२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरको विस्का जात्रा: भोलि पूजा, पर्सिबाट जात्रा सुरु

यस वर्षको विस्का जात्राको पूजा भोलि सोमबारदेखि सुरु हुने भएको छ भने औपचारिक रुपमा जात्रा पर्सि  मंगलबारदेखि सुरु हुने भएको छ।

गुठी संस्थान शाखा कार्यालय भक्तपुर विस्का ९विस्केट० जात्रा सम्बन्धी कार्य तालिका अनुसार भोलि सोमबार पूजा सामाग्री सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुर सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्य विनायक भक्तपुर भित्राइने छ।

यसका लागि खड्ग वाक्ने एक जना, छाता ओढाउने व्यक्ति एक जना, सुकुन्दा बोक्ने व्यक्ति एक जना र पूजा सामान वाक्ने आवश्यक कर्मचारी र बाजा बजाउने कुस्लेहरु सहभागी हुने छन्।

जात्राका औपचारिक सुरुवात भने मंगलबार चैत २७ गते भैरबनाथको रथ तानेर सुरु हुने छ। यस दिन बिहान ५ बजे भैरबनाथको नित्य पूजा गर्ने, ६ बजेदेखि आठ बजेसम्म भैरबनाथको पूजा गर्ने लगायतका निरन्तरको पूजापछि साँझ तीन बजेबाट भैरबनाथको रथ तान्ने सुरु भएर जात्रा सुरु हुनेछ। रथ तानेर साँझ ५ बजेभित्र रथलाई त्यस दिनको गन्तव्य स्थल गःहिटीमा पुर्‍याउने कार्य तालिका सार्वजनिक भएको हो।

प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि (यो वर्ष चैत २७ गते) भैरबनाथको रथ तानेर भक्तपुरको विस्का जात्रा सुरु हुन्छ। भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरको अगाडि राखेर काठैकाठले बनाएको तीन तल्ले भैरबनाथको रथलाई डोरीको सहायताले तानेर आठ दिन नौ रातसम्म चल्ने जात्रा सुरु हुने गर्दछ। जात्रा वैशाख ५ गते यही रथ तानेर समापन हुने गर्दछ।

प्यागोडा शैलीमा बनाइरहेको भैरबनाथको रथलाई दुवै साइटमा डोरी राखेर तान्ने गरिन्छ। पहिलो दिनको रथ तान्ने प्रक्रिया द्यो क्व विज्याइजु (देवता तल सवारी हुने) भनेर भनिन्छ। यो दिन भक्तपुर नगरको ठिक बिच भागमा रहेको पाँंचतल्ले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइटमा तानेर लाने गरिन्छ। सयौँ युवाको सहभागितामा ६ वटा मोटामोटा डोरीको सहायताले रथलाई तान्ने गरिन्छ। रथलाई तान्ने क्रममा कहीकतै ठक्कर खाएमा फर्काउनु पनि पर्ने हुनसक्ने भएकोले दुवैतिर डोरी राखेर रथलाई तानिन्छ। तर जुन दिन जुनतर्फ लाने हो, त्योतर्फ ६ वटा र अर्कोतिर चार वटा मात्रै डोरी राखेर तान्ने गरिन्छ। नगरभरि हजारौँको सहभागितामा हुने यो जात्रा विस्का जात्राको मुख्य आकर्षण पनि हो।

गुठी संस्थान शाखा कार्यालय भक्तपुरकी प्रमुख खिमा ओलीले जात्रालाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्न दिउँसै रथ तानेर विसर्जन गर्ने योजना बनाएको बताइन्। त्यस कारण रथलाई रात नपर्दै सकाउने योजना बनाएको उनले बताइन्।

भैरबनाथको रथ तानेर सुरु हुने चैत २७ गतेबाट सुरु हुने यो जात्रा बैशाख ५ गते यही भैरबनाथको रथ तानेर समापन हुन्छ। यो बिचमा वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उठाउनु र बैशाख १ गते ढाल्नु जात्राको अर्को मुख्य आकर्षण हो।

प्रकाशित: २५ चैत्र २०८० १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App