२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी

ताप्लेजुङ प्रहरी लागुऔषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको छ। पछिल्लो तीन साताको अवधिमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ८ जना लागुऔषध दुर्व्यसनमा रहेका व्यक्तिहरुलाई पक्राउ गरी कारवाही थालेको छ।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले यहाँको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेयता लागुऔषध दुर्व्यसन बिरुद्ध आक्रामक शैली अपनाएका छन्। लागुऔषध खैरो हेरोइन सहितका लागुऔषध दुर्व्यसनमा संलग्नहरुको खोजी तीव्र बनाएको र यसलाई अभियानकै रुपमा अघि बढाउने डिएसपी रावलको भनाइ छ। 

सरकारले ट्रामाडोल र टापेन्टाडोललाई समेत अहिले मनोदीपक (लागुऔषध सरह) पदार्थको रुपमा तोक्ने निर्णय गरेको छ। उक्त दुई पदार्थ समेतको प्रयोग तथा आयातकर्तालाई समेत प्रहरीले पक्राउ गरी कारवाही थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।  

प्रहरीले गाँजा प्रयोगकर्ता समेत फेला पारेकोले प्रहरीले प्राकृतिक रुपले उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान समेत तीव्र बनाएको छ। 

फुङलिङ नगरप्रमुख अमिर मादेनले लागुऔषध दुर्व्यसन बिरुद्धको प्रहरीको अभियानलाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘दुव्र्यसन बिरुद्ध प्रहरीले चलाएको अभियान सह्रानीय र स्वागतयोग्य कदम हो,यसमा हामी जनप्रतिनिधिको पूर्ण साथ र सहयोग रहन्छ’ नगर प्रमुख मादेनले भने।

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य,चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ। 

कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागुऔषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो। लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ‘३’ मा लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा,अफिम,तैयारीको अफिम, औषधोपयोगी अफिम,कोकाको झार र पात र अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थलाई लागुऔषधको रुपमा परिभाषित गरिएको छ।

प्रकाशित: १८ जेष्ठ २०८१ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App