२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पातरासीका आमाबुबाले हाई अल्टिच्युडलाई मन फुकाएर गरे जग्गा दान

रनबहादुर महतारा यतिखेर जुम्लेलीका मनमनमा बस्न सफल भएका छन्। शुक्रबार खलंगामा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दोसल्ला ओढाउँदै हार्दिक आभार प्रकट गर्दा महातारा पनि खुसी देखिए।

पातरासी गाउँपालिका– ३ लोटचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरका लागि एउटा ९ सय ५० र अर्को २ हजार २ सय २० वर्गमिटरको जग्जा दान गर्दा यस्तो खुसी छाएको हो। पाँच छोराका पितासमेत रहेका महताराले हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापनाका लागि सरकारलाई मन फुकाएर जग्गा दान गरे।

जग्गा दान दिने २१ जनामध्ये महातारा एक हुन्। उनी भन्छन्, ‘विश्वको अग्लो स्थानमा हुने खेलको ठूलो महत्व हुन्छ। हाम्रा घरआँगनमा आएर विभिन्न खेल्ने केटाकेटीले हाम्रो गाउँ र सिंगो देशलाई चिनाउँदा यसको महत्व थाहा पाएपछि जग्गा दान गरेको हुँ। अब हाम्रा भाइछोराले आगामी दिनमा खेल क्षेत्रमा अझ प्रगति गर्नेछन्। यसकारणले पनि जग्गा दान गर्न मन फुकाएको हुँ।’

अर्का दाता हुन् कालिदास थापा। ७० वर्षका उनले चार हल बराबर (२ दुई हजार ५ सय वर्ग मिटर) जग्गा दान गरे। छोरानातिको भविष्य बनोस् भन्ने भाव राखेर सरकारलाई जग्गा दान गरेको हुँ’, उनले भने, ‘राज्यले करोडौं खर्च गरेर खेल मैदान बनाउँदै छ, त्यसमा हामीले पनि राजीखुसी भएर जग्गा दिएका हौं।’

पातरासी– ३ का ऐराम रावत ४९ वर्षका भए। उनका तीन भाइ छोरा छन्। उनले दुई हजार वर्ग मिटर जग्गा दान गरेका छन्। उनी भन्छन्, ‘जग्गाभन्दा छोराको भविष्य ठूलो कुरा हो। यसकारणले पनि जग्गा दान गरेको हुँ। विश्वकै गौरवको विषय रहेको हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बन्यो भने यहाँ खेल गतिविधि भइरहन्छ। खेलमा सहभागी बन्नका लागि यहाँ विश्वभरका मानिस हाम्रो भूमिमा आउँछन् रकम खर्च गर्छन्। हाम्रो उत्पादन बिक्री हुन्छ।’

पातरासी– ३ का चाम्रे बोहोरा ७७ वर्षका भए। जग्गा दिन ढिलाइ भयो भने हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने सम्भावना टाढिँदै जाने उनले बताए। उनले भने, ‘म एकसट्ठी वर्ष भएँ। ढिलोचाँडो हामी बितेर जान्छौं। यो सेन्टर बन्यो भने पुस्तौंपुस्ता रहिरहन्छ। त्यसले हाम्रा सन्ततिका लागि खेल क्षेत्रमा प्रगति गराउँछ।’

मालिका मावि लोटचौरका प्रधानाध्यापक चुँडाराज न्यौपानेले स्थानीयले २४ हजार वर्गमिटर जग्गा दान गरेर ऐतिहासिक कदम चालेको बताए। उनले भने, यसको जति प्रशंसा गर्दा पनि कम हुन्छ।’

युवा तथा खेलकुदमन्त्री श्रेष्ठ महतारा, रावत र बोहोराहरुले एकपछि अर्को गर्दै मन फुकाएर जग्गा दान गरेको देख्दा भावुक भए। उनले भने, ‘भूमाफियाले सरकारी र सार्वजनिक जग्गा हड्पेर हैरान पारेका छन्, यता जुम्ला पातरासीका आमाबुबाले विकासका लागि मन कति फराकिलो?’

जुम्लाका आमाबुबाले मन फुकाएर देशभरका भूमाफियाको कन्चटमा झापड हानेको मन्त्री श्रेष्ठले बताए। गिनिज बुक अफ वल्र्ड रेकर्डेट धावक हरि रोकायाको उदाहरण दिँदै उनले भने, ‘हरि रोकायाजतिको मान्छे यो देशमा सायदै होलान्। उहाँमा भएजतिकोे सरलता पनि सायदै मान्छेमा होला। त्यसैले उहाँको त्याग तपस्यालाई संस्थागत गर्न यो क्षेत्रमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्नुपर्छ।’

३१ करोडबराबर डीपीआर तयार भएको हाई अल्टिच्युडका लागि १० करोड रुपैयाँसम्म बजेट रातो किताबमा पार्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले जुम्ला रारा अल्ट्रा म्याराथनलाई राष्ट्रिय खेलकुदको क्यालेन्डरमा समावेश गर्ने प्रतिबद्धतासमेत गरे।

अब विश्वकै उत्कृष्ट हाई अल्टिच्युड ट्रेनिङ सेन्टर जुम्लाको पातरासीमा पनि बन्ने सांसद विनिता कठायतले बताइन्। उनले भनिन्, ‘अब यो विश्वका निम्ति आकर्षणको केन्द्र बन्ने छ। विश्वभरका मान्छेहरु ट्रेनिङ लिन यहाँ आउनेछन्। यसले हाम्रो जीवनस्तर सुधार गर्न मद्दत गर्ने छ। हाम्रा भाइबहिनी र छोराछोरीले विदेश जानुपर्ने छैन।’

हालसम्म विश्वका ६ वटा ठाउँमा हाइअल्टिच्युड ट्रेडिङ सेन्टर रहेका छन्।

प्रकाशित: १ वैशाख २०८१ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App