१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन नदीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

बेपत्ताको खोजीमा घटनास्थलमा खटेको उद्धार टोली। तस्बिर: महेश्वर

तीन दिनअघि उदयपुर खोटाङ सीमा भएर बग्ने धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला परेको छ।

गत आइतबार होली खेलेर नदीमा नुहाउन गएका त्रियुगा नगरपालिका-१४ साउनेका बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए।

बेपत्तामध्ये ९ वर्षीय रिदम मगरको शव घटनास्थलदेखि १ किलोमिटर तल मंगलबार दिउँसो भेटिएको त्रियुगा नगरपालिका-१४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए। उनका अनुसार घटनास्थल धाब्लाङदेखि ९ सय मिटर तल घिर्लिङ भन्ने ठाउँमा नदी किनारमा तैरिरहेको अवस्थामा शव भेटिएको हो।

बालबालिका हराएदेखि नै स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरी खोजी कार्य जारी रहेको छ। आइतबार दिउँसो २ः३० बजे भएको घट्नापछि ३ः३० बजेदेखि परिचालित गाउँले र प्रहरीको उद्धार टोली राति अबेरसम्म परिचालन गर्दा पनि बालबालिका फेला नपरेपछि सोमबार बिहानदेखि गोताखोर लगाएर खोजी थालिएको थियो।

अनवरत खोजीको क्रममा १ बालकको शव भेटिए पनि बाँकी बालिकासहित २ जना भने अझै पत्ता नलागेको वडाध्यक्ष मगरले बताए।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बालकको शव फेला परेको पुष्टि गर्दै अन्य बेपत्ताको खोजी कार्य जारी राखेको जनाएको छ। प्रहरी सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार घटनास्थलमा दर्जन बढी गोताखोरसहितको उद्धार टोली बेपत्ता बालबालिकाको खोजीमा जुटिरहेको छ। ‘नदीको गहिराइसम्म र घटनास्थलदेखि डेढ किलोमिटर तलसम्म खोजी गर्ने काम भइरहेको तर, भेटिएको छैन।’ चौधरीले भने।

रिदमसँगै साउनेकै रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर नदीमा डुबेर बेपत्ता भएका थिए। साउने बजार चोकमा घर भएका उनीहरु बिहानदेखि होली खेल्दै ६ किलोमिटर तल नदीमा पुगेर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

केही दिनयता उदयपुरमा वर्षा भइरहेकाले खोजी कार्यमा अवरोध आउने गरेको छ। मंगलबार पनि वर्षा भइरहेको छ। निरन्तर वर्षाले नदीमा पानीको सतह र बहाव बढेका कारण खोजी कार्यमा केही समस्या भएको प्रहरी भनाई छ।

प्रकाशित: १३ चैत्र २०८० १८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App