१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

किताब बेच्दै सन्धिखर्क पुगे महाविर पुन

अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैंचा चोकमा माइकिङ गर्दै किताब बिक्री गरिरहेका डा. महावीर पुन। तस्बिर : नागरिक

सन्धिखर्कको शान्ति बगैंचा चोकमा एकाबिहानै भीडभाड थियो। माइकिङ भइरहेको थियो भने मानिसहरु किताब बोकेर यताउता हिंडिरहेका थिए। हेर्दा लाग्थ्यो– कुनै पुस्तकको विमोचन वा किताबको सेल लागेको छ।  

सर्वसाधारणले किताब हातमा छोपेर तस्बिर खिचाइरहेका थिए। पड्किने हात्तीछाप चप्पल, तल मैलिएको ट्र्याक, माथि धुलैधुलो टिसर्ट, ज्याकेट, शिरमा ढाकाटोपी, लामो फोहोर कपाल र झुस्स परेको दाह्री भएको व्यक्तिसँग झुम्मिएर तस्बिर खिचाइरहेका थिए। उनीसँग तस्बिर खिचाउन ठुलै भीड जम्मा भएको थियो। उनिप्रतिको मोह देख्दा लाग्थ्यो उनी कुनै चलचित्रका नायक हुन्, कुनै मोडल हुन् वा ठुलै सेलिब्रेटी।

नजिकै जाँदा थाहा भयो– त्यहाँ डा. महाविर पुनको किताब बिक्रीका लागि राखिएको रहेछ। अझै भीड छिचोल्दै जाँदा त्यहाँ डा. पुन आफैंले माइकिङ गर्दै पुस्तक बिक्री गरिरहेका रहेछन्।

उनलाई देखेर धेरैजना आश्चर्यमा परे। विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मानले सम्मानित व्यक्तित्व यसरी सादगी जीवन बिताएर हिँडेको देखेर उनीहरुलाई महावीर पुन नै हुन् भन्ने पत्याउन गाह्रो भइरहेको थिए। उनको पहिरन, हाउभाउ र व्यवहार देखेर सबै दंग थिए।

वीरगन्जको कृषि औजार कारखाना सञ्चालनार्थ उनले आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्लाजिल्लामा हिंडिरहेका छन्। पुस्तक बिक्रीका लागि २४औं जिल्लाका रुपमा उनी अर्घाखाँची आएका हुन्। देशका ७७ वटै जिल्लामा पुस्तक वितरण अभियान लैजाने उनले बताए।

‘हामी विरगन्जको कृषि औजार कारखानालाई पुनर्जीवित गर्ने अभियानका लागि पुस्तक बेचेर हिँडिरहेका छौं’, पुनले नागरिकसँग भने, ‘२४औं जिल्लाका रुपमा अर्घाखाँची आएका छौं। देशका सबै जिल्लामा जाने छौं।’ मंगलबार र बुधबार उनले अर्घाखाँचीमा किताब बेच्ने बताए।

प्युठानमा एक हजार चार सय ४९ पुस्तक बेचेका उनले अर्घाखाँचीमा पहिलो दिन ७ सय पुस्तक बेचेका छन्। अर्घाखाँचीबाट उनी गुल्मी जाने कार्यक्रम रहेको छ।

पुनले आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा उनका भोगाइ समेटेका छन्। उनको जीवनीका मुख्य अंश पुस्तकमा समेटिएको उनले बताए। तीन लाख प्रति पुस्तक बेच्ने लक्ष्य राखेका उनले २४ जिल्लामा ७० हजारको हाराहारीमा पुस्तक बेचिसकेका छन्।

कृषि औजार कारखानाको मर्मत गरिसकिएको र त्यसलाई सञ्चालनमा ल्याउन रकम अभाव भएकाले किताब बेच्नुपरेको उनको भनाइ छ। कारखाना सञ्चालन गर्न १५ करोड रुपैयाँ आवश्यक रहेकाले तीन लाख प्रति किताब बेच्दा त्यति नाफा निस्कने उनले बताए। ‘तीन करोड जनसंख्या भएको देशमा तीन लाख किताब बेच्नु ठुलो कुरा होइन’, उनले भने, ‘सबैको सहयोग भए कारखाना छिटै खुल्छ।’

राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था खोलेर उनले नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्य राखेका छन्। क्षमतावान् युवाहरुले उद्योग कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्र मजबुत बनाउन लागून् भन्ने आफ्नो ध्येय रहेको बताए।

उनका अनुसार ३० वर्षपहिले बन्द भएको कारखाना सञ्चालनमा ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सकिन्छ। सरकारले रुचि नदेखाएपछि आफैंले अभियानको थालनी गरेको उनको भनाइ छ।

प्रकाशित: १४ चैत्र २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App