२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उद्योगको फोहोर व्यवस्थापन नहुँदा स्थानीयमा छाला चिलाउने समस्या

नागरिक समाज इटहरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका इटहरी वडा नं. ११ का स्थानीयबासी। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिका तीनवटा वडाका बासिन्दालाई उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानीले स्वास्थ्य समस्या हुने गरेको छ। उद्योगबाट निस्किने फोहोर  र पानीले छाला चिलाउने र चिलाएको ठाउँमा पानीफोका आउने, काउछो दले जस्तो समस्या हुने गरेको छ। उद्योगको फोहोरले खेत त बिग्रिएकै छ, ज्यान पनि बिग्रेला भन्ने सबैलाई डर छ।

यो समस्याबारे थुप्रै पटक सरोकारवालालाई भन्दा पनि सुनुवाइ नभएपछि स्थानीयबासीले नागरिक समाज समक्ष समस्याका लागि पहल गरी दिन माग गरेका छन्। सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा पर्ने इटहरी वडा नं. ११, १२ र १३  खनार क्षेत्रका कारखानाबाट निस्किएका अनेक प्रकारका रसायन मिसिएका विषाक्त पानीको दुष्प्रभाव दिनदिनै बढ्दो छ। ‘थुप्रै पटक उद्योगीसँग समस्या समाधान गर्नका लागि माग गरेपनि सुनुवाइ भएको छैन, अब नागरिक समाजले यसलाई गम्भीर रुपमा लिएर समस्याका लागि दबाब सिर्जना गर्नुपर्‍यो,’ इटहरी वडा नं. ११ की पुनम गेलालले भनिन्।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका प्राय: सबै उद्योगको फोहर तथा विषाक्त पानी विना प्रशोधन स्थानीय बूढीखोलामा निर्बाध रूपमा मिसाइन्छ। त्यस्तो फोहर तथा विषाक्त पानी केही उद्योगले पाइप तथा ह्वीमपाइप प्रयोग गरी सोझै बूढीखोलामा मिसाएका छन् भने धेरैजसोले वरपरका खेत, नाला, खोल्सामा फोहर तथा विषाक्त पानी त्यत्तिकै छोडिदिने गर्छन्, जुन बग्दै गएर बूढीखोलामा मिसिने गर्छ।

कारखानाले निष्कासन गर्ने फोहोर तथा विषाक्त पानीका कारण अनेक किसिमका स्वास्थ्य समस्या देखिने गरेको हो।

सरोकारवालाको ध्यानाकर्षण तथा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने, कारखानाअघि धर्ना दिने, नाराबाजी गर्नेलगायत विरोध प्रदर्शन गर्ने गर्छन्। तर समस्या ज्युँका त्युँ छ। ‘वडा कार्यालयका तर्फबाट पनि उद्योग सञ्चालकलाई थुप्रै पटक भनी सकिएको छ,’ इटहरी वडा नं. ११ का वडाध्यक्ष केशवप्रसाद कोइरालाले भने, ‘यस क्षेत्रकै प्रतिष्ठित रिलायन्स स्पिनिङ मिल्सलाई फोहर व्यवस्थापन गर्न भनेका छौँ, उद्योग प्रशासनबाट सुधार गर्ने वचन आएको छ।’ नागरिक समाजले इटहरीले स्थानीयको गुनासोलाई सम्बोधन गर्न नियमनकारी निकायलाई दबाब दिने अध्यक्ष बालिका खड्का भट्टराईले बताइन्। नागरिक समाज इटहरीले इटहरीका २० वटा वडामध्ये समय समयमा वडागत समस्या समाधानका लागि अन्तरक्रिया गर्ने गरेको वरिष्ठ उपाध्यक्ष आरके राईले बताए। 

प्रकाशित: १५ फाल्गुन २०८० १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App