२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेशम चौधरीको फैसलासमेत अध्ययन गरिने

सर्वोच्च अदालतले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा वैधानिकता नदिनुको कारण निर्वाचन आयोगसँग सोध्दै यस अघिको कर्तव्य ज्यान ठहर भएको फैसलाको मिसिलसमेत हेर्ने आदेश गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले शुक्रबारका लागि पेशी तोक्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो।

सर्वोच्चले निर्वाचन आयोगको फागुन २४ मा भएको निर्णय र त्यससँग सम्बन्धित कागजात भएको सक्कल फाइलसमेत मगाउने आदेश गरेको छ। सर्वोच्चले २०८० जेठ २ मा रेशम चौधरीको विषयमा सर्वोच्च अदालतबाट भएको फैसलाको मिसिलसमेत पेश गर्न भनेको छ। चौधरीलाई अदालतले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा ठहर भएको मिसिल मागेको हो।

चौधरी टीकापुर घटनामा मुख्य दोषी ठहर भएका व्यक्ति हुन्। टीकापुर घटना भनेको २०७२ साल भदौ ७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलन भएको थियो। त्यस आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। त्यस घटनामा मुख्य भूमिका खेलेको भन्दै रेशमविरुद्ध अदालतमा मुद्दा ठहर भई फैसला भएको थियो। सर्वोच्च अदालतलेसमेत जिल्ला, उच्च अदालतको निर्णय केही सदर गर्दै रेशमलाई दोषी ठहर गरेको थियो।

गत जेठमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टीकापुर घटनाको तल्लो अदालतका फैसलामा केही उल्टी गर्दै रेशमलगायतलाई जन्मकैद हुने ठहर गरेको थियो। सर्वोच्च अदालतले घटनामा संलग्न भनिएका दुई जनालाई सफाइ दिएको थियो।

रेशम चौधरी २०७४ साल फागुनदेखि डिल्लीबजार सदर जेलमा बसेका थिए। उनलाई २०८० जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारी सरकारले कैद मिनाहा गरिदिएको थियो। जिल्ला र उच्च अदालतको फैसला अनुसार चौधरी आगामी २०९४ साल फागुन १३ सम्म थुनामा रहनुपर्ने थियो। तर, उनलाई राजनीतिक सौदाबाजीका लागि सरकारको प्रस्तावमा राष्ट्रपतिबाट कैद मिनाहा गरिएको थियो। त्यसपछि उनी जेलबाट छुटेपछि नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका थिए।

फौजदारी मुद्दामा दोषी भैसकेको उनलाई निर्वाचन आयोगले अध्यक्ष हुने योग्यता नरहेको भन्दै बदर गरिदिएको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए। सर्वोच्चले चौधरीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेकी छिन्। पछिल्लो समयमा पार्टीमा पति पत्नीबिच एकमत नहुँदा विवादसमेत बढेको छ। 

प्रकाशित: २७ चैत्र २०८० १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App