१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मनले चिताएको पुग्ने तीर्थस्थल भुलभुला

कास्कीको पोखरा महानगरपालिका– ३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो।

पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन्। मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय संघसंस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ।

विगतमा सामान्य कुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रस्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा आठ लाख ५० हजारको लागतमा पूजारी आवाससहितको ट्रस्ट भवन निर्माण गरिसकेको छ।

अघिल्लो आवमा मन्दिर परिसरमा १० लाख लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए। पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित पोखरीलाई व्यवस्थित गर्न वडा कार्यालयले आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शंकर अधिकारीले बताए।

प्राचीनकालदेखि नै भुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताए।

प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रूपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन्।  

प्रत्येक वर्ष वैशाख संक्रान्तिका दिनमा र चैते दसैंमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एकपटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन्। मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन्।

मन्दिरपरिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताए। जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकाले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रूपमा लिने गरिएको उनको तर्क छ।

स्थानीयवासीका अनुसार जलकुण्डनजिकै पहिले खनियाँको रुख थियो। रुखनजिकै सानो ढुङ्गे मन्दिर थियो। १८÷१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ।

प्रत्येक वर्षको वैशाख संक्रान्तिमा प्राचीनकालदेखि मन्दिरपरिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन्।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमुना युवा क्लब, भुलभुला युवा क्लबलगायतका संघसंस्थाले सक्रियता देखाएका छन्। मन्दिरसँगै नजिकै रहेको डुडेको रहलाई पनि पर्यटकीय रूपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताए।

उनका अनुसार प्राकृतिक झरनाका रूपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका– ३३ को कार्यालयबाट चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्।

‘धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ’, उनले भने, ‘यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ।’ –रासस

प्रकाशित: ३ वैशाख २०८१ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App