४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमती दोहनको ठेक्कामा अनियमितता

रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा बागमती नदीको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्तमा अनियमितता भएको प्रमाण फेला परेको छ।

अनियमित तरिकाले ठेक्का दिई नगर प्रमुख श्यामप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले व्यक्तिगत लाभ लिएको र नगरपालिकालाई घाटा पु¥याएको तथ्य पाइएको छ।

बागमती नदीमा बगिरहेको पानी थुनेर दैनिक साढे दुई सयदेखि चार सय टिपरसम्म गिटी, ग्रावेल, ढुङ्गा उत्खनन गरेको र ठेक्कादेखि उत्खननसम्म व्यापक अनियमितता भएकोबारे नागरिक न्युजले लगातार समाचार लेखेपछि जिल्ला अनुगमन समितिले उत्खननमाथि पूर्णतया रोक लगाउँदै ठेक्कासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएको कागजपत्रको अध्ययन गर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्वसमेत नबुझाई महिनौँदेखि दोहन गर्न दिइएको देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका छन्।

नगरपालिकाले पृथ्वी निर्माण सेवालाई एक करोड पाँच लाखमा दिएको ठेक्कामा ठेक्का बापतको पैसा नगरपालिकाको बैंक खातामा जम्मा गर्नुको साटो निर्माण कम्पनीले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई नगदै दिएको बुझिएको छ। नगर प्रमुख यादवलाई नगद बिस लाख र प्रमुख प्रशासकीय अधिकृत यादवलाई पाँच लाख रुपैयाँ नगद उपलब्ध गराइएको स्रोतको दाबी छ। 

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई नगद उपलब्ध गराएपछि निर्माण सेवाले नगरपालिकालाई रकम बुझाएको छैन। गत फागुन महिनामा ठेक्का बापत करिब १८ लाख रुपैयाँको दुई ओटा चेक निर्माण कम्पनीले नगरपालिकालाई बुझाएको पाइएको छ तर आधा जेठ बितिसक्दासमेत प्रमुख प्रशासकीय अधिकृत यादवले बैंकमा बुझाएका छैनन्।

नदीको जथाभाबी अवैध दोहन गर्न दिएका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले राजस्वको चेक बैंकमा नबुझाएर नगरपालिकालाई आर्थिक नोक्सानी पु¥याएका छन्। दुवै जनाको मिलेमतोमा चेक बाउन्स नगरेको तथा ताकेता समेत नगरिएको देखिएको छ। 

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर निर्माण कम्पनीलाई तोकिएको परिमाणमा नदीजन्य पदार्थ निकाल्न नसकी घाटा भएको देखाउने चलखेल भइरहेको छ।

निर्माण सेवाले प्रमुख प्रशासकीय अधिकृत यादवलाई चेक दिएर पट्टा लिएको तर चेक अहिलेसम्म साटिएकोबारे सोध्दा एक हप्ताभित्रै कम्पनीले नगद पैसा जम्मा गर्ने वाचा गरेको बताएका छन्। फागुन महिनामा दिइएको चेक अहिलेसम्म बैंकमा जम्मा नगर्नु तथा बाउन्स नगर्नुले ठुलो चलखेल रहेको देखिन्छ।

गढीमाई नगरपालिकाले बागमती नदीको गिटी, बालुवा तथा ग्रावेल र ढुङ्गाको ठेक्कापट्टामा सधैँ जालझेल गर्दै आएको छ। हरेक वर्ष अवैध उत्खनन हुने गरेको समाचार आउने गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आ.व. २०७६।७७ को लागि लक्ष्मीपुर घाट र समनपुर नाकाको बालुवा, गिटी ठेक्काको सम्बन्धमा अनुसन्धान गरिरहेको बुझिएको छ। नगर प्रमुख श्यामप्रसाद यादवको मिलेमतोमा भाग्यमणि कन्स्ट्रक्सन प्रालि बतिसपुतली काठमाडौँले करोडौँ रुपैयाँ हिनामिना गरेको मुद्दा अख्तियारमा दर्ता भएपछि मुद्दाको अनुसन्धान अख्तियारमा विचाराधीन रहेको छ।

कन्स्ट्रक्सनले एक करोड पाँच लाख रुपैयाँमा कबोल गरेको ठेक्का रकममध्ये चौसठी लाख पचास हजार रुपैयाँ मात्र बुझाएको तथा समनपुर नाकको तीन करोड पच्चिस लाख रुपैयाँमा ठेक्का सकार गरेको भए पनि आर्थिक वर्षको मसान्तसम्म रकम नबुझाई राजस्व हिनामिना गरेको थियो। नगर प्रमुख यादव र कन्स्ट्रक्सन कम्पनी मिलेर गुपचुपमै लेनदेन गरी मिलाएको अनुमान रहेको छ। 

प्रकाशित: १७ जेष्ठ २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App