२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा एक हप्तामा पाँच ठाउँमा आगलागी

आगलागी नियन्त्रणको अभ्यास सिकाउँदै दमकलका अधिकारीहरू। तस्बिर: नागरिक

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ तौडोल छाप सामुदायिक वनमा आइतबार साँझ आगलागी भयो। त्यसको अघिल्लो दिन अर्थात् चैत २४ गते जिल्लाको चाँगुनारायण नगरपालिका–४ पौवास्थित भक्त कासिछ्वाको पाखोमा आगलागी हुँदा बारुणयन्त्र समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भयो। यसअघि चैत २२ गते पनि जिल्लाको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित सावित्री कुवँरको बाँसघारीमा आगलागी हुँदा बोटबिरुवा जलेर सामान्य क्षति भएको थियो।

पछिल्लो एक हप्तामा भक्तपुरमा पाँच दिन पाँच ठाउँमा आगलागी भएको र दमकलको सहायताले निभाउन सफल भएको जुद्ध वारुणयन्त्र कार्यालय दूधपाटी भक्तपुरले जनाएको छ।

‘यसअघि चैत २१ गते राति चाँगुनारायण नगरपालिका–९ गोठालेचौरस्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तार जलेर सामान्य क्षति भएको छ। यसअघि चैत १९ गते जिल्लाको सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा सामान्य क्षेति भएको थियो भने बारुणयन्त्रले आगलागी नियन्त्रण गरेको थियो।’

तीन बजेर ५९ मिनेटमा दमकल आगो निभाउन निस्केको र चार बजेर २० मिनेटमा आगो निभाएर दमकल कार्यालय भक्तपुर दूधपाटी पुगेको कार्यालयले राखेको तथ्यांकमा उल्लेख छ।

डिभिजन बन कार्यालय सानोठिमी भक्तपुरका प्रमुख विश्व कोइराला यो मौसम आगलागीको मौसम भएकोले आगलागीका घटना बढी हुने गरेको बताउँंछन्।

‘गर्मी, सुख्खा यी महिनामा विभिन्न कारणले आगलागीका घटना बढी हुन्छन्,’ उनले भने, ‘गर्मी भएर सुख्खा भएका कारण वढी आगलागीका घटना बढ्ने गरेको हो ।’ त्यसमध्येमा पनि वनमा बढी आगलागी हुने उनले बताए।

कार्यालयले जनाएअनुसार जिल्लामा झण्डै २० प्रतिशत भूभाग वनजंगलको छ। जिल्लामा भक्तपुर, मध्यपुर थिमि नगरपालिका क्षेत्र घनावस्ती रहिसकेकोले यहाँं थोरै मात्रै बनक्षेत्र छन् भने सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा बढी वनजंगल क्षेत्र छन्।

डढेलो र आगलागीका घटनाको पूर्वतयारीका साथै नियन्त्रण कार्य, क्षतिको आँकलनलगायतमा कुनै वैज्ञानिक व्यवस्था छैन। नेपालमा आगलागी र वन डढेलोबाट भएको क्षतिको अध्ययन, अनुसन्धान र त्यसको मूल्यांकन गर्ने, नियन्त्रण र रोकथामका लागि प्राविधिक ज्ञान हस्तान्तरण गर्ने उचित बन्दोवस्त पनि छैन।

नेपालमा आगलागी साथै डढेलो नियन्त्रण र त्यसको क्षतिको मूल्यांकन परम्परागत रूपमा हुँदै आएको छ। त्यसलाई अन्तर्राष्ट्रिय निकायले नमान्ने अवस्था छ।

आगलागी र डढेलोका घटना बर्सेनी बढ्दा मानवीय, भौतिक साथै पर्यावरणीय नोक्सान पुग्ने गरे पनि पूर्वतयारी र नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन। २०७९ चैत दोस्रो सातादेखि २०८० चैत्र दोस्रो साताभित्र एक वर्षको अवधिमा डढेलो र आगलागीबाट एक सय १० जनाको ज्यान गएको र साढे दुई अर्ब रूपैयाँको भौतिक नोक्सानी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। देशैभरि पछिल्लो एक हप्ताभित्र एक सय ७७ भन्दा बढी ठाउँमा आगलागी भएको तथ्यांक छ।

प्रकाशित: २७ चैत्र २०८० ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App