‘भुस्याहा’ भनिने सडक कुकुरहरू गाडीले हिर्काएर घाइते भई सडकमै छटपटाइरहेका हुन्छन्। ती घाइते कुकुरलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याइन्छ। गाडीले हिर्काएर मृत्युवरण गरेका कुकुरहरूलाई सडकबाट उठाएर खोला किनारमा लगी सदगद गरी फूल रोपिइन्छ।
भोकाएर गल्लीहरूमा चिच्याइरहेका कुकुरलाई खानाको जोहो गरिन्छ। घाउचोट लागेर कष्ट झेलिरहेका बेवारिसे कुकुरलाई घरमै ल्याएर स्याहार गरिन्छ। आफ्नो उज्ज्वल भविष्य निर्माणमा भन्दा बेहसहारा कुकुर र जनावरको स्याहारमा जीवन समर्पित गर्ने उनी हुन्, विराटनगर महानगरपालिका-९ भानुटोलकी २३ वर्षीया एलिना प्रसाईं। उनलाई यस भेगमा ‘बेसहारा जनावरका भगवान्’ भनेर पनि चिनिन्छ।
सन् १९९८ जुलाई १६ मा आमा रमा प्रसाईं र बुवा उदयराज प्रसाईंकी कान्छी छोरीका रुपमा जन्मिएकी एलिना कुकुर देख्दा पहिला कोशौँ भाग्थिन्। आमा जनावरप्रेमी भएकाले उनको घरमा विरालो र कुकुर पहिलादेखि थियो। तर, उनी नजिक पर्दैनथिन्।
कुकुर देखेर कोशौँ टाढा भाग्ने एलिना अहिले कुकुरको पीडा देखेर दुःखी हुन्छिन्। कुकुर स्याहार्न पाउँदा खुसी हुन्छिन्। धेरैजसो सहपाठी अस्ट्रेलिया, अमेरिका, क्यानाडा, लन्डन गइरहेका बेला एलिना भने सबथोक छोडेर बेसहारा र बेजुबान जनावरको स्याहारका लागि जुटेकी छन्। उनी यसमै रमाएकी छिन्।
नयाँ दिल्लीबाट एमबिए इन इन्फरमेसन टेक्नोलोजी पढेकी एलिनाले काम नपाएर जनावर सेवामा मोडिएकी भने होइनन्। उनी अहिले पनि एक अन्तर्राष्ट्रिय संस्थामा बिजनेस सल्लाहकारको रुपमा कार्य गरिरहेकी छन्।
स्कुल कलेज विराटनगरमै पढेकी उनी उच्च शिक्षाका लागि नयाँ दिल्ली पुगिन्। त्यहाँ पढ्दै गर्दा कोभिडका कारण लकडाउन भयो। भोकाएका कुकुरलाई खानाको जोहो गर्नेहरू पनि उनले त्यहाँ देखिन्। दिल्लीको त्यो दृश्यबाट एलिना निकै प्रभावित भइन्। दिल्लीमा आफू बस्ने टोलका मान्छेहरूसँग मिलेर उनले पनि घाइते कुकुरको उपचारमा जुट्न थालिन्।
सन् २०२० को सुरुमा पहिलो बन्दाबन्दी सुरु हुँदा पढाइ बन्द भयो। उनी दिल्ली छाडेर विराटनगर फर्किइन्। दोस्रो लकडाउन अवधिमा सिंगो सहर थुनिएको थियो। सडकका कुकुरहरू भोकले छटपटाइरहेका थिए।
एलिनाको ज्यान मात्रै घरभित्र थुनिएको थियो, मन भने सडकमा भौंतारिरहेका कुकुरतिर थियो। भोकले कराइरहेका कुकुरको चिच्याहटले एलिनालाई धेरै दिन घरभित्र थुनिएर बस्न दिएन। लकडाउनकै बीचमा एक दिन एलिना सडकतिर लम्किइन्। जहाँ दर्जनौँ भोका र घाइते कुकुरहरूले उनलाई घेरे। कुकुरहरू सहारा खोज्दै आफूतिर झुम्मिएको देखेर एलिनाले घरमा भात पकाएर कुकुरलाई बाँड्दै हिँडिन्। छरछिमेकले ‘बरु मान्छेलाई ख्वाउनु नि, किन यी भुस्याहालाई पोस्नु परो’ पनि भने तर एलिना बेपरवाह यस कार्यलाई निरन्तरता दिइरहिन्।
एकदिन एलिना विराटनगरको महेन्द्रचोक आसपास कुकुरलाई भात बाँड्दै थिइन्। अचानक एउटा घाइते कुकुरमा उनको आँखा ठोक्कियो। कुकुरले समयमै उपचार नपाएर क्यान्सर भइसकेको रहेछ। आठ हजार खर्चेर उपचार गरेपश्चात् क्यान्सर पीडित कुकुरलाई उनले सडकमै लगेर छाडिदिइन्। र, यसलाई उनले फेसबुकमार्फत साझा गरेकी थिइन्।
यो कथा फेसबुकमा राखेपछि धेरै मान्छेको मन छोयो। भुस्याहा कुकुरलाई घरमा ल्याउँछे काम नपाएर फोहोरी कुकुर स्याहार्छे भनेर कुरा काट्ने अधिकांश मानिस नै उनका प्रशंसक बन्न थाले। यसपछि उनले गत जेठमा ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ नामक संस्था दर्ता गरेर कुकुरको हेरचाह र सुखदुःखका साथी बनिन्। उनलाई अहिले घाइते कुकुरको उपचारका लागि अनुरोधको ओइरो आउने गरेको छ। झापा, इलाम, सिरहा, सप्तरी लगायतका जिल्लाबाट घाइते कुकुर उपचारका लागि ल्याइदिन्छन्।
‘सुरुमा मायाले गरेका थियौं, पछि त कर्तव्यझैं भयो,’ एलिनाले सुनाइन्, ‘अहिलेसम्म करिब पाँच सय कुकुरको उपचार गरिसकेका छौं। करिब दुई सय सडकका कुकुरले घर पाइसकेका छन्। करिब ५० वटा कुकुर अझै हामीसँग उपचारमा छन्।
घाँटी काटिएको, गाडीको ठक्करले खुट्टा भाँचिएका, पक्षघात भएका, लुतोले ग्रस्त, ट्युमर बोकेका कुकुरलाई उपचार गरी स्वस्थ बनाउने एलिनाको दैनिकी बनेको छ। कुकुरका बच्चा हुर्काउन झनै गाह्रो काम हो।
सिरिन्जले वा मिक्स्चरमा पिसेको पातलो खाना खुवाउनुपर्ने हुन्छ। ‘कुकुरलाई पनि मान्छेलाई जत्तिकै रेखदेख चाहिन्छ,’ २५ वर्षीया एलिनाले अनुभव साटिन्, ‘चिसो–तातो, साह्राे- गिलो सबै कुरामा ध्यान पुर्याउनुपर्छ।’
सुरुआती दिनमा घाइते कुकुरलाई उनले घरमै राखेर उपचार गरिन्। तर, कुकुरको संख्या यसरी बढ्न थाल्यो कि घरले धान्नै सकेन। अन्ततः विराटनगरस्थित पुष्पलाल चोक नजिकैको भाडाघरलाई सेल्टर बनाएर कुकुरको उपचार गरिरहेकी छन्।
घरभाडा मासिक २० हजार तिर्छिन्। दुई पशु प्राविधिक र एक हेरालुसहित तीनजना तलबी कर्मचारी पनि खटिएका छन्। उनीहरूले घरमै होस्टेल पनि चलाएका छन्। त्यो आम्दानीको केही रकम कुकुरका लागि खर्च गर्ने गरेका छन्। ‘विभिन्न व्यक्तिहरूको सहयोग र परिवारबाटै प्राप्त पैसाले कुकुर स्याहारिरहेका छौं,’ एलिनाले भनिन, ‘घर भाडाको पनि आफैँले जोहो गरेर तिर्नुपर्छ।’
केही समयअघि ‘सय रुपैयाँ’ नामको अभियान चलाएर एक लाख ८० हजार उठ्यो। तर, त्यो पर्याप्त भएन। उनी सरकारी तहबाट सहयोग भए स्थायी रूपमै कुकुरको उपचारका लागि व्यवस्था गर्न सकिने बताउँछिन्।
उनले जनावर संरक्षणका लागि सेल्टर निर्माणको प्रारम्भिक काम समेत थालिसकेकी छिन्। विराटनगरको आइपीसी रोडनजिकै सेल्टर निर्माण सुरु भइसकेको छ। केही सहयोगी हातहरूले बाँस र जस्ता पाता सहयोग गरेका छन्। उनले वार्षिक एक लाख रुपैयाँ लिजमा सेल्टरका लागि जमिन लिएकी छन्।
पुष्पलाल चोकमा रहेको अस्थायी सेल्टर खाली गराउन वडा कार्यालयमा स्थानीयहरूले निवेदन दिएका छन्। स्थानीयको निवेदनपछि वडाले एलिनालाई यहाँबाट सेल्टर सार्न भन्यो। जसकारण उनी आइपीसी रोडमा सेल्टर निर्माण गर्दै छिन्। निर्माण पछि यहाँ कुकुरहरू सारिने एलिनाले बताइन्।
सानामा कुकुर बिराला भनेपछि छिःछिः र दूरदूर गर्ने एलिनाको कुकुरमोह यसरी झ्याङ्गियो कि अब उनलाई मान्छेभन्दा बढी कुकुरकै माया लाग्न थालेको छ। ‘कुकुर वफादार त हुँदै हो, ज्यादै मायालु पनि हुने रैछ,’ एलिनाले काखको पप्पीलाई मुसार्दै थपिन्, ‘घाइते र बच्चा कुकुर देख्दा त मायाले भुतुक्कै भइहाल्छु।’
उनले कुकुरको हाउभाउ र भावभंगी पनि बुझ्न थालिसकेकी छन्। भोकतिर्खा लाग्दा, दिसापिसाब आउँदा अनि खुसी र पीडा महसुस भएका बेला कुकुरले देखाउने स्वभावबारे उनी परिचित भइसकेकी छन्।
एलिनाका दामलीहरू प्रायः अमेरिका, अस्ट्रेलियातिर लागिसके। तर, उनीहरूलाई विदेश मोहभन्दा बढी कुकुरमोह छ। कुकुरको स्याहारसुसारमा खटिरहेका उनीहरू संस्थालाई स्थापित गरेपछि बल्ल जागिर सुरु गर्ने योजनामा छन्। ‘हामीले जागिर गरेनौं, पैसा कमाएनौं भन्ने बाआमाले भित्री गुनासो छ,’ एलिनाले सुनाइन्, ‘तर, उहाँहरूले हाम्रो कामलाई असहयोग चाहिँ गर्नुभएको छैन।’
सरकारी वा अन्य सहयोग जुट्न सके सेल्टर हाउसलाई कुकुरको मात्रै नभई सडकमा अलपत्र, घाइते सबै खाले जनावरहरूको साझा थलो बनाउने योजना उनको छ। कुकुरलगायत सबै सडक पशुहरू समयमा स्वास्थ्य उपचार नपाएर मरिरहेका दृष्टान्त धेरै छन्। उनीसँग त्यस्ता पशुलाई उपचार गर्ने देशकै मुख्य थलो बनाउने हुटहुटी छ, तर पैसाको भने अभाव छ। तर, जहाँ इच्छा त्यहाँ उपाय भन्ने सोचका साथ अघि बढिरहेकी एलिना आफ्नो सपना पूरा हुनेमा विश्वास्त छिन्।
अधिकांशको घरमा केही न केही पाल्तु जनावर त हुन्छ नै। तिनलाई हामी कस्तो व्यवहार गरिरहेका छौं ? हाम्रो व्यवहारका कारण जनावरको दृष्टिकोणमा हामी मान्छेको छवि कस्तो बनिरहेको होला ? यसबारेमा प्रायः सोचिँदैन।
सोच्न आवश्यक पनि ठानिएको हुँदैन। जनावरले मान्छेको जस्तो विचार व्यक्त गर्ने पनि त होइन। जनावर त हो नि भनेर यदि तुच्छ व्यवहार गरिरहनुभएको छ भने एलिनाको अभियानले झस्काउने छ। उनको अभियान हेरेपछि भने जनावरप्रतिको परम्परागत धारणामा परिवर्तन आउने छ।
जनावरको मानवप्रति हुने आत्मीय सम्बन्ध र ती जनावरहरूप्रतिको मानव सोचलाई समग्र रूपमा एलिनाको अभियानले चित्रण गर्छ। जनावरप्रति एलिनाको र एलिनाप्रति जनावरको आत्मीय सम्बन्धले मानवता हराउँदै गएको समाजलाई समेत झस्काउँछ।
महँगो कुकुर घरमा पाल्नुभन्दा सडकका कुकुरलाई घरमा भित्र्याउने वातावरण बन्नुपर्ने एलिनाको भनाइ छ। माया पाए ती कुकुर पनि लोभलाग्ने बन्न सक्छन्। घरमा पालिएका महँगा कुकुर रोगी हुँदा सडकमा फालिन्छन्।
‘हामीले उद्धार गरी ल्याएर उपचार र स्याहार गरिसकेपछि माग्न आउने थुप्रै घटना छन्, उनी भन्छिन्,‘जनावर मायाको भोको हुन्छन्। हामीले उनीहरूलाई माया दिए उनीहरू वफादार बनेर देखाउँछन्।’
‘मानवता हराउँदै गएको समाजमा मानवता फर्काउने हाम्रो अभियान हो,’ एलिना भन्छिन्, ‘आवाजविहीन जनावरको सहारा बन्न पाउँदाको जस्तो खुसी जति सुकै पैसा कमाए पनि पाउन मुस्किल छ। बेसहारा जनावरलाई नयाँ जीवन दिन पाउँदा सन्तुष्टिको अनुभूति हुन्छ।’
प्रकाशित: ११ वैशाख २०८१ ०७:३४ मंगलबार