२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

निर्माणको अन्तिम चरणमा पुगेको कटारी नगरपालिका भवन। तस्बिर ः महेश्वर÷नागरिक

उदयपुरको दोस्रो ठूलो नगरपालिका कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। कटारी नगरपालिका– ४ बसापार्कस्थित नगरको आफ्नै स्वामित्वको जमिनमा निर्माणाधीन अत्याधुनिक बहुतले, बहुकोठे कटारी नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको हो।  

नगरपालिकाका सबइन्जिनियर ओमप्रसाद मिश्रका अनुसार २०७९ माघ २० गते सम्झौता गरेर सोही वर्ष फागुन २ गतेदेखि निर्माण सुरु भएको भवनमा ६४ कोठा छन्। साढे ३ तले निर्माणको जिम्मा भुस्नाम्छा–प्राइम–बेलटार जेबी काठमाडौंले लिएको छ।

भवन निर्माणको भौतिक कार्य सबै सकिएको र अब फिनिसिङ, झ्याल–ढोका, विद्युतीकरण, रङरोगन र फर्निसिङ मात्र बाँकी रहेको प्राविधिक शाखाका सबइन्जिनियर ओमप्रसाद मिश्रले बताए।  

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी–सिन्धुली खण्डले छोएको भवन सकिन लाग्दै गर्दा कार्यालयअगाडि पार्किङ निर्माणको काम सुरु भएको छ। सडक दक्षिणतर्फ तावा खोलाकिनारको झन्डै १० कट्ठा जमिनलाई नगरपालिकाको पार्किङस्थल बनाउने काम भइरहेको मिश्रले बताए।

भवननजिकै बसपार्क रहेको तथा बाँकी जमिनमा अन्य संरचना बनाउनुपर्ने भएकाले खोलातर्फको जमिनमा पार्किङ बनाउने गरी संरचना बनाउन थालिएको नगरपालिकाले जनाएको छ।  

२०८१ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको भवनको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको मिश्रले बताए। भवन मूल्य अभिवृद्धि करसहित ६ करोड ३७ लाख ४६ हजार ८१९ रूपैयाँको लागतमा ठेक्का सम्झौता भएको हो। अझै ३ महिना सम्झौता अवधि बाँकी रहेकाले भवन निर्माणको काम समयमै सम्पन्न हुने अपेक्षा नगरपालिकाले लिएको छ।  

संघीय सरकारको ५० प्रतिशत अनुदानमा बाँकी ५० प्रतिशत नगरपालिकाको बजेटबाट निर्माणाधीन भवनको भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि भइरहेको लेखा अधिकृत माधवराज जोशीले बताएका छन्। उनका अनुसार निर्माण व्यवसायीले भवन निर्माणको पाँचौं रनिङ बिलसम्मको भुक्तानी लिइसकेको छ।

पटकपटक गरी ४ करोड ७९ लाख ८७ हजार २२ रूपैयाँ भुक्तानी भइसकेको र सम्झौताअनुसार कुल लागतमध्ये बाँकी १ करोड २ लाख ३२ हजार ४ सय रूपैयाँ भने काम सम्पन्न भएपछि भुक्तानी हुने जोशीले बताए।

नयाँ भवन अभावमा नगरपालिका कार्यालय सञ्चालन गर्न निकै कठिनाइ भोग्दै आउनु परेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए। उनका अनुसार पुरानो र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा नगर जनप्रतिनिधि कर्मचारी र सेवाग्राही तीनै पक्षलाई सास्ती भोग्नुपरेको छ।

धेरै जनसंख्या र भौगोलिक क्षेत्र पनि ठुलो भएको कटारी नगर कार्यालय साविक कटारी गाविसको साँघुरो भवनमा राखेर सञ्चालन गर्नुपर्दा समस्या भई बरन्डा र कौसीसमेत घेरबार गरेर निकालिएको कोठामा विषयगत शाखा सञ्चालन गर्नुपरेको भट्टराईले बताए। बैठक कक्ष र राजस्वलगायत केही विषयगत शाखा सञ्चालन गर्न थप दुईवटा टहरा बनाइएको छ।

कटारी नगरापलिका २०७१ सालमा पहिलोपटक साविक कटारी र त्रिवेणी गाउँ विकास समितिलाई समायोजन गरी गठन गरिएको थियो। २०६३ मा संघीयता स्थापना भएसँगै स्थानीय तह पुनःसंरचनाको क्रममा २०७३ मा दोस्रोपटक भौगोलिक क्षेत्र विस्तार गर्दै १४ वडाको नगरपालिका पुनर्गठन भएको हो।

साविकका गाविस सिरिसे, लेखानी, हर्देनी, मयंखु, लिम्पाटार, रिस्कु र सोरुङछबिसे समेट्दा जिल्लाकै दोस्रो ठूलो भूगोल र जनसंख्या भएको नगरपालिका बन्न पुगेको छ।

प्रकाशित: २८ चैत्र २०८० १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App