१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन

अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।

आइतबार दिउँसो उदयपुर र खोटाङबीचको सुन नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र दुई बालकको सोमबार बिहानैदेखि खोजी भइरहेको छ।

साउने र खोटाङको बाराहपोखरी गाउँपालिका २ बीचको धाब्लाङघाटमा दिउँसो २ः३० बजे भएको घटनालगत्तै स्थानीय र प्रहरीले संयुक्तरुपमा बालबालिकाको खोजी गरिरहे पनि अहिलेसम्म नभेटिएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरले बताए। उनका अनुसार स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले राति अबेरसम्म खोजी गर्दा पनि उनीहरु फेला परेका छैनन्।

वडाध्यक्ष मगरका अनुसार बजारमा बिहानदेखि साथीहरुसँग होली खेलिरहेका साउने बजारकी १२ वर्षीया रेखा मगर, १२ वर्षकै लोकबहादुर मगर र ९ वर्षीय रिदम मगर घरदेखि ६ किलोमिटर तल नदीमा नुहाउन गएका थिए।

नुहाउन नदी पसेका उनीहरु पौडी खेल्दाखेल्दै डुबेको स्थानीयले देखेर खबर गरेपछि तत्काल उद्धारका लागि खटेको उनले बताए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटर त्रियुगाको उद्धार टोलीले खोजी कार्य जारी राखे पनि फेला नपरेको वडाध्यक्ष मगरले बताए।

‘आइतबार रातिसम्म टर्च बालेर नदीको बीचबीच र छेउछाउ कुनाकाप्चा सबैतिर खोज्ने काम गरियो’, वडाध्यक्ष मगरले भने, ‘हिजो नभेटिएपछि आज बिहानैदेखि खोजी कार्य जारी  छ। घटनास्थलभन्दा एक किलोमिटर तलसम्म खोज्दा नभेटेपछि आज तालिम प्राप्त गोताखोर टोलीको सहाराले खोजी भइरहेको छ।’

एकै ठाउँको वल्ला घर पल्ला घरका ३ बालबालिका होलीकै दिन बेपत्ता भएपछि परिवारसँगै सिंगो साउने बजारवासी स्तब्ध भएका छन्। हरेक वर्षको होलीमा रङ खेल्दै रमाउने बजारमा यो घटनाले अहिले सन्नाटा छाएको छ। पूरै गाउँले बेपत्ता बालबालिकाको खोजीमा नदी किनारमा भेला भएका छन्। डुबेको १८ घन्टासम्म नभेटिएपछि उनीहरु फेला पर्ने सम्भावना धेरै कम भएको उद्धार टोलीमा खटिने प्रहरी अनुमान छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले हराएका बालबालिकाको खोजी कार्य सोमबार पनि जारी रहेको बताए। उनले अघिल्लो दिन रात परेकाले सोमबार बिहानैदेखि खोजी गर्न थालेको तर अहिलेसम्म पत्ता नलागेको बताएका छन्। केही दिनअघि सुरु भएको वर्षा आइतबार बिहानसम्म निरन्तर भइरहेकाले नदीमा पानीको सतह बढेकाले खोजी कार्यमा तालिम प्राप्त जनशक्ति खटाइएको पनि उनले बताए।

घटनास्थल धाब्लाङमा सात वर्षअघि शिलान्यास भए पनि निर्माण कार्य अघि नबढेर अलपत्र परेको मोटरेबल पुल निर्माण सुचारु गर्न नदीको पानी डोल्याइएको छ। पहिलेको वेल (गोलो खम्बा) डिजाइनको फाउन्डेसनबाट पुल नबन्ने भएपछि पाइल (चेप्टो खम्बा) डिजाइनको फाउन्डेसन गाड्ने काम भइरहेको छ। त्यसका लागि नदीको माटो खनेर पानी एकतर्फी डोल्याउँदा गहिरो दह बन्न पुगेको ठाउँमा पौडी खेल्न जाँदा बालबालिका डुबेको प्रहरी अनुमान छ।

पहिला सामान्य पानी रहेको नदी किनारको माटो खनेर पानी डोल्याउन बीचतिर लगेकाले अहिले किनारमै गहिरो तलाउ बन्न पुगेको बालबालिकालाई हेक्का हुन नसक्दा दुर्घटना भएको आकलन प्रहरीको छ। स्थानीयले पनि एकातिर किनारमै गहिरो तलाउ र अर्कातिर निरन्तर वर्षाले पानीको बहाब बढेकाले बालबालिका डुबेर दुर्घटना भएको अनुमान गरेका छन्।

प्रकाशित: १२ चैत्र २०८० ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App