१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पिपरी हत्याकाण्ड : प्रेमिका र भाइ पुर्पक्षका लागि थुनामा

श्रीमान्, श्रीमती र दुई सालो मिलेर शिव कुमारको हत्या

कपिलवस्तु नगरपालिका वडा नम्बर-४ पिपरीमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेका प्रेमिका र उनका भाइलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश जारी गरेको छ।

गत फागुन ५ गते महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको निर्मम हत्या गरी कुलोमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

हत्याको आरोपमा प्रहरीले फागुन ७ गते मृतकका प्रेमिका पुष्पादेबी (गुडिया) उपाध्याय र उनका भाइ श्याम कुमार उपाध्यायलाई पक्राउ गरेको थियो।

अदालतका न्यायधिश रोमनाथ अधिकारीको इजलासले दुवैलाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार सुमान पाण्डेले जानकारी दिए।

आदेशसँगै मृतक शिव कुमारकी श्रीमतीलाई पचास हजार रुपैयाँ पीडित राहत कोषबाट उपलब्ध गराउने समेत निर्णय भएको उनले सुनाए। उक्त रकम मृतककी श्रीमती उर्मिलालाई हस्तान्तरण गरिएको छ।

आफ्नी श्रीमतीको पर-पुरुषसँग अवैध सम्बन्ध भएको थाहापाए पछि पुष्पादेवीका श्रीमान् राज नारायण उपाध्यायकै योजना अनुसार शिव कुमारको हत्या गरिएको प्रहरी अनुसंधानबाट खुलेको छ।

हत्याको आरोपमा पक्राउ परेका दुई जना र फरार रहेका पुष्पादेवीका श्रीमान् राज नारायण र उनका साला ओम प्रकाश उपाध्यायको प्रत्यक्ष संलग्नता भेटिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

यसरी भएको थियो हत्याकाे याेजना

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर-६ ठुलो भलवारीका राज नारायणको र कपिलवस्तु नगरपालिका वडा नम्बर-४ पिपरीकी पुष्पादेवीको विवाह ७ वर्ष अघि भएको थियो। विवाह पछि उनीहरूको छोरा समेत भयो।

भवलवारी गाउँका शिव कुमार र पुष्पादबी बिच हेमचेम बढेको र अवैध सम्बन्ध समेत थियो। पुष्पाको माइती गाउँ पिपरी र भलवारीमा अवैध सम्बन्धबारे चर्चा समेत हुने गरेको थियो।

राज नारायणले आफ्नी श्रीमती र शिव कुमारलाई पटक-पटक चेतावनी समेत दिएका थिए। तर शिव कुमार र पुष्पादेबी बिच फोनमा कुराकानी र भेटघाट चलिरह्यो। त्यही बिच राज नारायण वैदेशिक रोजगारीका लागि कतार गए। त्यही हुँदा उनले श्रीमती र शिव कुमार बिच अझै अवैध सम्बन्ध जारी रहेको थाहा पाए।

कतार हुँदै उनले शिव कुमारलाई मार्ने योजना बुने र गत फागुन ४ गते कतारबाट नेपाल फर्के। त्यही दिन नै राज नारायणले आफ्नी श्रीमतीलाई ससुराली बोलाए। श्रीमती र दुई सालोसँग मिलेर राज नारायणले हत्याको योजना बनाए।

आफ्नी श्रीमतीलाई फोन गर्न लगाएर शिव कुमारलाई पिपरी राति भेट्न आउन बोलाए। घरबाट साँझ निस्केका शिव कुमार एक साथीसँग मोटरसाइकलमा पिपरी आए।

फागुन ५ गते राति हत्या गर्ने योजना सहित राज नारायण र उनका दुई सालाहरु शिव कुमारलाई खेतमा घरेलु हतियार सहित कुरेर बसेका थिए। पुष्पा देवीले खेतमा भेट्न भन्दै शिव कुमारलाई पठाइन। त्यही खेतमा राति बन्चरो र कुदालो लिएर बसेको तीन जनाले शिव कुमारको निर्मम हत्या गरे।

हत्या भएको खेतमा प्रहरीले संघर्षको निशान र रगत समेत फेला पारेको थियो। टाउको काटेर शिव कुमारको शवलाई कुलोमा र टाउकोलाई शव देखि २ सय मिटर पूर्व गाडेका थिए।

मृतक शिव कुमारको शव फागुन ६ गते र टाउको फागुन ११ गते फेला परेको थियो। हत्या पछि पुष्पादेवी रातारात आफ्नो घर भलवारी पुगेकी थिइन। पुष्पाको कान्छो भाइ श्याम कुमार भने पिपरी स्थित आफ्नै घरमा बसेका थिए। श्याम कुमारले रातारात घटनामा प्रयोग भएको दुई बन्चरो र एउटा कुदालोकाे बेट जलाएका थिए।

फागुन ६ गते बोरामा लुकाएर बन्चरो र कुदालो फाल्न जानेक्रममा प्रहरीले श्याम कुमारलाई पक्राउ गर्याे। पुष्पादेवीलाई भने प्रहरीले भलवारीबाट पक्राउ गरेको थियो।

राज नारायण र उनको ठुलो सालो भने अझै फरार छन्। राज नारायणले सिम र ठाउँ फेर्दे लुकेर हिँडेन गरेका छन्। फरार दुवैको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। फरार अभियुक्त चाडै पक्राउ पर्ने उनले बताए। मृतकको श्रीमती, एक छोरा र छोरी छन्।

प्रकाशित: १० चैत्र २०८० १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App