७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जटिल कुपोषित बालबालिकालाई अब पोषण पुनर्स्थापनामा ‘थेराप्युटिक

कुपोषण भएका बालबालिका प्रायः बिरामी हुन्छन्। यस्ता बिरामी बालबालिका सामान्य उपचारले मात्र निको नहुने हुँदा पोषण थेरापी पनि आवश्यक पर्छ।

जटिल कुपोषणसहित जटिल बिरामी परेका बालबालिकालाई अस्पताल पुगेमा दुवै उपचार हुने सरकारले पोषण पुनर्स्थापना कार्यक्रमअन्तर्गत थेराप्युटिक मिल्क (पोेषणयुक्त दुध) वितरण गर्ने कार्यक्रम विस्तार गरेको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखाले यो सेवा विस्तार गरेको हो।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार यो दुध बजारमा किन्न पाइँदैन भने र विशेष तत्व समावेश हुन्छ। यो मिल्क विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विशेष तत्वसहित बनेको हुनाले जटिल कुपोषण भई बिरामी परेका बालबालिकाको कुपोषण हटाउन मद्दत गर्छ।

‘विदेशबाट ल्याइएको यो दुध बजारमा कतै पनि किन्न पाइँदैन,’ पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले भने। यो थेराप्युटिक मिल्कको सेवनपछि जटिल कुपोषित भई बिरामी परेका बालबालिकालाई अकाल मृत्युबाट बचाउन सकिने थापाले बताए।

पहिल्यै स्थापना भएका पोषण पुनर्स्थापना केन्द्रमा पहिलो तहको सेवा दिने गरी यो सेवा विस्तार गर्न लागिएको प्रमुख थापाले बताए।

यो सेवाभित्र जटिल बिरामी भएका र कुपोषित बालबालिकलााई अस्पतालमा आइसकेपछि स्थिर हुने अवधिसम्मका लागि औषधि उपचार गरिन्छ। त्यसपछि उनीहरूलाई पोेषण थेरापी दिइन्छ।

यो थेरापीअन्तर्गत औषधिसहित थेराप्युटिक मिल्क, बिरामी बच्चाको उचाइ र तौल जाँच गर्ने मेसिन दिइन्छ। यो उपचारका लागि अस्पतालका चिकित्सक, नर्स सबैलाई परामर्श तालिम दिइन्छ। यो थेरापेटिक मिल्क र सामग्री संघीय स्वास्थ्य सेवा विभाग पोषण शाखाबाट वितरण हुनेछ भने यसको अनुगमन प्रादेशिक स्वास्थ्य निर्देशनालयले गर्नेगरी समन्वय गरिएको छ।

चालु आर्थिक वर्षभित्रमा ६ वटा अस्पतालमा यो सेवा विस्तार भइसकेको छ र बाँकी दुईवटा अस्पतालमा परामर्श तालिम सञ्चालन दिने तयारी भएको थापाले जानकारी दिए। यो वर्ष डडेल्धुरा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, सुर्खेत, लुम्बिनी र नवलरासीको पृथ्वीचन्द्र्रसहित आठवटा अस्पतालमा यो सेवा विस्तार हुनेछ।

बाँकी १७ वटा अस्पतालमा आगामी वर्ष यो सेवा विस्तार गर्ने लक्ष्य रहेको थापाले जानकारी दिए।‘६ वटा अस्पतालमा सेवा विस्तार भइसक्यो, बाँकी दुईवटामा तालिम दिने काम भइरहेको छ,’ उनले भने।

यो परामर्श तालिमअन्तर्गत अस्पतालको कुनै पनि इकाइमा पुगेका जटिल कुपोेषित बच्चालाई अस्पतालको शय्यामा कसरी भर्ना गर्ने, अरू रोग निको पार्ने, कसरी समुदायमा भएका जटिल कुपोषित बालबालिकाको पहिचान गरी रेफर गर्नेलगायतका विषयमा तालिम दिइन्छ।

चालु आर्थिक वर्षमा डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, नवलपरासीको पृग्वीचन्द्र अस्पताललगायत आठ वटा अस्पतालमा यो सेवा विस्तार भइसकेको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा पुड्कोपना भएका कुपोषित पाँच वर्ष मुनिका बालबालिकाको संख्या २५ प्रतिशत छ। त्यसमा २२ प्रतिशत सहरमा छ भने गाउँमा ३१ प्रतिशत पुड्कोपना छ। भौगोलिक क्षेत्रअनुसार पहाडमा २२ प्रतिशत, तराईमा २५ प्रतिशत र हिमाली क्षेत्रमा ४२ प्रतिशत पुड्कोपना छ। पाँच वर्षमुनिका आठ प्रतिशत बालबालिकामा ख्याउटेपना छ। यो दर सन् २००१ मा ५७ प्रतिशत थियो।

प्रकाशित: २९ फाल्गुन २०८० ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App