६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

घरभित्र खेल्दै थिए लरीबाट च्यापीएर मृत्यु भएका ३ बालबालिका

निर्माणाधीन सडकमा अत्याधिक भार भएको सवारी साधन लैजाँदा मोरङको बुढीगंगामा ३ जना बालबालिकाको ज्यान गएको छ।

सडक दुरावस्था हुँदाहुँदै जबरजस्ती गाडी लैजाने क्रममा पल्टिँदा घरभित्र खेल्दै गरेका ३ जना बालबालिकाको घटनास्थलमै ज्यान गएको हो।

शुक्रबार बिहान साढे ७ बजेतिर बुढीगंगा गाउँपालिका–४ प्रगति टोलमा मार्बल बनाउने कच्चा पदार्थ (ढुङ्गा)बोकेको लरी पल्टिएर स्थानीय ज्योति अधिकारीको घर किचेपछि घरको आँगनमा खेल्दै गरेका जुम्ल्याहा दाजु बहिनी ५ वर्षीय निशान र ईसीता अधिकारी तथा छिमेकी सञ्जु खवासकी ८ वर्षीया छोरी रिया खवासको घटनास्थलमै मृत्यु भयो। 

भारतीय आर जे २९ जिबी १५६१ नम्बरको लरीले बोकेको ढुङ्गाले किचेर जुम्ल्याहा बालबालिकाका बुवा ५० वर्षीय ज्योति अधिकारीको एउटा खुट्टामा गम्भीर चोट लागेको छ। उनको बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। मृतक बालबालिकाको पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।

बिहान उद्योगका लागि मार्बलको ढुङ्गा बोकेर जाँदै गरेको भारतीय नम्बरको लरी पल्टिएको बताउँदै, डिएसपी दाहालले भने, ‘लरी पल्टँदा ढुङ्गा एकातर्फ र लरी अर्कोतर्फ पल्टियो। लरी नहरतर्फमा खस्यो भने ढुङ्गा अधिकारीको घर खस्दा घटना भएको हो। अधिकारीको घरमै पसल रहेको हुँदा बालबालिका बाहिर थिए भने छिमेकीकी छोरी सामान किन्न आएको खुलेको छ। ठूलो साइज (भारी ढुङ्गा)ले उनीहरुलाई थिच्यो र घटना हुन गएको हो।’

सवारीसाधन भारी सामान बोक्ने लरी नै भएको बताउँदै, डिएसपी दाहालले भने, ‘घटनाको प्रकृति हेर्दा सडक नै हो। चालकले सडकको अवस्था हेरेर लैजानु पर्थ्यो। सडक निर्माणाधीन अवस्थामा निर्माण सामग्री थुपारेको ठाउँबाट त्यसरी माल बोकेको सवारी लैजान हुँदैन थियो। घटना लगत्तै चालक फरार भएको र उनीको खोजी कार्य भइरहेको छ । घटनाको थप अनुसन्धान थालेका छौँ।’

यो सडक बनाउने ठेकेदारको ठूलो लापरबाहीले गर्दा घटना भएको बताउँदै, स्थानीय नुर महमदले भने, ‘ठेकेदारसँगै इलाका प्रहरी कार्यालय निमुवाको पनि लापरबाही भएको देखिन्छ। यो व्यस्त सडक हो। यस क्षेत्रमा धेरै उद्योग, कलकारखानाका साथै मुख्य ठूलो राजमार्ग छुने सडक भएकाले दैनिक सयौँको संख्यामा सवारीसाधन कुद्छ। सडक बनाउनका लागि चाहिने ढुङ्गा गिट्टी झार्दै सम्याउनु पर्थ्यो। त्यसो नगरी थुपारेको थुपारै मात्रै गर्‍यो। हामीले कति पटक उनीहरुलाई सम्याउनका लागि भनेका थियौँ ठेकेदारले कुरै सुनेन।’

ठेकेदारले दैनिक काम नगर्दा समस्या सिर्जना भएको बताउँदै, नुरले भने, ‘ठेकेदार पक्षले नियमित काम गरिदिएको भए यस्तो दुर्घटना निम्तिने थिएन। प्रहरी प्रशासनकै यस्तो बाटोमा सवारी चलाउन दिनु उनीहरूको पनि गल्ती छ। प्रशासनले ठेकेदारलाई कडा कारबाही गर्नुपर्छ।’

प्रहरी र ठेकेदारले भित्र पस्ने मुखमै बासको ढाट लगाएर सडक बन्द गरिदिनु पर्थ्यो, एक स्थानीयले भने, ‘हिजो मात्रै पनि ठेकेदारलाई मुख्य सडकबाट भित्र पस्ने ठाउँ बन्द गरिदिन भनेका थियौँ। माल बोकेर ल्याउँदै गरेको लरीलाई घटना स्थलभन्दा केही पश्चिमतर्फ रोकेर राखेका थियौँ। बिहान एक्कासि कोही नभएको मौकामा उद्योगतर्फ जाँदा दुर्घटना भएको हो। यो घटनाको जिम्मेवारी उद्योगी र ठेकेदार दुवैले लिनुपर्छ र उनीहरुलाई कारबाही गर्नुपर्छ।’       

बुढीगंगाको निमुवा चोक हुँदै पूर्वतर्फ धेरै उद्योगहरु छन्। यही बाटो हुँदै उद्योगलाई चाहिने कच्चा पदार्थ बोकेको र उद्योगबाट उत्पादित वस्तु बोकेका लरी, ट्रकलगायत अन्य सवारीसाधन कुद्ने गर्छन्। यो सुनसरी सिँचाइ आयोजनाको नहरको डिलमा रहेको साँघुरो सडक हो। जहाँ २४ सै घण्टा सवारीसाधन कुद्ने गर्छन्। सडक कालो पत्रे गर्नका लागि ठाउँ ठाउँमा ढुङ्गा गिट्टी बिछ्याउनुका साथै थुपारिएको छ। यसरी थुपार्ने र बिछ्याउनेलाई राम्रोसँग नमिलाउँदा सडक भासिने र अग्लो भएकै कारण दुर्घटना भएको बताइएको छ।

अधिकारीको घर नहरको सडकसँगै जोडिएको छ। कोशी राजमार्गको नेमुवाबाट शुक्रबार बिहान कोयलपुरतर्फ लरी अप्ठ्यारो गरी आउँदै गर्दा अधिकारीको घर अगाडि आएपछि पल्टिएको हो। लरीको डालामा लोड गरिएको मार्बल ढुङ्गा अधिकारीको घरतर्फ पस्यो भने लर दुई भागमा विभाजन हुँदै नहरमा पस्यो। अधिकारीको घरतर्फ खसेको ढुङ्गाले ३ जना बालबालिका र अधिकारीलाई किच्यो। बालबालिकाको घटनास्थलमै मृत्यु भयो भने बुवा अधिकारीलाई करिब ५ घण्टाको प्रयासपछि उद्धार गरिएको थियो। ढुङ्गाले किचेर घरमा समेत क्षति पुगेको छ।

भारतबाट कोलयपुरस्थित अन्नपूर्ण मार्बल उद्योगका लागि कच्चा पदार्थ मार्बल (ढुङ्गा)का ब्लक लिएर लरी आएको थियो। 

प्रकाशित: ११ फाल्गुन २०८० १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App