२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हराउँदै चराहरू

यस्तो पनि

किरा मन पराउने चराहरूको संख्या ४० प्रतिशतले घटेको वैज्ञानिकहरूले जनाएका छन्। गौंथली, स्विफ्ट तथा हाउस मार्टिन प्रजातिका चराहरु कुनै समय बेलायती गाउँ तथा कस्बारुमा निकै देखिन्थे। तिनले विषाक्त र बिउ नै मास्ने किसिमका किराहरू खाइदिन्थे।

किरा मार्ने त्यस्ता चराहरूको संख्या विगत एक दशकमा ४० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ। ब्रिडिङ बर्ड सर्भे (बिबिएस)ले निकालेको सो रिपोर्टमा यस्ता चराहरूको कमी हुनुमा तिनले आफ्ना चल्ला कोरल्न नसकेको अवस्था हुन सक्ने आकलन गरिएको छ। तिनले गुँड बनाउने ठाउँको अभाव, पुराना चरामैत्री घर हराउन थालेपछि यस्तो अवस्था आएको बताइएको छ। खासमा पहिलेका घरमा चराहरूका लागि भनेर केही दुलादुलीहरू छाडिन्थ्यो। त्यस्ता घरहरू अचेल पाइन छाडेको छ। नयाँ बनेका घरमा चरामैत्री वातावरण नहुनाले तिनले चल्ला कोरल्न नसक्दा तिनको संख्या घटेको हुनसक्ने शोधकर्ताहरूले बताएका छन्।

कुनै समय त्यस्ता किरा खाने चराहरूको प्रजाति ११९ सम्म थिए। अहिले बेलायतमा ४२ वटा प्रजाति मात्र रहेको बताइएको छ। पहिलेको तुलनामा जंगल र खेती पनि घटेको छ। सन् १९९५ यता त्यस्ता चराहरू ९७ प्रतिशतले घटेका छन्।

बिबिएस बेलायतको सबैभन्दा लामो समय चलेको नागरिकद्वारा सञ्चालित विज्ञान आयोजना हो। यसमा नौ हजारभन्दा बढी चासो राख्ने सर्वसाधारण सहभागी छन्। पछिल्लो समय सन् २०२२ र २०२३ मा एभियन फ्लुका कारण पनि धेरै चराचुरुङ्गीहरूको ज्यान गएको विज्ञहरू बताउँछन्। यही अवधिमा किराप्रेमी चराहरू पनि सखाप भएको हुनसक्ने विज्ञहरूको आशंका छ।

विगत ३० वर्षमा यसरी घट्ने चराहरूमा फ्लाई क्याचर र पाइड फ्लाइक्याचरजस्ता चरा पनि परेका छन्। तिनको संख्या ६८ प्रतिशतले घट्न पुगेको छ। ‘यहाँ नाम लिइएका चराहरू मात्र लुप्त भएका हैनन्,’ बिबिएसका राष्ट्रिय आयोजक डा. जेम्स हेवुड भन्छन्, ‘रिपोर्टले हराउँदै गएका खेतीयोग्य जमिन, विलाउँदै गएका जंगल, तिनको विलुप्तताले अन्य किरा र चराहरूको दैनिन्दिनीमा फरक पारेको कुरालाई औँल्याएको छ । त्यसमाथि एभियन फ्लुजस्ता रोगले त तिनको अस्तित्व नै संकटमा पारिदिएको छ।’

प्रकाशित: ७ जेष्ठ २०८१ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App