३ असार २०८१ सोमबार
image/svg+xml
समाज

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयु) को भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको ‘साधारणीकरण सञ्चार–ढाँचाका दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ।

आइतबार काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्स परिसर, हात्तीवन, ललितपुरमा दक्षिण एसियाली विश्वविद्यालय (एसएयु) का उपकुलपति प्रोफेसर केके अग्रवालले एकदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गरे।

संगोष्ठीको उद्घाटनलगत्तै मन्तव्य दिँदै उनले साधारणीकरण मोडेल अफ कम्युनिकेसन (एसएमसी) सम्बन्धी एकदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीको महत्त्व र समाजको हरेक पक्षमा यसको महत्वबारे प्रकाश पारे।

‘साधारणीकरण मोडल अफ कम्युनिकेसनबारे सोच्न महत्त्वपूर्ण छ,’ उनले भने, ‘वक्ता र श्रोता सञ्चारका अभिन्न अंग हुन्। यो मोडेलले प्रेषक र प्राप्तकर्तालाई छुट्टाछुट्टै परिभाषित गर्दैन। हामीले स्पष्ट रूपमा सञ्चार गर्न सके मात्र शिक्षाको मूल उद्देश्य सफल हुन सक्छ।

यो आम सञ्चारको मोडल मात्र नभएर हरेक विषयको मोडल हो भन्नेमा विश्वास गर्छु। दक्षिण एसियाली परिपेक्ष्यमा आधारित भएर धेरै काम गर्न सकिन्छ। म काठमाडौं विश्वविद्यालयलाई केन्द्र स्थापना गर्न आह्वान गर्छु। यदि यो भर्चुअल रूपमा गर्न सके हामीले दक्षिण एसियाली विश्वविद्यायलको मुख्य क्याम्पसमा कला, भाषा तथा सञ्चार सङ्काय स्थापना गर्न सक्छौं। यो मोडल संसारभर पुग्नुपर्छ।’

संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्रवक्ता तथा सहप्राध्यापक इकुमाया पुनले स्वागत मन्तव्य राखेकी थिइन्। सो अवसरमा काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागद्वारा प्रकाशित ‘बोधी’ जर्नलको १० औं संस्करण सार्वजनिक गरिएको थियो।

दक्षिण एसियाली विश्वविद्यालयका उपकुलपति प्राध्यापक केके अग्रवालले प्राध्यापक रामकृष्ण रेग्मीलाई सम्मान गरेका थिए। संगोष्ठीमा नेपाल, भारत, इन्डोनेसिया, चीन, अमेरिका, अष्ट्रेलिया, नर्वे र क्यानडालगायत देशबाट ३५ वटा शोधपत्र प्रस्तुत गरिएको थियो।

संगोष्ठीका मुख्य वक्ता (किनोट स्पिकर) अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योसिताका माइकले ज्ञान उत्पादनको पश्चिमी परम्परा र सञ्चार अभ्यासहरू तत्काल हाम्रो दिमागलाई हटाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले एसिया–केन्द्रित प्रतिमानलाई जोड दिँदै तीन वटा प्राथमिक भागहरूमा अवधारणालाई व्याख्या गरे। उनले तीन वटा भागहरूले अन्तर–सांस्कृतिक सञ्चारमार्फत समावेशी रूपमा ज्ञान फैलाउने आवश्यकतालाई प्रकाश पारे र एसियालाई राम्ररी बुझ्न र विकास गर्न एसियाली दिमाग आवश्यक रहेको बताए।

प्रोफेसर डा. इडा बोगस पुतु सुआम्बाले साधारणीकरण मोडेल अफ कम्युनिकेसनको विभिन्न महत्त्वपूर्ण तत्वबारे प्रकाश पारे। त्यस्तै, प्रोफेसर हान होङ, युनिभर्सिटी इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी, चीनको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनका उपडिनले चीनको सञ्चार सिद्धान्तमा जोड दिँदै चीनको सञ्चार सिद्धान्त परम्परागत संस्कृतिमा आधारित रहेको, जसमा कन्फ्युसियन नैतिकता, माओवादी द्वन्द्वात्मक सोच र जेन बुद्ध धर्मको विचार समावेश रहेको तर्क गरे।

‘एसएमसीजस्ता सञ्चार मोडलले पूर्वी र पश्चिमी मोडलबीच भिन्नता प्रस्ट पार्नु आवश्यक छ र सञ्चार मोडेलबीच समानता र भिन्नता अध्ययन गर्नुका साथै एसएमसी र चिनियाँ सञ्चार मोडेलजस्ता अन्तर–एसियाली अध्ययनहरूमा ध्यान दिनुसमेत आवश्यक छ,’ उनले भने।

प्रा.डा. केजी सुरेशले साधारणीकरण मोडल नेपाल र दक्षिण एसियाको मात्र नभएर संसारभरको गौरवको विषय भएको बताए। डा. रेग्मीले सञ्चारको साधारणीकरण मोडेल वैदिक सभ्यताको प्रवेशद्वार भएको तर्क गरे।

केयुका उपकुलपति प्राध्यापक भोला थापाले अन्तर्राष्ट्रिय संगोष्ठी महत्वमा जोड दिए। यस संगोष्ठीले साधारणीकरण मोडलको विद्वतापूर्ण अन्वेषण र व्यावहारिक प्रयोगमा जोड दिएको तर्क गर्दै उनले यसको जरा नेपालमा रहेको स्वीकार गरे।

केयुका सहप्राध्यापक तथा भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलामणि अधिकारीले सन् २००३ मा प्रतिपादन गरेको ‘साधारणीकरण मोडल अफ कम्युनिकेसनको दुई दशक पूरा भएको अवसरमा अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गरिएको हो।

यस सञ्चार ढाँचा संसारभरका विभिन्न विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App