२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लद्दाखका सोनाम वाङचुकको जलवायु अनसन २१औं दिनमा

अमिर खानको लोकप्रिय ‘थ्री इडियट’ फिल्ममा फुन्सुख बाङडुको भूमिका निभाएका सोनाम वाङचुकको ‘जलवायु–अनसन’ मंगलबार २१ दिन पुगेकोछ। उनले आफ्ना माग पुरा नभएसम्म आमरण उपवास बस्ने बताएका छन्।  

पेसाले इन्जिनियर तथा शैक्षिक सुधारका अभियान्ता वाङचुक लद्दाखलाई भारतीय सविधानको छैटांै अनुसूचिमा समावेश गर्नुपर्ने र छुटै राज्यको दर्जा दिनुपर्ने माग गरेका छन्। भारतीय सविधानको छैटांै अनुसूचीमा जमिनको सुरक्षा तथा आदिवासी क्षेत्रलाई न्यूनतम स्वयात्तता दिने प्रावधान छ। लद्दाखलाई दुई लोकसभा सिट र एक राज्यसभाको सिट सुनिश्चित हुनुपर्ने पनि उनको माग छ।। हाल लद्दाखलाई केन्द्र शासित प्रदेश(युनियन टेरिटोरी)को दर्जा दिइएको छ।  

लद्दाखको लेमा शून्य डिग्री तापक्रमभन्दा कमको चिसोमा विगत तीन सातादेखि उपवासमा रहेका उनले मात्र पानी र नुन मात्र सेवन गरेका छन्।  

राजनीतिक मागसँगसँगै उनले सबैभन्दा महŒवपूर्ण हिसाबले जलवायु मुद्दा उठाएका छन्। उनले आफ्नो अभियानलाई ‘जलवायु उपवास अर्थात् क्लाइमेट फास्ट’ नाम दिएका छन्। वातावरण प्रदूषण र जलवायु परिवर्तनको सबैभन्दा ठूलो मारमा उच्च हिमाली भूमि प्रभावित रहेको सन्दर्भमा समयमै सरक्षण नगरिएमा हिउँको अत्याधिक क्षय र हिमनदीको विनाश हुने चेतावनी उनको छ।  

उनले सहरका मानिसले सामान्य हिसाबले र वातावरणमैत्री जीवनशैली बाचे भने हिमाली समुदायले पनि शान्तिसँग बाच्न पाउने बताउँदै आएका छन्। हरेक दिन सामाजिक संजालमा आफना भनाईहरू राख्दै आएको वाङचुक प्रति सामाजिक सञ्जालमा समर्थन व्यापक देखिन्छ। कतिपयले केही दिन भोकै बसेर उनको अभियानलाई समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।

‘माइनस १० डिग्री सेन्टिग्रेडमा तापक्रममा मसँग हिजो तीन सय ५० सँगै खुला स्थानमा सुतेका छन्। दिउँसो पाँच हजार मानिस यो अभियानमा समावेश भएका छन् तर सरकारको तर्फबाट एक शब्द पनि बोलिएको छैन,’ सामाजिक सञ्जाल एक्समा उनले मंगलबार लेखेका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहलाई राजनेता हुन आह्वान गरेका छन्। विगत २० दिनमा लद्दाखको ले र कार्गिलमा गरी ६० हजार सर्वसाधारण अनसनमा बसेको उनले एक्समा जारी गरेको भिडियोमा भनेका छन्।

हिन्दकुश हिमालय क्षेत्रका हिमनदी पग्लदा यसको असर हिमाली तथा तल्लो तटमा रहने २ अर्ब सर्वसाधारणलाई पर्ने उनले बताउँदै आएका छन्।  

‘लद्दाखमा विकास र उद्योग स्थापनामा नाममा जथाभावी अनुमति दिने हो भने केही समयमानै यहाँका हिमनदी पग्लनेछन्,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्। ‘गाडीले उत्सर्जन गर्ने धुवा सेता हिउँमा पुग्दा तीव्र गतिमा हिउँ पग्लने गरेको छ। यो संकट बढदै गएमा हामी जलवायु शरणार्थी बन्नेछौं र उत्तर भारतमा हिउँददेखि वसन्त क्रृतुसम्म पानीको भण्डार समाप्त हुनेछ,’ उनले भनेका छन्।  

यसैबीच, भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द राइको नेतृत्वमा गठन गरिएको एक उच्चस्तरीय समितिले लद्दाखका मागबारेमा वार्ता सुरु गरेको छ। लद्दाखका प्रतिनिधि र सरकारी उच्चस्तरीय समितिबीच वार्ता जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: १४ चैत्र २०८० ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App