१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगामी केही दिन तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाले तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको हुनाले आवश्यक परेमा मात्रै सावधानी अपनाएर घरभन्दा बाहिर निस्कन आग्रह गरेको हो।

महाशाखाले तराईका भू–भागहरूमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ।

महाशाखाले धनगढी, नेपालगञ्ज लगायत पश्चिम तराईका अधिकांश स्थानमा ४० डिग्री तापक्रम मापन गरिएको र आगामी केही दिन सोभन्दा बढी तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन भनेको हो।

गर्मी बढ्न थालेपछि तराईका विभिन्न पालिकाले विद्यालय बन्द गरेका छन्।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ।

बच्ने उपायहरूः

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी सम्पर्कमा नआउने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने।

प्रकाशित: १६ जेष्ठ २०८१ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App