१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सुरु भयो चैती छठ

फाइल तस्बिर

जनकपुरसहित तराई क्षेत्रमा चैती छठको तयारी सुरु भएको छ। कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने छठको तयारी तराई मधेशका जिल्लाहरूमा सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमी र षष्ठीमा मनाइने छठ जस्तै चैती छठमा पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज व्रतालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन्।

आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ।

छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास, जनकपुरको गंगा सागर, धनुष क्षेत्रलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधना गरी मनाइन्छ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो।  पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर भोजन गर्छन्। पर्वको दोस्रो दिन भोलि शनिबार खर्ना मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाईन ( नुन नहालेको) खानेकुरा खाने चलन छ।

त्यस्तै षष्ठीका दिन पर्सी आइतवार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन्। षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य  अर्पण गर्ने परम्परा छ। त्यसको भोलिपल्ट सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याइ  सूर्यलाई अघ्र्य दिएर छठसम्पन्न गर्ने रीति छ।

प्रकाशित: ३० चैत्र २०८० १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App