२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गोदावरीको सनराइज हललाई राहत

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।

कांग्रेसले चार दिनका लागि २२ लाख ७३ हजार २ सय १२ रूपैयाँमा उक्त हल लिएपछि सो सभाहललाई राहत मिलेको हो। कांग्रेसले दिनको ५ लाख ६८ हजार ३०३ रूपैयाँका दरले सभाहल भाडामा लिएको हो। व्यवस्थापनमा आर्थिक संकट बेहोरिरहेको सभाहल चार दिन भए पनि भाडामा लाग्दा आम्दानी भएको सञ्चालकको भनाइ छ।

२०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले उक्त भवनको शिलान्यास गरेका थिए। २०७८ वैशाख ३१ गते उद्घाटन पनि उनैले गरेका थिए। केसी–समानान्तर जेभीले सो भवन बनाएको थियो।

उक्त भवन बनाउन ८१ करोड रूपैयाँ खर्च भएको थियो। ३ हजारभन्दा बढी सिट क्षमता रहेको उक्त भवनमा २०७८ असोज १५ देखि १७ गतेसम्म नेकपा एमालेको विधान महाधिवेशन भएको थियो।

उक्त सभाहललाई व्यवस्थापन खर्च जुटाउन धौ–धौ परिरहेको छ। आइसिसीका कार्यकारी निर्देशक विद्रोह दाहालका अनुसार कांग्रेसले फागुन ७ देखि १० गतेसम्मका लागि सभाहल लिएको हो। ‘यसबाट सम्मेलन केन्द्रलाई केही फाइदा भएको छ,’ दाहालले भने।

उनका अनुसार सभाहल सञ्चालन र रेखदेख गर्न एक वर्षमा करिब ५० लाख रूपैयाँ खर्च हुन्छ। सभाहलको रेखदेख गर्न आइसिसीले ६ कर्मचारी खटाएको छ। ती कर्मचारीहरूलाई तलब आइसिसीले नै दिने गर्छ।

सहरी विकास मन्त्रालयले सभाहल सञ्चालनसम्बन्धी कार्यविधि नबनेसम्म सनराइज सभाहलको सञ्चालन तथा व्यवस्थापनको जिम्मा आइसिसीलाई दिएको हो। कार्यकारी निर्देशक दाहालका अनुसार चालु आर्थिक वर्षभित्र सभाहलबाट १ करोडदेखि डेढ करोड रूपैयाँसम्म संकलन हुने अनुमान गरिएको छ। उद्घाटन भएको वर्ष २०७८ सालमा सो सभाहल एक पटक मात्र भाडामा गएको थियो। त्यसपछि पनि यो सभा हल खासै प्रयोगमा आउने गरेको छैन। त्यसैले यसपटक कांग्रेस महासमिति बैठक राख्दा हललाई राहत पुगेको हो।

अपायक ठाउँ तथा पार्किङ अभावले सम्मेलन केन्द्र प्रयोगमा आउन नसकेको हो। सभाहल रहेको स्थानसम्म पुग्ने बाटो साँघुरो र अप्ठ्यारो भएकाले पनि त्यसको प्रयोगमा आयोजकहरूले त्यति चासो नदिने गरेको व्यवस्थापनको जिम्मेवारी लिएका एक कर्मचारीले बताए।

‘सम्मेलन केन्द्रसम्म पुग्न बाँडेगाउँ र ठैबमा बाटो अप्ठ्यारो र साँघुरो छ,’ ती कर्मचारीले भने, ‘कार्यक्रम गर्न सबैले आउने–जाने सुविधा खोज्ने नै भए। त्यसो नहुँदा सम्मेलन जति प्रयोगमा आउनुपर्थ्याे, आउन सकेको छैन,’ उनले भने, ‘ठाउँ पनि त्यति पायक छैन। त्यहाँ पार्किङ गर्न पनि उस्तै समस्या छ।’

उक्त भवनले ४३ रोपनी १५ आना क्षेत्रफल ओगटेको छ। भवनसँगै रहेको १ सय रोपनी सरकारी जग्गा सुकुम्बासीहरूले ओगटेका छन्। सुकुम्बासीले ओगटेको जग्गा सरकारले खाली गराउन सकेको छैन।

प्रकाशित: ८ फाल्गुन २०८० ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App