१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

न्यायालयप्रति जनताको आस्था र विश्वास वृद्धि गराउनुपर्छ: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनताको आस्था र विश्वास वृद्धि गर्नुपर्ने धारणा राखेका छन्।

सोमबार हेटौंडामा जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले अदालतलाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न सबैले योगदान गर्नुपर्ने धारणा राखे।

‘स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादन नै सर्वसाधारणको अपेक्षा रहेको छ’, श्रेष्ठले भने, ‘अदालतप्रति विश्वासको वातावरण निर्माण तथा सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारबाहीले विश्वासको वातावरण बन्ने हो, हामी यसैमा केन्द्रित छौं।’

न्यायालय सुधारका लागि योजनाबद्ध काम गरिरहेको उनको दाबी थियो। आफूले नेतृत्व सम्हालेदेखि नै योजनाको प्रभावकारी कार्यान्वयन र न्यायिक सुधारका लागि विभिन्न प्रयास गर्दै आएको प्रधानन्यायाधीश श्रेष्ठले जिकिर गरे।

न्यायपालिका अहिले सकारात्मक गति र लयमा हिँड्न थालेको उनको दाबी छ। सेवाग्राहीको सुविधा र जनआस्थालाई केन्द्रविन्दुमा राखेर सुधारको मार्गमा उन्मुख भइरहेकोले सकारात्मक परिणाम देखिन थालेको उनले धारणा राखे।

श्रेष्ठले सर्वोच्चमा नयाँ दर्ताको तुलनामा बढी मुद्दाको फर्छ्यौट गर्दै आएको जानकारी दिँदै शुक्रबारको दिन पनि ५ बजेसम्म इजलास सञ्चालन गर्दै आएको बताए। उनले जिल्ला अदालतको नयाँ भवनबाट हुने न्याय सम्पादन र सेवा प्रवाहले आम नागरिकको न्यायालयप्रतिको आस्था र विश्वास समेत वृद्धि हुने अपेक्षा व्यक्त गरे।

जिल्ला अदालतको ७१ कोठे सुविधा सम्पन्न भवन मकवानपुर जिल्ला अदालतको हेटौंडा–२ मा ७१ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो।

प्रकाशित: १४ फाल्गुन २०८० १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App