१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आत्महत्याको आर्थिक क्षति १० खर्ब पाउण्ड

यस्ताे पनि!

बेलायतमा हरेक वर्ष हुने आत्महत्याको आर्थिक मूल्य १० खर्ब पाउन्ड हुने गरेको अध्ययनले देखाएको छ। लण्डन स्कुल अफ इकोनोमिक्सले गरेको अध्ययनअनुसार सन् २०२२ मा मात्र बेलायतभर ६ हजारले आत्महत्या गरेका थिए। त्यसले निम्त्याउने आर्थिक बोझ प्रतिव्यक्ति १४ लाख ६० हजार पाउण्ड हुने गरेको देखिएको छ।

कुनै पनि व्यक्तिको आत्महत्याले त्यस परिवारमा गहिरो असर पर्ने गर्छ। व्यक्ति मात्र होइन, समाजमा नै गहिरो प्रभाव पार्ने गर्छ। खासगरी असामयिक निधनले पार्ने क्षतिको आकार व्यापक हुने गर्छ। समारिटान्स नामक संस्थाले यो अध्ययनको पहल गरेको थियो।

संस्थाकी प्रमुख कार्यकारी जुली बेन्टली भन्छिन्, ‘कुनै पनि आत्महत्याको भावनात्मक प्रभाव मापन गर्न नसकिने हुन्छ। त्यस्तो परिवारलाई स्थानीय सरकारले यथोचित आर्थिक सहयोग गर्न चुक्नु हुन्न।’

उनको धारणामा सरकारले आत्महत्या रोकथामका लागि पर्याप्त पहल गर्नुपर्छ। आत्महत्याको घटनापछि परिवार र समाजमा लामो समयसम्म काम गर्ने क्षमता घट्ने, प्रियजनहरूमा नराम्रो असर पु¥याउने मात्र होइन, प्रहरीको खर्च पनि बढ्छ। यसका साथै अनुसन्धानकर्मी र स्वास्थ्य सेवा पनि अनावश्यक रूपमा व्यस्त हुनुपर्छ।

कुनै पनि व्यक्तिले आत्महत्या गर्दा हुने क्षति १४ लाख ६० हजार पाउन्ड भए पनि आत्महत्या रोकथामका लागि गरिने सरकारी प्रयासको खर्च जम्मा एक पाउण्ड ४० सेन्ट प्रतिव्यक्ति रहने गरेको समारिटान्स च्यारिटीको भनाइ छ। सरकारले यस्तो रोकथामका लागि जम्मा तीन करोड ८० लाख पाउण्ड खर्च छुट्याएको छ।

पछिल्लो समय स्थानीय सरकारले स्थानीय निकायमा हुने आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रमका लागि छुट्याइएको रकम घटाएका छन्। यसले आत्महत्या रोक्न भूमिका खेलिरहेका संस्थाहरूलाई नराम्रो असर पर्ने निश्चित छ। त्यसै पनि बेलायतमा ५० वर्षमुनिका पुरुष तथा ३५ वर्षमुनिका महिला दुई दशकको तुलनामा बढी आत्महत्या गरिरहेका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २७ फाल्गुन २०८० ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App