२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ। पटकपटक अनुगमन गर्दा पनि अटेर गरेपछि केही व्यापारीमाथि कारबाही गरिएको कार्यालयका अधिकृत पंकज दाहालले बताए।

चन्दननाथ नगरपालिका– ५ कालेखोली लाइनका १७ वटामध्ये केही  पसललाई कारबाहीस्वरुप ७ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। आउँदै गरेको नयाँ वर्षलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइएको दाहालको भनाइ छ। ‘पटकपटक अनुगमन गर्दा पनि अटेरी बढ्न थालेकाले कारबाही गरिएको हो’, उनले भने्, ‘विगतमा दिइएको चेतावनीप्रति अटेरी गरेको पाइयो।’

कारबाहीमा पर्नेमा खुला रुपमा सामग्री बिक्री वितरण गर्ने, लेबल नभएका, म्याद गुज्रेका र बिल बिजक नभएका सामग्री बिक्री गर्नेहरू रहेका छन्। अस्मिता जनरल स्टोरलगायतलाई ७ हजारका दरले जरिवाना गरिएको छ।

अनुगमनका क्रममा कतिपय व्यवसायीलाई सुझावसहित मापदण्ड पालना गर्न निर्देशन दिइएको उनले बताए। सुझाव तथा निर्देशन पालना गर्न अटेर गर्नेलाई उपभोक्ता हित संरक्षण ऐन २०७७ को दफा ३९ अनुसार कारबाही हुने छ।  

अनुगमन गर्दा प्याकेजिङ नभएको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको, खाद्यवस्तु खुला रुपमा बेचेको तथा तौलसमेत कम पाइएको आन्तरिक राजस्व कार्यालय जुम्लाका नासु मदन उपाध्यायले बताए। उनका अनुसार १३ हजार ४ सय ३० रुपैयाँ बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ।

पौवा हस्पिटालिटीबाट लेबल नराखेको ३ केजी चाउमिन, कैलाश चाउमिन उद्योगबाट ३५ केजी चाउमिन, मानुसी खाद्य सप्लायर्सबाट चक्लेट, चिया, चिउरा, भुजा, मिक्स मसला, मोर्टिन, बिस्कुट र साबुन, न्यु प्रकृति जनरल स्टोरबाट तरकारी र फलफूलदेखि चाउचाउ २५ प्याकेट, थकाली भान्सा घर एन्ड रेस्टुरेन्टबाट मसला ३०, अस्मिता जनरल स्टोरबाट पापड, कोक र जेनिसा खाद्य स्टोरबाट धुलो खुर्सानी जफत गरिएको थियो।

बरामद गरिएका सामान प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय, पत्रकार, उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय र प्रशासनको रोहबरमा नष्ट गरिएको अनुगमन समितिले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको संयोजकत्व र जिल्ला प्रशासनको समन्वयमा अनुगमन गरिएको थियो।

उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष दिलबहादुर रोकायाका अनुसार अनुगमन चाडपर्वको समयमा गर्ने गरिन्छ। ‘यो सकारात्मक पक्ष हो’, उनले भने, ‘चाडपर्वका समयमा उपभोक्तालाई ठगिन जोगाउन, अखाद्य वस्तु बिक्री वितरण रोक्न र व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको हो।’

प्रकाशित: २६ चैत्र २०८० १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App