५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बास पर्खिरहेको ‘हाडबास’

हाडबासकी अग्निपीडित मञ्जु केसी। तस्बिर: नागरिक

गत आइतबार बिहान वस्तीनजिकैको सामुदायिक वनमा आगो लाग्यो। वस्तीमा आगो सल्किन सक्ने भयले गाउँले मिलेर वनमा आगो निभाउने प्रयास गरे, आगो केही कम भयो। गाउँलेहरू अब आगो वस्तीमा नआउने भन्दै घर फर्किए।

दिउँसो हावाको बहाव बढ्यो। सामुदायिक वनमा लागेको आगो एकाएक वस्तीमा सल्कियो। जिल्लाको राजपुर गाउँपालिका–७ स्थित ‘हाडबास’ का स्थानीयको बास सखाप बन्यो। २५ घर परिवारको बास खोसियो। आगलागीबाट विस्थापितहरू अहिले बारीमा त्रिपाल टाँगेर बसेका छन्। बास गुमाएको हाडबास अहिले बास पर्खेर बसेको छ।

 ‘साँझ पर्‍यो भने बारीमा त्रिपाल टाँगेर बस्छौं,’ पीडित मञ्जु केसीले भनिन्, ‘दिउँसो घाम हुन्छ अनि एउटा घरमा दिनभरि बस्छौं ।’ हाडबास गाउँको यो वस्तीमा एक स्थानीयको घर बचेको छ। पीडितहरू दिनभरि यही एउटा घरमा कोचिएर बस्छन्।

आइतबार बिहानै किनमेलका लागि मञ्जु लमही पुगेकी थिइन्। दिउँसो पख घरमा आगलागी भएको खबर उनलाई घरबाट गयो। उनी हतारमा घर फकिइन्। घर पुग्दा बचेको केही थिएन। ‘म घर पुग्दा घर सबै खरानी भइसकेको थियो,’ उनले भनिन्, ‘घरबाट केही सामान पनि निकाल्न सकिएन, भएको जति सबै जल्यो।’

घर जलेपछि आश्रयविहीन बनेको मञ्जुको परिवार घरको आशमा बसेको छ। बारीमा त्रिपालभित्र साना छोराछोरीलाई सुताउनुपर्दाको पीडा सुनाउँदै उनले भनिन्, ‘कोही दाता आएर घर बनाइदिए हुन्थ्यो नि!’

वस्तीमा दाताहरू पुगेकै छन्। खाद्यान्न लिएर जानेहरू मात्रै। तर, ओतका लागि अहिलेसम्म कसैले सहयोग नगरेको उनको दुखेसो छ। ‘घरमा रहेको धनपैसा केही बचेन, आफैंले घर बनाउन सकिन्न,’ उनले भनिन्, ‘वस्तीमा दाताहरू आउनुहुन्छ, खाद्यान्न दिनुहुन्छ, तर घर बनाइदिने भनेर अहिलेसम्म कोही पनि आउनुभएको छैन।’

दाताहरूले दिएको राहत कहाँ राख्ने भन्ने नै समस्या छ। आगलागीबाट बचेको एउटा घरमा पीडितहरू जम्मैको राहत थन्क्याएर राख्नुपरेको छ। ‘राहत त दिनु भएको छ, तर त्यही राहत पनि कहाँ राख्ने समस्या छ,’ उनले भनिन्, ‘बारीमा त्रिपालभित्र राख्नुभएन, अनि आगोबाट बचेको एउटा घरमा सबै पीडितहरूले राहत थन्क्याएर राखेका छौं।’

आगलागीबाट २५ घर जलेर नष्ट भएको हाडबासले अहिले अन्य राहतभन्दा पनि बास पर्खेको छ। बारीमा रात गुजार्न बाध्य पीडितहरू कहिले ओत हालिदिने हात पुग्लान् भन्ने अपेक्षामा छन्। ‘बारीमा त्रिपाल टाँगेर केको निद्रा पर्थ्याे , रातभरि जाग्राम भएरै बस्नुपर्छ,’ मञ्जुले भनिन्, ‘केटाकेटीलाई भने बल्लतल्ल सुताउँछु। धन्न दाताहरूले दुई दिन अघि बिछ्यौना दिएका छन्।’

बारीमा त्रिपाल टाँगेर रातको बसाइले लक्ष्मी केसीकी नातिनी बिरामी परेकी छिन्। अपांग नातिनीलाई ज्वरोले सताएको छ। न्यानो आश्रम छैन। दिनभरको चर्को गर्मी अनि राती त्रिपाल भित्र छिर्ने हावाले उनकी नातीनीको स्वास्थ्यलाई खसर पारिसकेको छ। ‘नातिनी बिरामी छे, ज्वरो आइरहेको छ,’ लक्ष्मीले भनिन्, ‘राति बारीमा त्रिपालभित्र सुताउँछु, त्रिपालभित्र हावाले हान्छ, हामी सबैको स्वास्थ्य बिग्रन थालिसकेको छ।’

साँझ पर्‍यो भने बारीमा त्रिपाल टाँगिन्छन्। दिउँसो हावाले सबै भताभुंग पारिदिन्छ। कतिपयका त्रिपालसमेत च्यातिइसकेका छन्। ‘दिउँसो हावाले त्रिपाल जति सबै उडाइदिन्छ, त्रिपालसमेत च्यातिइसकेको छ,’ उनले भनिन्, ‘च्यातिएको त्रिपाल स्याहारेर फेरि साँझमा बारीमा टाँग्छौं।’

परिवारका सदस्य बिरामी पर्न थाले। बासको टुंगो छैन। कतिन्जेल त्रिपालको ओतभित्र बस्ने भन्ने टुंगो छैन। कोही आएर घर बनाइदिए हुन्थ्यो भन्ने अपेक्षामा लक्ष्मी छिन्। ‘दाताहरू आउनु भएको छ, राहत दिएर जानुहुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म घर बनाइदिन्छम् भन्न कोही आउनुभएको छैन, हाम्रो त सबथोक जल्यो, हामीले घर बनाउन सक्ने कुरा भएन, कहिले को आएर घर बनाइदेला?’

बारीको बसाइ, सर्प बिच्छीको उस्तै जगजगीमा बसिरहेका छन् अग्निपीडित। जंगलको छेवैमा रहेको यो बस्तीमा सर्प बिच्छीको जगजगी अधिक रहन्छ। ‘राति सर्प बिच्छीले टोक्लान् भन्ने डर लाग्छ,’ लक्ष्मी भन्छिन्, ‘यो जगजगीले पनि रातभरि सुत्नै सकिन्न।’

त्रिपालको ओतभित्र सकस काटिरहेका पीडितहरूलाई तत्कालै गतिलो ओतको व्यवस्था नगरिएपछि झनै समस्या निम्तने खतरा छ। पानी परेको अवस्थामा ओत लाग्ने कतै ठाउँ छैन। बस्तीमा भएका घर जति सबै जलिसकेका छन्। ‘अझ अहिले पानी परेको छैन, पानी पर्‍यो भने झन् कहाँ गएर ओत लाग्ने होला?,’ लक्ष्मीले भनिन्।

यता जिल्ला प्रशासन कार्यालय पीडितहरूको बासस्थानको व्यवस्थापनका लागि आफूहरू लागि परेको बताउँछ। पहिलो चरणमा उनिहरूलाई राहत वितरण गरिएको र अब दोस्रो चरणमा अस्थायित आवास निर्माणको प्रकृयामा लागिने प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।

‘आवास निर्माणको काम तत्कालै हुने कुरा भएन, यसका पनि विधि प्रक्रिया हुन्छन्, ‘प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘यो सबै प्रक्रिया पूरा गरेर घर निर्माण गर्दासम्मको अवधि दुई/तीन महिना त लागि हाल्छ।’

उनले हाडबासका पीडितहरूका लागि अस्थायी आवास निर्माण अनविार्य  रहेको बताए। 

प्रकाशित: २१ वैशाख २०८१ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App