२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पबाट बच्ने अभ्यास

कक्षाकोठामा बसेर पढ्दै गर्दा भूकम्प आए कसरी जोगिने भनेर बुधबार भक्तपुरको एउटा स्कुलमा विद्यार्थीलाई अभ्यास गराइएको छ। २०७२ साल वैशाख १२ गते शनिबार आएको भूकम्पको सम्झनामा जिल्लाको एभरेस्ट स्कुल मिवाछें व्यासी, भक्तपुर–२ मा भूकम्पबाट सुरक्षित हुने उपायबारे विद्यार्थीलाई अभ्यास गराइएको थियो।

यसअनुसार स्कुलका एकजना सहयोगीले सिठी बजाएका थिए। सिठी बजाउन सुरु भएसँगै नजिकैका कक्षाकोठामा रहेका सबैजना विद्यार्थीहरू लहरै दौडेर कक्षाकोठाबाट बाहिर निस्केका थिए।

बाहिर स्कुलको खुला खेल मैदानमा पुगेपछि उनीहरूले टाउकोमा हात राखेर सबैले बसेर आआफूलाई सुरक्षित पारेका थिए। यो क्रम झन्डै १० मिनेट चलेको थियो। कक्षाका सबैजना विद्यार्थी निस्केर खेलमैदानमा सुरक्षित भएपछिसम्म यो अभ्यास चलेको थियो।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कक्षाकोठामा पढिराख्दा कुनै बेला भूकम्प आइहालेमा कसरी सुरक्षित हुने भनेर सिकाउन अभ्यास गराइएको जनाए। सुरक्षित जोनमा पुगेर आफू सुरक्षित कसरी हुने भनेर तरिका सिकाए भविष्यमा केही गरी भूकम्प आइहालेमा सुरक्षित पार्न विद्यार्थीलाई अभ्यास गराइएको उनले सुनाए।

स्कुलका खेलमैदान वरिपरि रहेका विभिन्न भवनहरूमा रहेका कक्षा ४ देखि १० सम्मका झन्डै एक हजार विद्यार्थी बाहिर आएर भूकम्पबाट सुरक्षित हुने अभ्यास गरेका थिए। यसका लागि विद्यार्थीलाई बाहिर सिठी बजेपछि भूकम्प आएको सम्झेर सुरक्षित हुने तरिका त्यसअघि नै कक्षाकक्षामा जानकारी गराइएको थियो। त्यसअनुसार सिठी बजेपछि सबैतिरका कक्षामा रहेका स्कुलका विद्यार्थी र शिक्षकहरू हतपत बाहिर निस्केर सुरक्षित बसेका थिए। ठुलो कक्षाका विद्यार्थीलाई मात्रै नभई ससाना कक्षाका बालबालिकादेखि कक्षा ४ सम्मका विद्यार्थीलाई पनि छुट्टै यस्तै अभ्यास गराइएको थियो।

प्रकाशित: १३ वैशाख २०८१ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App