२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हाब्रे अध्ययन तथा संरक्षणमा जापानी चिडियाखानाले सघाउने

जापानी सहर फुकुओकाको चिडियाखानाले नेपालको हाब्रे  (रेन्ड पान्डा) संरक्षणमा सहयोग गर्ने भएको छ। हाब्रे संरक्षणमा काम गर्ने रेडपान्डा नेटवर्कसँग ‘ओमुता सिटी जु’ ले सहकार्यको सम्झौता गरेको हो। दुई पक्षबीच शुक्रबार काठमाडौंमा आयोजित समारोहमा समझ–दारीपत्र आदानप्रदान भएको हो।

रेडपान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र सिटी जुकी प्रवक्ता डा. कानाको तोमिसावाले समझदारीपत्र आदानप्रदान गरेका थिए। जापानी चिडियाखानले रेड पान्डा संरक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ।  

यसक्रममा जापानको उक्त चिडियाखानामा चन्दा बाकस राखी अवलोकनकर्ताबाट समेत चन्दा संकलन गरिने डा. तोमिसावाले बताइन्। उनले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।

नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले जापानको चिडियाखानासँगको सहकार्यले नेपालको रेड पान्डा संरक्षणमा नयाँ अभ्यास थालनी हुने बताए। उनका अनुसार रेडपान्डाको गतिविधि अवलोकनका लागि रेडपान्डा संरक्षित क्षेत्रमा क्यामेरा जडान गरिने छ।

साथै, रेड पान्डा संरक्षणका लागि स्थानीय सरकारका प्रतिनिधि, सर्वसाधारण र विद्यालयका बालबालिकामा सचेतनामूलक गतिविधि गरिनेछ। रेड पान्डा राति पनि हिँडडुल गर्ने र विशेषतः बिहान–बेलुका बढी सक्रिय हुने प्राणी हो।

हाब्रेले गाउँघरमा निगालो भनिने चार–पाँच मिटरम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिङ्गो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा रुचाउँछ। रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ। यसको वासस्थान खण्डित हुँदै छ।

एक वासस्थानबाट अन्यत्र जाने जंगल मासिँदै जाँदा यसलाई जोगाउने चुनौती पनि बढ्दै गएको छ। यसको संख्या सन् १९९७ देखि २०१५ का बीच झण्डै ५० प्रतिशतले  घटेको अनुमान थियो। तसर्थ, सन् २०१५ मा विश्व प्रकृति संरक्षण संघ आईयूसीएनले रेड पान्डालाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ।

रेड पान्डालाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा पनि समावेश गरिएको छ।

प्रकाशित: १२ चैत्र २०८० ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App