२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन खण्डकाे चट्टान फोर्ने काम अन्तिममा, फागुन १२ देखि सञ्चालन गर्ने तयारी

नारायणगढ–मुग्लिन खण्ड स्थित तुइन खोलामा पुल निर्माणका लागि थालिएको चट्टान काट्ने काम अन्तिम चरणमा पुगेको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का अनुसार, अब चट्टान फोर्नका लागि ७ मिटर मात्र बाँकी छ। ६० मिटर हाराहारीको अग्लो ढिस्कोबाट ७ मिटरमा झारिएको आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिए। ढिस्कोको काट्न बाँकी चौडाइ १४ मिटर छ। चट्टान फोर्न पुस ७ गतेबाट दिउँसो सडक बन्द गरिएको थियो। सडक बन्द गर्ने अन्तिम म्याद फागुन १२ सम्म छ। यो अवधिमा काम नसकिए पनि सडक बन्द गर्नुपर्ने अवस्था नरहेको आचार्यले जानकारी बताए। यद्यपि यस विषयमा निर्णय भई नसकेको उनले बताए। 

‘चट्टान एकै किसिमको छैन। कुनै ठाउँमा कडा छ। अहिले हेर्दा दिउँसो सडक बन्द नहुने सम्भावना बढी छ,’ उनले भने ‘अहिले नै यही भन्न सक्दिन। निर्णय हुन बाँकी छ।’ ढिस्को होचो हुँदै गएकाले सडकबाट पनि काम गर्न मिल्ने उनले बताए।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २६ मिटर तल झारिएको थियो। बाँकी ढिस्को पुस महिनाबाट सडक आयोजनाले मध्यान्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर भत्काउन थालेको हो। भित्तो काट्नका लागि पुसदेखि अहिलेसम्म ३ पटक म्याद थप गरिएको छ। फागुन १२ गतेलाई अन्तिम पटक भनेर थप गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। अहिले दिउँसो सडक बन्द गर्नुपर्छ भन्ने छैन। अन्तिम पटक भनेर म्याद थप गरेका हौँ’, उनले भने ‘बाँकी निर्णय जिल्ला सुरक्षा व्यवस्थापन समितिले गर्छ।’ सडक बन्द नगरे पनि काम गर्न सक्ने अवस्था रहेको उनले बताए।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको आयोजनाले जानकारी दिएको छ। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो। तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए। यो पुलको निर्माण कार्य कात्तिक मसान्त भित्र सक्नुपर्नेछ।

यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। अहिलेसम्म ८ वटा पुल निर्माण भएर गाडी गुडिरहेका छन्। ६ वटा पुलमा गाडी गुड्ने चरणमा आइपुगेको दराईले जानकारी दिए। कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए। विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ।

प्रकाशित: १० फाल्गुन २०८० १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App