१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा

संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका– ६ स्थित नागेश्वर मन्दिर ओझेलमा परेको छ। पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराैं रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधुसन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो। सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको छ।

सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो।

२०५४ सालपछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए। अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, संखुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उनले जानकारी दिए।

धनकुटा र भोजपुरको सिमानामा अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवा बजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा रहेको छ। गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उनँले जानकारी दिए।

लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको संखुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए। ‘पहिला यहीँबाट सञ्चालन हुने भए पनि अहिले उता बेग्लै समिति छ, यहाँको काम सकिएर हामी उताको कममा लाग्ने छौँ’, अध्यक्ष पुरीले भने।

सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुन सके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनका रूपमा विकास गर्न सकिने महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ।

धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिए।

गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा ६ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। ‘मालपोत कार्यालयले तत्परता देखाए तुरुन्त जग्गाधनी पुर्जा वितरणको काम हुन्छ’, नगर प्रमुख रायाले भने।

गुठी र मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न नगरपालिकाले मन्दिरको जीणोद्धार तथा गुठी व्यवस्थापनमा सहयोग गरिरहेको रायले जानकारी दिए। –रासस

प्रकाशित: २७ फाल्गुन २०८० ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App