२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ट्राफिक जवान हत्या प्रकरणः लागुऔषध र युवती कनेक्सन !

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा लागुऔषध र युवती ‘कनेक्सन’ देखिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको प्रारम्भिक अनुसन्धानमा हत्यामा लागुऔषधका प्रयोगकर्ताको संलग्नता रहेको भेटिएको छ भने, कारणमा युवतीलाई जिस्काएको विषय पाइएको छ।

ट्राफिक प्रहरी जवान घिमिरे शुक्रबार तारकेश्वर नगरपालिका-९, मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँतलामा रक्ताम्ये अवस्थामा मृत भेटिएका थिए। खोटाङ घर भएका घिमिरे ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए। उनको बसाई सामाखुशी थियो।

बिहीबार ड्युटी सकेर हिँडेका घिमिरे शुक्रबार फर्किएका थिएनन्। पछि उनको  शब हत्या गरेको अवस्थामा भेटिएको थियो। शव भेटिएसँगै जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको निष्कर्ष निकाल्दै प्रहरी परिसरले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ। उसो त अनुसन्धानका क्रममा २१ जना पक्राउ परेका थिए। 

‘हाम्रो प्रारम्भिक अनुसन्धानमा ७ जना संलग्न पाइएका छन्। उनीहरूले हत्या पनि स्वीकारेका छन्,’ परिसर प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त रजौरेले भने, ‘यसैले उनीहरूलाई आज (आइतबार) सार्वजनिक गरेर थप अनुसन्धान अगाडि बढेको छ।’ पक्राउ परेका सात जनालाई  परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको थियो।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का २१ वर्षीय आइते भनेर चिनिने सचिन परियार, नुवाकोट दुप्चेचौर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधिखोला गाउँपालिकाकी २१ वर्षीया विपना, बसन्ती भनेर चिनिने वसुन्धारा कार्की, सोही ठाउँकी ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तानी गाउँपालिकाका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनेर चिनिने अमृत तामाङ र १३ वर्षका एकजना नाबालक छन्।

सबै लागुऔषध प्रयोगकर्ता 

प्रहरीका अनुसार पक्राउ परेका सबैजना सबै लागुऔषध प्रयोगकर्ता हुन्। प्रहरी जवान घिमिरे पनि लागुऔषध गाँजाको प्रयोगकर्ता रहेको प्रहरीको आशंका छ।

‘हत्यामा संलग्नहरू लागु औषध प्रयोगकर्ता नै हुन,’ एसएसपी रजौरेले भने, ‘मृतकको प्रस्ट खुलेको छैन। अनुसन्धान अघि बढ्दा खुल्ला !’ 

घटनाको सिलसिला पक्राउ परेका सचिनबाट सुरु भएको देखिन्छ। सचिनसँग जवान घिमिरेको पहिलेदेखि नै चिनजान भएको खुलेको छ।

प्रहरी अनुसन्धानमा देखिए अनुसार घिमिरे ड्युटी सकेर बिहीबार खाजा खान एउटा होटल  छिरेका थिए। जहाँ सचिन र पक्राउ परेकी अञ्जली श्रेष्ठ पनि रहेछन्। अञ्जली सचिनसँग लिभिङ टुगेदरमा रहेको पाइएको प्रहरीले जनाएको छ।

त्यही भेटका क्रममा सम्भवतः घिमिरेले अञ्जलीलाई जिस्काएको देखिएको छ। घिमिरेले अञ्जलीलाई जिस्काएपछि रिस उठेको सचिनले प्रहरीलाई बयान दिएका छन्। 

त्यसपछि सचिनले अञ्जली बिरामी रहेको भन्दै घिमिरेलाई बाइकमा हरियोचौरसम्म पुर्‍याइदिन आग्रह गरेको बताएका छन्। ‘त्यसपछि एउटै बाइकमा तीनजना बसेर घटनास्थलसम्म पुगेको देखिन्छ,’ एसएसपी रजौरेले भने। घटनास्थल लागुऔषध प्रयोगकर्ताहरूले अखडाका रुपमा प्रयोग गर्र्दैआएका थिए।

‘त्यहाँ पुग्दा अन्य पनि रहेछन्। सबै मिलेर इँटा, रड र नकल (हातको औलामा हालेर चोटपटक लाग्न प्रयोग हुने फलाम) ले प्रहार गरी हत्या गरिएको देखिएको छ,’ एसएसपी रजौरेले भने।

हवाई फायर गरेर पक्राउ  

अनुसन्धान गर्दैजाँदा सचिनको समूह संलग्न रहेको प्रमाणहरू फेला पारेको थियो। त्यसपछि उनीहरूको खोजी थालेको थियो।

खोजी गर्दा उनीहरू अक्सर समूहमै रहने, विभिन्न अपराधिक काम गर्ने किसिमको रहेको पाइएको एसएसपी रजौरेले बताए। 

खोजी गर्दैजाँदा उनीहरूको समूह अष्टनारायण हल पछाडि र बाइसधारा जंगलमा भेटिएका थिए। जहाँबाट भाग्न खोज्दा प्रहरीले हवाई फायर गर्नुपरेको थियो।

प्रकाशित: ६ जेष्ठ २०८१ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App