दार्चुलाको धौली ओडारमा सयौं अस्थाई टहरा छन् । अस्थायी कटेरोहरुबाट मकै र गहँुको रोटी पोलेको बास्ना हावासँगै बहकिरहेको छ । सँगै रहेको ठूलो फाँटमा केही अधबैंशे जमात देउडा नाँच्दैछन् । माथि अपी बेसक्याम्प जाने चौरमा युवाहरु क्रिकेट खेल्दैछन् । सँगै क्रिकेट हेरिरहेकाहरु ऋाफ्नो टिम र खेलाडीको पक्षमा हुटिङ गरिरहेका छन् । छेउकै पसलमा जेरी, चाउमिन, मःमः पाकिरहेको छ ।

ससाना केटाकेटी वरपर दौडिरहेका छन् । केही महिला ढुंगामाथि पारिलो घामको आनन्द लिँदै उनीको सामग्री बुनिरहेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलाको धौली ओडारदेखि अपी हिमाल आधार शिविरसम्मको क्षेत्रमा यार्सागुम्बा संकलन गर्नेहरुको चहलपहल यस्तै देखिन्छ । यार्सागुम्बा टिप्न जानेहरुको गतिविधिले चाडपर्वझै रमाइलो छ, धौली ओडार ।
बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

थरिथरि रंगका गुँरासदेखि लेकाली फूलहरु ढकमक्क फुलेका छन् । औषधिजन्य गुण भएको यार्सागुम्बा संकलन गर्न धौली ओडारदेखि अपी बेस क्याम्पसम्मको फराकिलो फाँटमा दार्चुला, डोल्पा, बझाङ, कैलाली, धादिङ, जुम्ला, डोटी लागयतका जिल्लाबाट सयौंैको संख्यामा भेला भएका छन् ।

यसवर्ष पानी कम परेका कारण पर्याप्त यार्सा उम्रिएको छैन । गत वर्षहरुमा झै हानथाप यो वर्ष देखिदैन । तै पानी परिहाल्छ कि, तै यर्सा देखिहाल्छ कि भनेर तत्कालको अत्यासलाई बिर्सेर उनीहरु अस्थायी क्याम्पमा रमाइलो गरिरहेका छन् । हिउँ परेको र जंगल खुला नगरेको समय पनि यार्सा संकलन गर्न गएकाहरु अस्थायी बसोबासस्थल क्षेत्रमै रमाइलो गर्छन् ।

परिवारै अस्थायी टहरा बनाएर यार्सा टिप्ने चलन पुरानै हो । कतिठाउँबाट त घर कुर्ने बाहेक गाउँ नै रित्तो गरेर यार्सा टिप्न गएका छन् । स्कुलहरु पनि बन्द हुन्छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु प्नि यो सिजनमा थातथलो फर्कन्छन् । र परिवारसहित यार्सा टिप्न धौलीओडार पुग्छन् ।

अपी गाउँपालिकाको घुसाबाट यार्सा टिप्न आफ्नो श्रीमानसँग आएकी भृकुटी धामी ढुंगामाथि घाम ताप्दै बुनाई गरिरहेका छन् । आधार शिविरमा अस्थायी टहरामा रहेकी उनी हिउँ परेको कारण यार्सा संकलन गर्न नगई उन बुनेर बसिरहेकी छिन् । ‘हिउँ पर्दा यार्सा पाउन गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘त्यही भएर हामी त साथीसाथी पो ताप्दैछौं ।’ उनी गत बैशाख २ गतै बेस क्याम्प आएर अस्थाई टहरा र आवश्यक खानपानको जोहोे गरेर गाउँ फर्किएर घरको सम्पूर्ण बन्दोबस्ता गरेर केही दिनअघिमात्र पुनः बेसक्याम्प आएकी हुन् । आफ्नो श्रीमानसँग आएकी उनले छोराछोरी भने केही दिनका लागि सासुससुराको जिम्मा लगाएकी छन् ।
‘अहिलेको सिजनमा त टन्नै मानिसहरु हुन्छन्’ उनी भन्छिन्, ‘यहाँ त मेला जस्तै छ । सबै हुँदा यार्सा टिप्न पनि रमाईलो नै छ ।’ सबैजना यार्सा संकलन गर्न माथि तिर जादाँ कम पाईने अवस्था भए पनि सँगै सबैजना हुदाँ रमाइलो वातावरणले धौलीओडार रमाइलो लाग्ने उनको अनुभव छ ।

यस्तै धौलोडाडाँमा यार्सा टिप्न गइरहेकी रमती धामी पनि सिजनै भरी यार्सा टिप्छिन् । उमेरले ३५ लागेकी रमतीले यस सिजनमा ६० हजारदेखि १ लाख रुपैयाँसम्म कमाइ हुने अपेक्षा गरेकी छन् । धामीले यार्सा संकलन गरेर कमाएको पैसा घर खर्च, परिवारको औषधि उपचार र छोराहरुको स्कुल फी तिर्न खर्चिन्छिन् ।
समुन्द्र सतहबाट करिब ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाईमा उत्पादन हुने यर्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने चौरीखर्क तथा घासे मैदानमा पाइन्छ । यसको व्यवसायिक खेती नगरी प्राकृतिक रुपमा संकलन गरिन्छ ।

यस्तै सितिका अंगत जाघरी पनि केही दिनपछि परिवारसहित धौलीओडार जाने तरखरमा छन् । धैलीओडारमा उनले अस्थायी टहरा बनाइसकेका छन् । ‘माथि त अहिले उत्सव जस्तै हुन्छ,’ उनले भने, ‘गाउँको भन्दा बढी मानिस हुन्छन्, यार्सा टिप्नुको कठिन त आफ्नो ठाउँमा छ तर धेरैजना मान्छेहरु हुदाँ रमाइलो नै हुन्छ ।’
यार्सागुम्बा संकलन एवम् विक्रीवितरणले सुदूरपश्चिम र कर्णाली प्रदेशबासीको आर्थिक भरथेगमा सहयोग पुर्याएको छ । दुखबिराममा औषधिउपचारमात्र हैन नुनभुटुन, खाद्यान्न, बालबच्चाको शिक्षालगायत पनि यसैले आधाउधी धान्छ । यसबाट हुने राजश्व संकलनले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायत जीवनस्तारमा सकरात्मक प्रभाव पर्ने गरेको अपीहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहोराले बताए ।

विश्वबजारमा यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले नेपाल, चीनपछिको दोस्रो ठूलो मुलुक हो । विश्वमा उपलब्ध ५ सय प्रजातिमध्ये नेपालमा करिब ११ प्रजातीको यार्सागुम्बा पहिचान भएको सरकारको तथ्याङ्क छ ।

प्रकाशित: ६ जेष्ठ २०८१ १९:३१ आइतबार