२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयरको हस्ताक्षर किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमती, लेटरप्याड र छाप पनि चोरी

भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्।

भूमिकास्थान नगरपालिका ९, पातलेखोलामा रहेको चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको आरोप लगाएका हुन्। ‘नगरले कसैलाई अनुमती पत्र दिएको छैन, ‘उनले भने, ‘किर्ते गरेर खानी विभागबाट अनुमती लिईएको छ।’

नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर थापाले यो आफु र नगरमाथि षड्यन्त्र भएको बताएका छन्। मेयर थापाले यसको कानुनी पाटोमा जाने स्पष्ट पारेका छन्। यो गम्भीर अपराध भएको उनको भनाइ छ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र पाएको थियो। पटक–पटक प्रारम्भिक वातावरणीय परिक्षण (आईइइ) गरेको कम्पनीले २०७९ पौष ७ गते भुमिकास्थान ९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो। जसमा त्यहाँका ११४ जना व्यक्तीको उपस्थिती रहेको माईन्युटमा देखिन्छ।

त्यसको भोलि पल्ट नै पौष ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ। तर, नगरप्रमुखले यसलाई किर्ते भएको अभिव्यक्ती दिएका छन्।

मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षर सहितको पत्र विभागलाई गएको छ। खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिश गरी पठाएको पत्रमा दर्ता÷चलानी नं. ५८५ छ। यता नगरपालिकाको दर्ता÷चलानी किताबमा ५८५ नम्बरमा संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पठाएको पत्र छ।

यसैलाई आधार बनाएर मेयर थापाले सिफारिशलाई किर्ते भनेका हुन्। आफुहरुले खानी उत्खनन् गर्न अनुमती दिनेगरी पत्र नपठाएको उनको भनाइ छ। २०७९ भदौ महिनाको १७ गते र असौज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन् गर्न नदिने निर्णय गरेको देखिन्छ। तर उक्त निर्णयमा तिन जना प्रतिनिधीले मात्र हस्ताक्षर गरेका छन्। त्यसयता चुनढुंङ्गा सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको छैन।

कार्यपालिकामा समेत यस विषयमा एकरुपता आउन सकेको छैन। बहुमत सदस्यले भएका निर्णयहरुमा हस्ताक्षर गरेका छैनन्। खानी खुलाउने वा नखुलाउने विषयमा कार्यपालिकामा कुनै गम्भिर छलफल नभएको एक कार्यपालिका सदस्यले बताए। विविध शिर्षकमा खानी सम्बन्धी कुराहरु उठेको भएपनि कुनै निर्णय नभएको उनको भनाइ छ। ‘विविध शिर्षकमा कुरा उठेका थिए’, उनले भने, ‘यसमा कुनै निर्णय भएको छैन,कस्ले कसरी निर्णय ग¥यो हामीलाई थाहा छैन।’ खानी खोल्दा नगरलाई आन्तरिक आय हुनेगरी सम्झौता गर्नुपर्ने कतिपयको राय छ भने वातावरणीय पक्षको ख्याल राख्नुपर्ने मत पनि छ।

विजया सिमेन्ट्स प्रालीले भने आफुहरु कानुनी बाटोमा जाने बताएको छ। पालिका भित्रको त्रुटीलाई आफ्नो कम्पनी माथी थुपारिदिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताए। ‘पत्र सक्कली हो या नककली नगरपालिकाले जान्ने कुरा हो,‘उनले भने,‘कम्पनी सिस्टममा चल्ने गर्छ, प्रक्रियामा जान्छौं।’

कम्पनीले आफुहरुलाई रोक्न मेयरले जालझेल गरिरहेको जनाएको छ। कार्यपालिकामा हुँदै नभएका निर्णय बनाएर पठाउने, खानेपानीका मुहान त्यहाँ उपलब्ध छन् भनेर झुट कुरा बताउने जस्ता गतिविधी गरेको अलीले बताए। केही समयमै झुट र सत्य आफै छुट्टिने उनको भनाइ छ।

चुनढुंङ्गाको विषयले बादविवाद भईरहँदा नगर प्रमुखको अभिव्यक्तीले माहोल तातेको छ। उनको यो अभिव्यक्तीले स्थानिय तह माथी समेत प्रश्न उठेको छ। नगरको लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्ने नगर प्रमुखको अभिव्यक्तीले नगरपालिका कार्यालयको सुरक्षा माथी गम्भिर चुनौती देखिएको छ।

उनको यो अभिव्यक्तीले उनलाई नै गिज्याएको स्थानिय झविन नेपालीले बताए। नगर भित्रका संवेदनशिल कुराहरु चोरी हुनुले नगरप्रमुख माथी नै प्रश्न खडा गरेको उनको भनाइ छ। ‘नगरबाट के के चोरी हुन्छ ? यसको जिम्मा कसले लिने हो?,उनले भने,‘प्रमुख ज्यु को यो भनाइले उहाँलाई नै गिज्याएको छ।’

नगर प्रमुखको भनाईलाई सत्य मान्ने हो भने उप प्रमुख, कार्यपालिका सदस्यहरु र त्यहाँ कार्यरत कर्मचारी माथी औंला तेर्सिएको छ। कार्यालय भित्रै पहुँच राख्ने व्यक्तीले किर्ते गर्न सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ। यसको सबै वास्तविकता माथी छानबिन भईरहेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताए।

खानी तथा भूगर्भ विभाग, खानी अनुमती तथा प्रशासन शाखा (च.नं ९६) ले २०७९ साउन ८ गते वडा नम्बर ९ को सान्डेभा (पातलेखोलामा) चुनढुंङ्गा खोजतलास अनुमती क्षेत्र सिमित गरिएको पत्र पठाएपछी उत्पन्न विवाद अझै सेलाउन सकेको छैन।

नगर प्रमुखको अभिव्यक्ति पछि सामाजिक सञ्जाल तातिएको छ। नगरले सुरक्षित राख्नुपर्ने लेटरप्याड, छाप र हस्ताक्षर कसरी बाहिरियो भन्ने विषयले यतिबेला सञ्जालमा अनेकथरी टिप्पणी भईरहेका छन्।

प्रकाशित: ६ चैत्र २०८० ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App