१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा मार्सी धानको बिउ राख्दै विशुवा पर्व मनाइयो

जुम्लाका स्थानीय धानको बिउ बेर्नामा राख्दै ।

जुम्लाका किसानले मार्सी धानको बिउ बेर्नामा राखेका छन्। जुम्लामा चैत महिनालाई मार्सी धानको बिउ राख्ने विशेष महिनाको रुपमा लिइने गरिन्छ।

जुम्ली किसानले कालिमार्सी धानको बिउ राख्दै आज विशुवा पर्व समेत मनाएका छन्। चैत २० गते अर्थात् विशुवा पर्वको दिन जुम्लीहरूले कालिमार्सी धानको बिउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय रमानन्द आचार्यले बताए। 

'विक्रम संवत ११९८ सालदेखि चन्दननाथ वावा र लछालकृति पैकलाले कालिमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विशुवा पर्व मनाउने चलन छ‚’ उनले भने, ‘परम्परादेखि नै बाजा बजाएर कालिमार्सी धानलाई ब्याडमा छर्ने गरिँदै आएको छ।’

चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका स्थानीय कृषक देवीप्रसाद सिम्खाडा मार्सी धानको उत्पादन कम भएपनि परम्परा जोगाइराख्न बेर्ना  छर्ने तयारी गरेको बताउँछन्।

उनले भने‚ ‘धान खेतीबाट धेरै दुःख छ। लगानीअनुसारको उत्पादन हुँदैन। पुर्खाले गरिआएको धान खेती जगेर्ना गर्नका लागि मात्रै भए पनि बिउ राखेका छौँ।

विगतमा सामूहिक रुपमा बोरामा धानको बिउ राखेर नजिकैको धारा वा कुलोमा भिजाउने चलन थियो पछिल्लो समयमा बिउ भिजाएको बोरा नै चोरी हुने र सिँचाइ अभावका कारण घरघरमा बिउ भिजाउन थालिएको उनले बताए।

चैत १२ गते भिजाएर राखेको धानको बिउ २० गते बेर्नामा बिउ छर्ने धानको क्यालेन्डर भएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

जुम्लामा धान खेतीको क्यालेन्डर चैत महिनाको १२ गतेबाट सुरु हुन्छ। जुम्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क छ। समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धान फल्छ।‘ चैतमा बेर्नामा राखिएको बिउलाई जेठ(असारमा खेतमा रोप्ने गरिन्छ‚’ उनले भने, ‘कार्तिक महिनामा धान काटेर घर भित्र्याएपछि धानको ६ महिने मार्सी धानको क्यालेन्डर सकिन्छ।‘

प्रकाशित: २० चैत्र २०८० १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App