२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जब बमप्रसादहरूले दुवै आँखाले देखे...

दुई वर्षदेखि दुवै आँखा देख्न छाडेका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का बमप्रसाद योङहाङ लिम्बूलाई अहिले संसारै उज्यालो भएको छ। आँखाको शल्यक्रिया गरेपछि अहिले उनी दुवै आँखा मजाले देख्छन्। शल्यक्रियापछि दुवै आँखा देखेका उनी यो खुसीमा नाचे।

भन्छन्, ‘म पहिलाकै जस्तो देख्न थालेको छु।’

दुवै आँखा बन्द भएर दाजुलाई उपचारका लागि ताप्लेजुङ लिएर आएका बमप्रसादका भाइ मनकुमारका अनुसार आँखाको शल्यक्रियापछि बमप्रसाद आफैं हिँडेर सवारीसम्म पुगे। सवारी चढे र घर पुगे। मनकुमारले दाजु बमप्रसादलाई उपचारस्थल सम्म डो¥याएर ल्याएका थिए।

ताप्लेजुङको फुङलिङका तुलसी गिरीको आँखामा केही वर्षदेखि समस्या थियो। गाउँका सानातिना पुजाआजामा श्लोक भनेर रमाइलो गर्ने गिरी केही समयदेखि आँखामा समस्या भएर यस्ता कार्यक्रममा पुग्न छाडेका थिए। उनको पनि आँखाको शल्यक्रिया भयो। शल्यक्रियापछि गिरी पनि बमप्रसाद जस्तै नाचे। अब गाउँघरमा डाकिएका पुजाआजामा गएर मजाले श्लोक गाइन्छ र नाचिन्छ,’ आँखा देख्न थालेको खुसी गिरीले यसरी साटे।

वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले गृह जिल्ला ताप्लेजुङमा आयोजित निःशुल्क आँखा शिविरमार्फत योङहाङ र गिरी जस्ता एक सय ५४ जनाको मोतीबिन्दु भएका आँखाका रोगीको शल्यक्रिया गरेको छ।

फुङलिङ नगरपालिका र सेवा फाउण्डेसनसँग मिलेर नेपाल नेत्रज्योति संघ ताप्लेजुङले शिविरको आयोजना गरेको थियो। शिविरमा १ हजार २ सय ८१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्। शिविरमा आउनका ७८१ महिला र पाँच सय ४६ पुरुष गरी एक हजार तीन सय २७ जनाले नाम दर्ता गराएकामा ४६ जना भने सम्पर्क नआएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङमा कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।

तिलगंगाको टोलीले ‘फ्याको सर्जरी’ विधिद्वारा पनि आँखाको शल्यकृया गरेको थियो। मोतीबिन्दुको नयाँ र कम्युटराइज्ड प्रविधिद्वारा गरिने शल्यक्रियालाई फ्याको सर्जरी भनिन्छ। यसअघि फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुको परीक्षणका क्रममा २० तथा १४ गते मिक्वाखालाको खोक्लिङमा गरिएको आँखा परीक्षणका क्रममा १७ जना गरी कुल ३७ जना मोतीबिन्दुका बिरामी भेटिएका थिए। उनीहरूको पनि फुङलिङकै शिविरमार्फत आँखाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ।

शिविरमा डाक्टर रुइतको नेतृत्वमा तिलगंगा आँखा अस्पतालको १६ जनाको टिमले शल्यक्रिया, परीक्षण तथा उपचार गरेको नेपाल नेत्रज्योति संघद्वारा फुङलिङमा सञ्चालित डिचेन डोंगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए।

मोतीबिन्दुका बिरामीको शल्यक्रिया गर्न आएका रुइतलाई फुङलिङ नगरपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङले अभिनन्दनसमेत गरेका छन्। आँखा स्वास्थ्य क्षेत्रका माध्यमबाट नेपाल र नेपालीलाई विश्वमै चिनाउन सफल व्यक्तिलाई गृह जिल्लामै अभिनन्दन गरिएको फुङलिङ नगरप्रमुख अमिर मादेनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८० ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App