१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

ब्रिलियन्टद्वारा डा. गौरीशंकर लालदास सम्मानित

दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लालदासलाई चाबहिलस्थित ब्रिलियन्ट कलेजले सम्मान गरेको छ। शुक्रबार ब्रिलियन्ट कलेजकै सभाहलमा कलेजका सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षता तथा पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. गौरीशंकर लालदासको जन्म शताब्दी वर्ष अवसरमा उनलाई सम्मान गरिएको हो।

कलेजका प्रिन्सिपल दुर्गाप्रसाद नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ‘युवासँग दिव्य शताब्दी पुरुष’ कार्यक्रम पनि गरिएको थियो। सम्मानित व्यक्तित्व डा. गौरीशंकरले आफ्नो जीवनका विभिन्न अनुभव सुनाउँदै वर्तमानमा असल शिक्षाको खाँचो रहेको धारणा राखे। शिक्षा जोसुकैबाट पनि लिन सकिने भन्दै उनले विद्यार्थीलाई अल्छी नगरी विद्या आर्जनमा जुट्न उत्प्रेरित गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री कोइरालाले १०० वर्षको जीवन भोगिसकेका डा. गौरीशंकर लालदासको सम्मान गरेर ब्रिलियन्ट कलेजले आफूलाई संस्कारयुक्त शिक्षा दिने संस्थाका रूपमा प्रमाणित गरेको बताए।

उनले लामो अनुभव प्राप्त गरेका अग्रज पुस्ताबाट प्रेरणा लिएर अघि बढे मात्र विद्यार्थी सफल बन्न सक्ने र त्यस्ता सफल व्यक्तिले मात्र देशका लागि योगदान पुर्‍याउन सक्ने विचार राखे।

कार्यक्रमको समापन गर्दै कलेज सञ्चालक समिति अध्यक्ष साउदले डा. गौरीशंकर लालदासलाई सम्मान गर्न पाउनु गौरवको कुरा रहेको बताए।

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडा, समाजसेवी मोहनमणि आचार्यलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।

प्रकाशित: १ वैशाख २०८१ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App