१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनजित राईको हत्या आरोपमा ३ युवा पक्राउ

छुरा प्रहार गरी व्यक्ति हत्या गरेको आरोपमा खोटाङका ३ युवा सोमबार बिहान पक्राउ परेका छन्। नयाँ वर्षको रात खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३० वर्षीय धनजित राईको हत्या आरोपमा सोही ठाउँका ३ युवा पक्राउ परेका हुन्।

प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी ११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काका अनुसार वैशाख १ गते राति ८ः०० बजे जस्तो समयमा सामान्य विवाद भिडन्तमा परिणत हुँदा धनजितमाथि उनीहरुले छुरा प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा प्रहार भएको छुराका कारण राईको घटनास्थलमै निधन भएको खड्काले बताए।

आक्रमणबाट राई बेहोस भएपछि उनीहरु सबै त्यहाँबाट भागेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ खटेको जिल्ला प्रहरीको टोली र नजिकको प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले खोज तलास थालेको थियो। खोजीकै क्रममा घट्नामा संलग्नहरू तीनै जना सोमबार बिहान पक्राउ परेका हुन्। घट्नालगत्तै भागेका उनीहरु दिक्तेल रुपाकोट मझुवागढी १० मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

डिएसपी खड्काले सामान्य कुराकै विवादमा धनजितको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार विकास राईले गाउँमा आफ्नो कुरा काटेको भन्दै स्थानीय ३० वर्षीय भीम बस्नेतमाथि कुटपिट गरेपछि छुट्याउन भन्दै धनजित घटनास्थल पुगेका थिए। तर, अरूको विषयमा चासो दिएको भन्दै उल्टै राईमाथि छुरा प्रहार गर्दा उनको निधन हुन पुगेको अनुसन्धानले देखाएको डिएसपी खड्काले बताए।

‘सुरुमा भीम बस्नेतमाथि कुटपिट भएपछि बस्नेतकी पत्नीले बचाउ गर्न छिमेकी गुहारेको देखिन्छ’ डिएसपी खड्काले भने ‘गुहार मागेपछि मितेरी साइनो पर्ने धनजित राई विवाद मिलाउन भन्दै घटनास्थल पुगेर सम्झाउन खोज्दा उनीमाथि नै छुरा प्रहार भएको देखियो।’ वास्तविक तत्यतथ्य विवरण भने अनुसन्धानपछि मात्र खुल्ने डिएसपी खड्काले बताए।

हत्या आरोपमा पक्राउ तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ वैशाख २०८१ १७:३० सोमबार

धनजित राईको हत्या