धनुषाको शहीदनगर नगरपालिकाका जिन्सी शाखा प्रमुख तथा सचीव सुदिप कुमार भट्टराई निलम्बनमा परेका छन्। स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन्।
आर्थिक वर्ष २०७७–७८ मा सार्वजनिक खरिद ऐन विपरित गुणस्तरहीन स्यानिटरी प्याड खरिद गरी १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित आयोगले विशेष अदालतमा आरोपपत्र दायर गराइएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) को (ङ) अनुसार सजायको माग गरेको छ। त्यस अनुसार तीन महिनादेखी तीन वर्षसम्म कैद र १३ लाख ९३ हजार ६८७ रुपैयाँ विगो बमोजिम जरिवानाको माग गरिएको छ।
आर्थिक वर्ष २०७७–७८ मा शहीदनगर नगरपालिकाले शर्शत अनुदानबाट प्राप्त रकमबाट स्यानिटरी प्याड खरिदका लागि ०७७ चैत्त १९ मा रेजा टे«डिङ्ग प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थिया। तर, सम्झौता अगावै चैत्त १३ मा भुक्तानी भएको पाइएको छ।
शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता अगावै रेजाले प्याड आपूर्ति गरेको आयोगले दायर गराएको आरोपपत्रमा उल्लेख गरिएको छ।
शिलबन्दी दरभाउपत्र आह्वानको सुचना प्रकाशित भएको भनिएको ०७७ फागुन २२ गते को राष्ट्रिय दैनिक रेजा टुडेमा पत्रिकामा शहीदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित नभएको आयोगको दाबी छ। रेजा टुडे पत्रिकाको मिलोमतोमा झुटा विवरण दिएर १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले दायर गराएको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले जिन्सी शाखा प्रमुख भट्टराईसहित स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, तत्कालीन मेयर उदय कुमार बरबरिया यादव, उपमेयर शिला कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, श्री माध्यमिक विद्यालय हठ्ठीपुरहरवाडाका प्रधानाध्यपक श्रीकृष्ण भिनवार, र सव इन्जिनीयर सरोज कुमार महतोविरुद्ध आरोपपत्र दायर गराएको छ।
त्यस्तै तत्कालीन शहीदनगरका लेखापाल लोकबहादुर नेपाली र रेजा टे«डिङ्ग प्रालि धनुषाका प्रोपराइटर एव राष्ट्रि दैनिक रेजा टुडेका पत्रिकाका प्रकाशक अकवर मंसुरविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गराएको हो।
प्रकाशित: २२ फाल्गुन २०८० ०९:०० मंगलबार