२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आजबाट सञ्चालनमा देशकै लामो झोलुंगे पुल

मधेस प्रदेशको कमला नदीमा बनेको देशकै लामो झोलुंगे पुलको शनिबार उद्घाटन हुन लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको सहरी विकास मन्त्रालयले जनाएको छ।

सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी डेढ किलोमिटर (१५००.४४ मिटर) लामो झोलुंगे पुल निर्माण भएको हो। उद्घाटन भएपछि यो झोलुंगे पुल देशकै लामो हुनेछ। अहिलेसम्म महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो।  उक्त पुलको लम्बाइ १ हजार ४ सय ५२ मिटर छ।

‘कठाल–मल्हनिया जोड्ने गरी कमला नदीमा बनेको पुल भोलि (शनिबार) देखि देशकै लामो हुनेछ,’ सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्यालले भने। उनका अनुसार एक महिनापछि कठाल–मल्हनिया जोड्नेभन्दा लामो अर्को झोलुंगे पुल पनि थपिनेछ। ‘करिब एक महिनापछि उद्घाटन हुन लागेको सुस्ता झोलुंगे पुल देशभरिकै लामो हुनेछ,’ अर्यालले भने, ‘नारायणी नदीमा निर्मित सो पुलको लम्बाइ १५ सय ७१मिटर हुनेछ।’

कठाल–मल्हनिया झोलुंगे बनाउन करिब २५ करोड ८० लाख रूपैयाँ खर्च भएको छ। यो पुल बनाउन स्थानीय पूर्वाधार विभागबाट ३ करोड ५ लाख बराबरको लगानी उपलब्ध गराइएको थियो। यो पुल निर्माण गर्न सपना, उमा एन्ड कम्पनी तथा जोइन्ट भेन्चरमा थानी कम्पनीले ठेक्का पाएको हो। यो पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३ हजार ८८६ पदयात्री) रहेको जनाइएको छ। यो झोलुंगे पुलले स्थानीयको जनजीवन निकै सहज बनाएको विभागको दाबी छ।

अहिलेसम्म कमला नदीवारपार गर्न पूर्व–पश्चिम राजमार्गसम्म आउनुपर्ने बाध्यतामा स्थानीय थिए। पुल बनेपछि उक्त बाध्यता हट्ने बताइएको छ। यसबाट स्थानीयलाई अस्पताल जान, सदरमुकाममा आउजाउ गर्न सहज हुनुका साथै दैनिक रूपमा विद्यालय, कलेज धाउँदा खर्च हुने समय पनि बच्ने जनाइएको छ।

विभागका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा दातृ निकायसमेतको सहयोगमा अहिलेसम्म देशभरि १० हजार ४१० वटा झोलुंगे पुल बनेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा मात्र ७४० वटा झोलुंगे पुल बनेका थिए। चालु आर्थिक वर्षमा ६०० वटा पुल निर्माण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ।

२०७५ सालमा तत्कालीन सरकारले सार्वजनिक तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम ल्याएको थियो। उक्त कार्यक्रमबाट पहिचान भएका १४३ तुइनमध्ये अहिलेसम्म १४१ वटालाई झोलुंगे पुलले प्रतिस्थापन गरिसकेको विभागको भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०८० ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App