१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालयभित्रै मौरीपालन पाहुनालाई महले स्वागत

फाइल तस्वीर

विद्यालयले आफ्नो आम्दानी वृद्धी गर्न विभिन्न उपायहरू अपनाएका हुन्छन्। कुनै विद्यालयले खेतिपाती गरेर आफ्नो आम्दानी बढाइरहेका हुन्छन् भने कतिपयले मैनबत्ती, अगरबत्ती, मुडा बुनाईबाट आम्दानी गरिरहेका हुन्छन्।

जिल्लाको भूमिकास्थान नगरपालिका–१०, धनचौरमा अवस्थित जिल्लाकै नमुनाको रूपमा रहेको जनजागृति माध्यमिक विद्यालयले विद्यालयभित्रै मौरीपालन गरिरहेको छ। ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको सिकाइ सँगसँगै विद्यालयको आयस्रोत बढाउन विद्यालयले मौरीपालन गरिरहेको विद्यालयका प्रधानाध्यापक पिताम्बर खनालले बताए।

२० वटा घारमा मौरीहरू पालन गरेको र विद्यालयको आम्दानीमा टेवा पुगेको उनको भनाइ छ। ‘विद्यार्थीको सिकाइ र आम्दानीका लागि मौरीपालन सुरु गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म प्रभावकारी नै देखिएको छ।’

एक केजीको डब्बामा एक हजार आठ सय रूपैयाँका दरले मह बिक्री गरिँदै आएको उनको भनाइ छ। विद्यालयको प्रशासनिक भवनको बरन्डा र छतमा मौरीलाई आवश्यक पर्ने सुविधासहित राखिएको छ।

गत मंसिरमा २० घार मौरीबाट ९६ किलो मह बिक्री गरिएको थियो। मौरीपालन थालेको केही समयमै विद्यालयले एक लाख रूपैयाँ भन्दा धेरैको मह विक्रि गरेको विद्यालयले जनाएको छ।

कक्षा १०, ११ र १२ का विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा मौरीपालनको ज्ञान दिने गरिएको छ। यसलाई कसरी राख्नुपर्छ, कसरी यसको मह काढ्नुपर्छ, कुन मौसममा निकाल्दा अत्याधिक मह निकाल्न सकिन्छ लगायतका आधारभूत कुराको सिकाइ भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी अशोक गैरेले बताए।

मह बिक्री गर्नुका साथै विद्यालयले त्यहाँ जाने पाहुनाहरूलाई महले स्वागत गर्ने गरेको छ। विभिन्न कामले विद्यालय जाने विशिष्ट पाहुनाहरूलाई महले स्वागत गर्ने गरेको सुचना अधिकारी तिलबहादुर रायमाझीले बताए।  

प्रकाशित: ५ चैत्र २०८० ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App