१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

टोस्टमास्टर इन्टरनेशनलको नेपाल-उत्तर भारत च्याप्टरको अध्यक्षमा मुन प्रधान निर्वाचित

टोस्टमास्टर इन्टरनेशनलको नेपाल र उत्तर भारत जिल्लाको अध्यक्षमा नेपालकी मुन प्रधान निर्वाचित भएकी छन् ।

नेपाल र उत्तरी भारतलाई समेट्ने टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को डिस्ट्रिक्ट डाइरेक्टरमा निर्वाचित हुने मुन पहिलो नेपाली महिला हुन् । भारतको नयाँदिल्लीमा भएको जिल्ला सम्मेलनबाट निर्वाचित उनले आगामी एक वर्ष डिस्ट्रिक्ट ४१को नेतृत्व गर्नेछन् । 

सम्मेलनको क्रममा वक्तृत्व प्रतियोगिता आयोजना गरिएको थियो जसमा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगिताको शीर्ष तीन स्थानमा नेपाली प्रतियोगीले विजयी भएका थिए । प्रतियोगितामा विजयी भएका साहिल बराल पब्लिक स्पिकिङको वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सम्भावना बोकेर क्षेत्रीय प्रतियोगितामा अगाडि बढिरहेका छन् । फस्ट रनरअप दिपेश चालिसे र सेकेन्ड रनरअप वैशाली प्रधान भइन् ।

'डिस्ट्रिक्ट ४१ ले उत्तर भारत र नेपालका केही भागहरू समेट्छ, विविधता र सम्भावना बोकेका यी क्षेत्रको नेतृत्व गर्नु आफैमा चुनौतीपूर्ण रहेको छ,' प्रधानले भनिन्। 

प्रधान यसअघि अन्तर्राष्ट्रिय विकास संस्थामा ज्ञान व्यवस्थापन र सञ्चार विशेषज्ञका रुपमा टोस्टमास्टर इन्टरनेशनलमा कार्यरत थिइन् । लैङ्गिक समानता, सामाजिक समावेशीकरण र क्यारियर मार्गदर्शनलगायत परियोजनामा कार्यरत उनले विभिन्न अधिकार संस्थाहरूमा संलग्न भएर महिला र बालबालिकाको हितमा काम गरिसकेकी छन् । 

गैर-नाफामुखी शैक्षिक संस्था टोस्टमास्टर इन्टरनेशनलको १४८ देशमा क्लब छन् । जसमा २ लाख ७० हजार बढी सदस्य छन्।

प्रकाशित: ६ जेष्ठ २०८१ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App