलाहरूमा पक्की पुल नबन्दा गाडी नियमित चल्न सक्ने अवस्था छैन। विशेष गरी हुम्लाको खार्पुनाथमा रहेको खोलामा पुल नबन्दासम्म गाडी बाह्रै महिना चल्न सक्ने अवस्था छैन। त्यहाँ पुल बन्दै छ। त्यो पुल निर्माण भएपछि मात्र सिमकोटसम्म बाह्रै महिना गाडी चल्छ।’

चिनको बाटो हुँदै सिमकोट आएको सडकबाट पनि नियमित गाडी भने चल्न नसकेको उनले बताए। ‘खुलानु भन्ने ठाउँबाट १७३ किलोमिटर सिमकोट पर्छ। सिमकोटबाट ९८ किलोमिटर अगाडी गएपछि चीनको नाका हिल्सा पुग्छ। पहिला हिल्सा हुँदै सिमकोटमा सडक आएको थियो। अहिले नेपालको बाटो हुँदै सडक सिमकोट पुगेको हो,’ उनले भने।

सिमकोटसम्म सडक सञ्जाल जोडिए पनि गाडीमा चढेर सरर हिँड्ने हुम्लावासीको सपना भने अधुरै रहेको छ। सडक जोडिएको दुई तीन दिन गाडी गए पनि त्यसपछि गाडी जान नसकेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताए।

सुवेदीले भने, ‘सिमकोटसम्म सडक आयो, दुई तीन दिन गाडी पनि आयो। त्यसपछि भने गाडी आएको छैन। त्यसलाई अब सडक आयो भन्ने की नभन्ने। हुम्लाको खार्पुनाथमा रहेको चुवा खोलामा पुल नबन्दासम्म गाडी आउन सक्दैन। हामीले त्यहाँ बेलीब्रीज बन्नुपर्छ भनेका छौँ। अब के हुन्छ।’

नेपालको बाटो हुँदै सिमकोटसम्म सडक पुर्‍याउने काम नेपाली सेनाले गरेको हो। विशेष गरी हुम्लाको छाहारे भिरमा नेपाली सेनाले ट्याक खोलेपछि गाडी आवतजावत हुन थालेको हो। 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत सिमकोटमा सडक पुर्‍याएको बताए। उनले भने, ‘नेपाल सरकारको गौरवको आयोजना कर्णाली कोरिडोर पनि हो। हुम्लाको सिमकोटमा सडक पुर्‍याउने हाम्रो लक्ष्य थियो। कर्णाली कोरिडोर अन्तर्गत सिमकोटमा सडक सञ्जाल पुर्‍याइएको हो।’

ट्याकलाई विभागको ज्योयोमेट्रिक स्टान्डरसम्म पुर्‍याएर गाडी सञ्चालन गर्ने उनले बताए। अहिले केही सवारी साधन पुगे पनि सबै सवारी साधन पुग्न नसकेको उनले बताए। ‘अहिले सडक सञ्जाल पुर्‍याउने हाम्रो लक्ष्य थियो। सोही अनुसार सिमकोटमा सडक पुगेको छ। अब सडकलाई विभागको ज्योयोमेट्रिक स्टान्डरसम्म पुर्‍याएर गाडी सञ्चालन गर्ने छौँ। बर्खा लागेकाले काम गर्न गाह्रो भएको छ। बर्खा सकिने बित्तिकै हामी काम सुरु गर्छौं, उनले भने।

चिनको सीमा हुँदै सिमकोटमा सडक आएपनि नेपालको बाटोलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए। नेपालकै बाटो हुँदै गाडीहरू सिमकोटसम्म पुर्‍याउने लक्ष्यमा विभाग रहेको उनको भनाइ छ।

उनले भने, ‘क्रस बोर्डर कनेक्टिभिटी राम्रो कुरा हो। हुनै पर्छ त्यो कुरा। तर चिनको नाका हुँदै सिमकोट आउने भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ भन्ने हो। नेपालबाट नै हामी सिमकोटलाई सडक सञ्जालमा जोड्ने छौँ।’ 

प्रकाशित: २१ जेष्ठ २०८१ १९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App