नेपालगन्जका बोर्डिङ स्कुलहरुले बलबालिकाका लागि विद्यालय पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन्। लाखौं कमिसनको चक्करमा स्कुलहरुले अभिभावकलाई सीमापारि पठाउने गरेका हुन्। नेपालगन्जमा सञ्चालित आधा दर्जन पसल विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराउन सक्छन्।
यहाँका नाम चलेका बोर्डिङ स्कुलले रुपैडिहामा रहेको ‘अग्रवाल डे«सेस’ सँग सेटिङ मिलाएर विद्यार्थीका पोसाक किन्न सीमापारि पठाउने गरेको पाइएको छ। ‘नेपालगन्जमै ड्रेस तयार गर्ने तमाम पसल छन्, तर स्कुलहरु हामीलाई अग्रवालको भिजिटिङ कार्ड दिएर रुपैडिहा पठाउँछन्’, अभिभावक भन्छन्।
अभिभावकलाई सीमापारि पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कारबाही गरिएको छैन। स्कुलको आतंक रोक्न न सरकार जागेको छ, न त नेपालगन्ज उद्योग वाणिज्य संघले बोलेको छ। स्कुलले अभिभावकलाई त्यसरी सीमापारि पठाउँदा दैनिक लाखौं रुपैयाँ भन्सार राजस्व गुमिरहेको छ भने करोडौं नेपाली रुपैयाँ विदेश गइरहेको छ।
सरकारलाई कर तिरेर सञ्चालित यहाँका पसललाई भने टिक्नै मुस्किल परेको छ। नेपालगन्जस्थित इनोभेटिभ युनिफर्मका सञ्चालक रेणु भण्डारीले पोसाक बिक्री हुने सिजन चले पनि व्यापार त्यति राम्रो नभएको बताइन्। ‘सिजन चले पनि व्यापार त्यति सन्तोषजनक नै छैन’, उनले भनिन्।
आदर्श युनिफर्मका सञ्चालक चन्द्र श्रेष्ठले आफूकहाँ विद्यार्थी पोसाक भनेर छिटपुट रुपमा मात्रै आउने गरेको बताए। ‘प्रायः स्कुल पोसाक किन्न रुपैडिहा पठाउँछन्, हामीकहाँ आउने भनेको त फाट्टफुट्ट काम मात्रै हो’, उनले भने। कुनै बेला आफूले करिब १२ वटा स्कुलका हजारौं विद्यार्थीलाई पोसाक पु¥याउने गरेकोमा अहिले सबैले लिन छाडेको व्यवसायी श्रेष्ठले सुनाए।
‘अभिभावक पोसाकको क्वालिटी हेर्दैनन्, नेपालगन्जको भन्दा थोरै सस्तो मूल्यमा दिएजस्तो गरेर अग्रवाल डे«सेसले अभिभावकलाई मूर्ख बनाइरहेको छ’, उनले भने, ‘अग्रवालले नेपालगन्जका स्कुललाई कमिसन दिइरहेको छ। हामी स्कुललाई कमिसन दिएर काम गर्न सक्दैनौं, किनकि हाम्रो लागत खर्च बढी आउँछ।’
बागेश्वरी युनिफर्मकी सञ्चालक माया ओलीले कतिपय स्कुलले आफूकहाँ अर्डर लिएर पनि पोसाक किन्न रुपैडिहा पठाउने गरेको दुखेसो पोखिन्। ‘स्कुलले अर्डर लिन्छ, विद्यार्थी तपाईंकहाँ पठाउँछु भन्छ, मुखका भरमा हामीले लाखौं रुपैयाँ लगानी गरेर सम्बन्धित स्कुलको पोसाक खरिद गर्छौं, हामीसँग स्कुल सञ्चालक खुलेर कुरा पनि गर्न सक्दैनन्, त्यसपछि विद्यार्थी र अभिभावकलाई उनीहरु रुपैडिहा पठाउँछन्’, उनले भनिन्।
अर्डर गरेको पोसाक बिक्री नहुँदा पटकपटक आफ्नो लगानी डुबेको मायाले सुनाइन्। विद्यार्थी तथा अभिभावकलाई पोसाक किन्न रुपैडिहा पठाउनेमा नेपालगन्जका ठुला र नाम चलेका बोर्डिङ स्कुल धेरै छन्।
अभिभावकलाई अग्रवालको भिजिटिङ कार्ड नै थमाएर मोर्डन पब्लिक, सोफिया, वेस्टजोन, होप इन्टरनेसनल एकेडेमी, ब्रिटिस, गोल्डेन एबिसी, सेन्थोमस, रेडहिल, होलिल्यान्डलगायत स्कुलले रुपैडिहा पठाइरहेको विश्वस्त स्रोतले जनाएको छ।
यस्तै आदर्श, ब्राइटल्यान्ड, युनाइटेड, सनविम, एन्जल्सलगायत अन्य स्कुलका केही अभिभावक तथा विद्यार्थी पनि पोसाक किन्न छिटपुट रुपमा रुपैडिहा पुग्ने गरेको पाइएको छ। उनीहरुलाई स्कुलले सिधै नपठाए पनि प्रिन्सिपल, डिसिपिलिन इन्चार्जलगायत प्रभाव जमाउने कर्मचारीलाई प्रलोभनमा पारी अग्रवालले आफूतिर आकर्षण गरेको बताइन्छ।
अग्रवालले नेपालगन्जका हरेक स्कुलका गेट–गेटमा समेत आफ्ना मान्छे राखेको स्रोतले जनाएको छ। अग्रवालले नेपालगन्जका स्कुलमै पुगेर सञ्चालकलाई पोसाकवापतको कमिसन बुझाउने गरेको स्रोतको दाबी छ।
भविष्यका कर्णधार भनिने बालबालिकालाई नेपालगन्जका केही स्कुलले सानै उमेरबाट राजस्व छल्न र तस्करी गर्न सिकाइरहेका छन्। रुपैडिहाबाट त्यसरी अभिभावक र विद्यार्थीले ल्याउने पोसाक तस्करी भएर आउँदा सरकारलाई पनि राजस्व घाटा भइरहेको छ।
नेपालगन्जका स्कुलमा ‘अग्रवाल ड्रेसेस’ को यतिसम्म ‘दबदबा’ छ कि प्रत्येक दिन कुनै न कुनै स्कुलमा कमिसनको डिल गर्न प्रतिनिधि पुग्छन्। कमिसनको डिल हरेक वर्षको वार्षिक परिक्षा सुरु नहुँदै यहाँका स्कुलमा सुरु हुन्छ, त्यसपछि एक वर्षसम्म चलिरहन्छ।
कतिपय स्कुलले भने अग्रवालका प्रतिनिधिलाई आफ्नो गेटभित्र प्रवेश गर्न दिँदैनन्। ‘अग्रवालले एउटा स्कुललाई दिनमा दशपटक फोन गर्छ, कतिसम्म भने स्कुलमै आएर उसले ड्रेसबाट कति प्रतिशत कमिसन लिनुहुन्छ भन्दै पैसाको डिल गर्न खोज्छ’, एक स्कुलका प्रिन्सिपलले भने, ‘हामीकहाँ आउँछु भनेर पटकपटक फोन गर्यो। मैले गेटबाट भित्र पस्न दिइनँ, पटकपटक गाली खाएपछि पछिल्लो समयमा फोन गर्न छाडेको छ।’
ती प्रिन्सिपलले अरु स्कुलको जस्तो आफूले आफ्ना अभिभावक र विद्यार्थीलाई कहिल्यै रुपैडिहा नपठाएको दाबी गरे। ‘हाम्रा अभिभावकले नेपालगन्जकै युनिफर्म लिन्छन्, अभिभावक र विद्यार्थीलाई हामी राजस्व छल्न त्यसरी रुपैडिहा पठाउँदैनौं’, उनले भने, ‘जसले बढी आदर्शवादी र ठुलाठुला गफ गर्छन्, उनले नै कमिसनको चक्करमा आफ्ना अभिभावक र विद्यार्थीलाई रुपैडिहा पठाइरहेको हामी देखिरहेका छौं।’
कतिपय बोर्डिङ स्कुलले त आतंक नै मच्चाएको ती स्कुलका प्रिन्सिपल बताउँछन्। बोर्डिङ स्कुलको सबैभन्दा पहिला मानसिकता परिवर्तन हुनुपर्ने उनको सुझाव छ। ‘नेपाली व्यवसायीले कपडाको गुणस्तर मापन गरेका छन्। त्यसकारण यिनले कसिमन दिन सक्दैनन्। अग्रवालको कपडामा गुणस्तर छैन। त्यहाँ स्कुललाई कमिसन छ। फरक यति नै हो’, उनले भने।
प्रकाशित: २३ वैशाख २०८१ ०९:३५ आइतबार


-600x400.jpg)


